काठमाडौं- नेपाल उद्योग परिसंघले नेपालमा अन्तर्राष्ट्रिय मुद्रा कोषको हस्तक्षेप घट्नुपर्ने राय राखेको छ। परिसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रतिनिधिबीच आज भएको छलफलमा परिसंघका प्रतिनिधिले यस्तो धारणा राखेका हुन्।
ईसीएफको समीक्षका लागि नेपाल आएको कोषको प्रतिनिधि मण्डलसँग आज काठमाडौंमा भएको भेटमा परिसंघका अध्यक्ष राजेस अग्रवालले नेपालको आन्तरिक नीति निर्माणमा अनावश्यक दबाब नदिन आग्रह गरेका थिए।
पछिल्लो समय अन्तर्राष्ट्रिय मुद्रा कोषसँग भएको सम्झौता अनुसार नै राष्ट्र बैंकले नियमन गरिरहेको बुझाइ उद्योगी व्यवसायीहरूमा रहेको छ। सोही नियामकीय परिवर्तनले अर्थतन्त्र सिथिल हुँदै गएको उनीहरूले बताउँदै आएका छन्।
नेपालको अर्थतन्त्र फरिक विशेषसतासहित सञ्चालन भइरहेकाले विकसित मुलुकको अभ्यासलाई यहाँ जस्ताको तस्तै लागू गर्न नहुने अग्रवालले भनेका थिए।
नेपालको ब्याजदरले मूल्यवृद्धिलाई तलमाथि पार्नसक्ने सम्भावना विकसित मुलुकको जस्तो नभएको उनको भनाइ थियो। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा पनि मूल्यवृद्धिमा असर हुने, अन्य आयात बिलमा बढोत्तरी हुँदा मूल्यवृद्धि हुने भएकाले ब्याजदर बढेरमात्र नियन्त्रण हुने अवस्था नरहेको उनको भनाइ थियो।
अर्थतन्त्रमा वस्तुको माग सामान्य अवस्थामा हुँदा ब्याजले खासै असर नगर्ने तर उद्योग क्षमताको ३० प्रतिशतमा संचालन हुँदा धेरै असर गर्ने उनले सो अवसरमा बताएका थिए।
मुद्रास्फिती नियन्त्रण गर्न समग्र माग घटाउन ब्याज बढाउने नीति अबलम्बन गर्दाको असर अर्थतन्त्रमा अहिले परेको र कोभिड १९ पछि उचित सुपरिवेक्षणको अभावमा केही मात्रामा कर्जाको दुरुपयोग भएको देखिएको भएपनि कोभिडपछि नियामकीय निकायले विस्तारै लिनुपर्ने नीतिहरु छिटो समयमै परिवर्तन गर्दा समस्या उत्पन्न भएको उनले बताए।
अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकको नीति, निर्देशन बैंकहरुलाई संरक्षण गर्ने खालको मात्रै भएको बताएका थिए। राष्ट्र बैंक र कोषबीचको सम्झौतामा तरलता समस्या समाधानको लागि कर्जाको पुनर्संरचना गर्न दिने भनिएको तर राष्ट्र बैंकको पछिल्लो नीति यसको विपरित रहेको उनको भनाइमा मुद्रा कोषमा प्रतिनिधिहरुले समेत सहमती जनाएका थिए।
आईएमएफका ईसीएफ मिसन प्रमुख टिडियन किन्डा, नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजलगायतका टोलीले चालुपूँजी कर्जा मार्गदर्शन लागू गरेपछि उद्योगी व्यवसायीहरुलाई परेको असर, सुधारका लागि परिसंघको धारणालगायतका विषयमा छलफल गरेका थिए ।