शनिबार, साउन १२ गते २०८१    
images
images
images

१६ वर्ष शिक्षण पेसा गरेकी कल्पनाको व्यावसायिक ड्रागन खेती, पहिलो वर्षमै लाखौँ आम्दानी

images
मंगलबार, असोज १६ २०८०
images
images
१६ वर्ष शिक्षण पेसा गरेकी कल्पनाको व्यावसायिक ड्रागन खेती, पहिलो वर्षमै लाखौँ आम्दानी
फाइल तस्बिर

तनहुँमा कल्पना गौलीको ड्रागन फ्रुटको खेती फस्टाउँदो छ। उनले ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छिन्।

images

तनहुँ- तनहुँको व्यास नगरपालिका-५ ढोडेनीमा व्यावसायिकरूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ। स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरू गरेको ड्रागन खेतीबाट आठ लाख रूपैयाँ बराबरको ड्रागन बिक्री गरिसकेकी छिन्।

images
images

विसं २०७९ बैशाखदेखि व्यवसाय थालेकी गौलीले एक वर्षको अवधिमा आठौँ पटकसम्म फल टिप्दा उक्त परिमाणको ड्रागन बिक्री गरेको बताइन्। 'अझै पनि फार्मबाट करिब ६ लाख रूपैयाँ बराबरको ड्रागन बिक्री गर्ने अपेक्षा गरेको छु', उनले भनिन्।

images

अर्को हप्ता नवौँ पटक टिप्न योग्य हुने उनी बताउँछिन्। यसपटक करिब ६ क्विन्टल उत्पादन हुने उनको अपेक्षा छ। १२ देखि १४ पटकसम्म फल दिन सक्ने उनको आशा छ।

उनलाई बजारको कुनै समस्या छैन। उक्त फार्ममा उत्पादन भएका ड्रागन दमौली बजारमा खपत हुने गरेको उनले बताइन्। बैशाख महिनामा फूल खेल्न सुरू भएको ६० दिनभित्र खानयोग्य हुनेछ। 'कतिपय व्यवसायी फार्म आएर ड्रागन लैजानुहुन्छ', उनले भनिन्, ‘कुनै समयमा आफैले गाडीको प्रयोग गरी बजारसम्म लगेर बिक्री गर्ने गरेको छु।'

images

उत्पादित ड्रागन प्रतिकिलो पाँच सयदेखि ६ सय रूपैयाँसम्म बिक्री हुने गरेको उनले बताइन्। करिब नौ रोपनी क्षेत्रफल जग्गा २० वर्षका लागि भाडामा लिएर वार्षिक २० हजार रूपैयाँ भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताइन्।

उनले फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूल पनि लगाएकी छिन्। उनले गत वर्ष भारतको हैदरावादबाट दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएको थियो। फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चारवटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिए। एउटा पोलमा करिब १० हजार रूपैयाँका दरले खर्च भएको उनको भनाइ छ।

त्यसैगरी कृषक गौलीले यस वर्ष तीन लाख रूपैयाँ बढीको ड्रागनका बिरुवा बिक्री गरेकी छिन्। प्रतिबिरुवा दुई सयदेखि पाँच सय रूपैयाँसम्म बिरुवा बिक्री गरेको उनले बताइन्। ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिसहरु आउने गरेका छन्। उनको देखासिकीबाट जिल्लाका धेरै किसानले यसको खेती गर्न थालेका छन्। 

नेपालमा अर्गानिक ड्रागन खेती विधिमा विज्ञको सुझावको अभाव रहेको उनको गुनासो छ। चिसो मौसममा ढुसी रोगको प्रकोप बढ्ने भएकाले त्यसलाई रोकथाम गर्न अर्गानिक विषादीको प्रयोग गर्ने गरेको उनको भनाइ छ। निमपत्ता, असुरो, तीतेपाती, खिर्रो, बनमासा, सिमाली र गौमुत्रलगायतका मिसावटबाट विषादी बनाएर प्रयोग गर्ने गरेको उनले बताइन्।

सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएकी छिन्। व्यास नगरपालिका-३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छिन्। स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उनले बताइन्। रासस


प्रकाशित : मंगलबार, असोज १६ २०८००७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend