बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

चीन भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा : प्रधानमन्त्री

images
आइतबार, असोज १४ २०८०
images
images
चीन भ्रमणले दुई देशको सम्बन्ध थप उचाइमा : प्रधानमन्त्री

अतिकम विकसित राष्ट्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल-चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताएका छन्। उनले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धतासमेत सो अवसरमा व्यक्त भएको उल्लेख गरे।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले चीनका राष्ट्रपति सि चिनपिङले गरेको भ्रमणपछि नेपालबाट गरिएको पहिलो उच्चस्तरीय भ्रमणका रुपमा आफ्नो चीन भ्रमण भएको उल्लेख गरे।

images

'कोभिड-१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु', प्रधानमन्त्री दाहालले भने।

images
images
images

प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्मसंयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भइ सम्बोधन गरेका थिए। सो सम्बोधनपश्चात् सेप्टेम्बर २३ देखि ३० सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी उनी यही असोज १३ गते स्वदेश फर्किएका हुन्।

चीन भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग सारभूत पक्षमा भएको छलफलबाट नेपाल-चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको तथा विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे।

चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र छलफलका क्रममा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ सम्बन्ध केन्द्रित रहनुपर्नेमा आफूले राखेको धारणाप्रति उनीहरुले पूर्ण समर्थन रहने बताएको प्रधानमन्त्री दाहालले जानकारी दिए।

उच्चस्तरीय भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीनतर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युतको पहुँच पुर्‍याउन नसकिने स्थानमा सौर्य प्रणाली जडान गर्ने विषयमा सहमति भएको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराए।

यस्तै, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमा नाकाको पुनःसञ्चालन, सीमानाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका विषयमा छलफल केन्द्रित भएको उनको भनाइ छ।

यसैगरी नेपाल-चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नुका साथै विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने सम्बन्धमा समेत विस्तारपूर्वक छलफल भएको प्रधानमन्त्री दाहालले उल्लेख गरे।

'नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको र नेपाल-चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानूनमा आधारित रहेको पृष्ठभूमिमा भविष्यमा यो सम्बन्धलाई थप उचाइमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा छलफल भयो', प्रधानमन्त्री दाहालले भने।

चीन भ्रमणअघि आफूले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भइ उच्चस्तरीय सत्रमा नेपालकोतर्फबाट सम्बोधन गरेको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराए। सो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले गर्दा नेपाललगायत अल्पविकसित देशमा पारेका प्रभावलाई केन्द्रित गरेको जानकारी दिँदै प्रधानमन्त्रीले ती समस्याको निराकरणका उपायहरू, हिमाली राष्ट्रका समस्या, दिगो विकासका लक्ष्यको प्राप्तिमा अल्पविकसित राष्ट्रका समस्याका बारेमा उल्लेख गरेको बताए।

प्रधानमन्त्री दाहालले ती समस्या समाधानमा साधनस्रोतको व्यवस्थाका लागि विश्वसमुदायको गम्भीर ध्यानाकर्षण गराएको तथा अतिकम विकसित तथा भूपरिवेष्ठित राष्ट्रका समस्याप्रतिविश्वको ध्यानाकर्षण गराएको स्पष्ट पारे।

अतिकम विकसित राष्ट्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिएको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराए।

समकालीन विश्वका प्रमुख मुद्दाहरू, मानवअधिकार, आतंकवाद तथा निःशस्त्रीकरणबारे नेपालको दृष्टिकोण प्रस्तुत गरेको उनले उल्लेख गरे। प्रधानमन्त्री दाहालले समग्रमा दुवै भ्रमण सफल भएको आफूले ठानेको बताए। उनले चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको बताए।

'उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीका संवेदनशील विषयमा नेपालले पालना गर्दै आएको नीतिको पुनः पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ। पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको छ र अझ महत्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरूको सद्भावमा अभिवृद्धि भएको छ', प्रधानमन्त्री दाहालले भने।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावबारे नेपाललगायत अतिकम विकसित मुलुकका चुनौती र तिनको सम्बोधनका लागि विश्वसमुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको प्रधानमन्त्री दाहालले सदनलाई जानकारी गराए। रासस 


प्रकाशित : आइतबार, असोज १४ २०८०१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend