शनिबार, साउन १२ गते २०८१    
images
images
images

विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर

images
सोमबार, असोज १५ २०८०
images
images
विदेशको दुःखले गाउँमा उद्यमी बनेका बलबहादुर
images

बागलुङ-  गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ। दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ। 

images
images

बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आएका छन्। उनले एक दशक बढी विदेशमा पसिना बगाएर स्वदेश फर्किएका हुन । उनले भने, 'जीवनको ऊर्जाशील समय विदेशमा बित्यो ।  अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ।' बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा देखिने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ। साउदीमा साहुको भेडा चराउने काम गरेका उनी अहिले आफैँ मालिक भएका छन्।

images

अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनुपरेको दुःख सुनाउने केसी अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन्। स्वदेशै कामको खोजी गरेर पनि नपाएपछि विदेसिएका केसीले अहिले गाउँमा थुप्रै सम्भावना देखेका छन्।

उनले भने, 'पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रसस्त आयआर्जनको स्रोत यही छ।' चार वर्षदेखि बाख्रापालनमा लाग्नुभएका केसीले गाउँमा गर्ने कामले आत्मसम्मान मिल्ने बताए । विभिन्न परिस्थितिका कारण विदेश जानुपरेको जनाउँदै अब विदेश नजाने सोच बनाएको उनको भनाइ छ ।

images

'पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाईभैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ', उनले भने, 'विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रापालनमा सजिलो भएको छ, अरु युवा पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो, अहिले त गाउँ सुनसान बन्न थाल्यो।'

उनले गाउँमै आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रापालन गर्नुभएको छ। स्थानीय र बोयर जातका गरी हाल केसीको खोरमा ४५ व बाख्रा छन्। खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिब १५ लाख रुपैयाँ लगानी उनले गरेका छन्।  अहिले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको उनले बताए। एउटा बोकाको रु २० देखि ३० हजारसम्म बिक्री हुने उनको भनाइ छ ।

उनले ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर सञ्चालन गरेका छन्। खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या नभएको बताए। कुनै पनि कामलाई सम्मान गर्नसके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाइ छ।उनले बाख्रापालनसँगै मल प्रयोग गर्ने गरी तरकारी, गोलभेँडा खेती सुरु गरेका छन्। वडा कार्यालय र गाउँपालिका कार्यालयले ५०-५० हजार रुपैयाँ अनुदानसमेत दिएको जनाउँदै उक्त रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको केसीले बताए। अहिले बाख्राको सङ्ख्या बढाउनेतर्फ ध्यान केन्द्रित गरेको केसीको भनाइ छ । करिब दुई सय बाख्रा पाल्ने लक्ष्य रहेको उनले बताए।

उनले भने, 'विदेशमा यहाँको भन्दा धेरै दुःख गर्नुपर्छ, मलाई विदेशले परिश्रमको महत्व बुझायो, गाउँको माटो चिनायो, त्यहाँ जति कमाए पनि इज्जत हुँदैन, गाउँमा परिवारसँग बस्न पाइएको छ, सञ्चो बिसञ्चो हुँदा तातोपानी तताएर दिने, खाने दिने मान्छे साथमै हुन्छ, विदेशमा कसैले हेर्दैन, अहिलेका युवाले गाउँमै केही गर्नुपर्छ, यहाँ लगानी र परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढी कमाउन सकिन्छ, राज्यले पनि सोहीअनुसारको वातावरण तयार गरि दिनुपर्छ, बजारलाई व्यवस्थापन गर्न सके यहाँ धेरै सम्भावना देखेको छु।'


प्रकाशित : सोमबार, असोज १५ २०८००४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend