काठमाडौं- सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने भएको छ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दलसँग भएको छलफलपछि सरकारले आयोग बनाउने निर्णय गरेको हो।
सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायतका दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएका थिए।
गत साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६१ किलो ७ सय १६ ग्राम सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
यस प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको थियो। सीआईबीको रायअनुसार सुन तस्करी प्रकरणमा सरकारी वकिल कार्यालयले २९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।