आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

अधिक तरलताका कारण घट्न थाल्यो ट्रेजरी बिलको ब्याजदर, थप १८ अर्ब ५ करोडको नवीकरण हुने

आइतबार, असोज १४ २०८०
अधिक तरलताका कारण घट्न थाल्यो ट्रेजरी बिलको ब्याजदर, थप १८ अर्ब ५ करोडको नवीकरण हुने

बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग भने बढ्न सकेको छैन।  बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप खोसाखोस गरिरहेका छन्। कर्जाको ब्याजदर घट्नुको सट्टा बढिरहेको छ। जसले कर्जाको परिचालन घटेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले १८ अर्ब ५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। जसमा २८ दिने ५ अर्ब रूपैयाँ, ९१ दिने ७ अर्ब ७५ करोड र १८२ दिने ५ अर्ब ३० करोड रूपैयाँका ट्रेजरी बिल रहेका छन्। उक्त ट्रेजरी बिल असोज १६ गते नवीकरण हुने राष्ट्र बैंकले जनाएको छ। 

असोज ८ गते भएको बोलकबोल अनुसार ट्रेजरी बिलको भारित औसत ब्याजदर घटेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले ट्रेजरी बिलको ब्याजदर घटेको हो। उक्त बोल कबोलअनुसार ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.४४११ प्रतिशत, १८२ दिने ट्रेजरी बिलको ५.३५२३ प्रतिशत र ३६४ दिने ट्रेजरी बिलको ५.३९४३ प्रतिशत कायम भएको छ।

असोज १ गते भएको एक्सनमा ९१ दिने ट्रेजरी बिलको ब्याजदर ५.४६९४ प्रतिशत, १८२ दिने ट्रेजरी बिलको ब्याजदर ६.०४३२ प्रतिशत र ३६४ दिने ट्रेजरी बिलको ब्याजदर ६.२२१८ प्रतिशत कायम भएको थियो।

बैंकहरुको औसत कर्जा निक्षेप अनुपात अहिले ८२.३७ प्रतिशत कायम भएको छ। अर्थात बैंकिङ प्रणालीमा करिब ४ खर्ब ४० अर्ब रूपैयाँ लगानीयोग्य रकम रहेको छ।

बैंकिङ प्रणालीमा रहेको अधिक तरलताकै कारण अन्तर बैंक ब्याजदर निरन्तररुपमा घटिरहेको छ। अहिले अन्तर बैंक ब्याजदर २.५७ प्रतिशत कायम भएको छ।

अधिक तरलताका कारण अन्तर बैंक ब्याजदर घटे पनि राष्ट्र बैंकले तरलता प्रशोचन (मपअप) गर्न रिभर्स रिपो जारी गरेको छैन। बरु राष्ट्र बैंकले तरलता सहज भएको समयमा ट्रेजरी बिल नवीकरण गर्दै सरकारको ब्याज दायित्व बढाइरहेको छ।

यस्तै यही समयमा आन्तरिक ऋण उठाइरहेको छ। ब्याजदर सस्तो भएकोमा विकास ऋणपत्र तथा १ वर्ष अवधिको ट्रेजरी बिल राष्ट्र बैंकले जारी गरिरहेको छ।

राष्ट्र बैंकले मंगलबार आन्तरिक ऋणको कार्यतालिका संशोधन गर्दै पहिलो त्रैमासमा थप २५ अर्ब रूपैयाँ बढी आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। यसअघिको कार्यतालिकामार्फत ५५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा अब ८० अर्ब उठाउने भएको छ।

तालिका संशोधन गर्नुभन्दा अगाडि करिब ६४ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाइसकेको थियो। राष्ट्र बैंकले शुक्रबार थप १३ अर्ब १० करोड रूपैयाँ बराबरको ८ वर्षे विकास ऋणपत्र उठाउनका लागि बोलपत्र आह्वान गरेको छ।

हाल विकास ऋणपत्र राष्ट्र बैंकले करिब ७ प्रतिशत ब्याजदरमा उठाइरहेको छ। पहिलो कार्य तालिकाअनुसार दोस्रो त्रैमासमा पनि ५५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोमा संशोधित कार्यतालिकामार्फत घटाइएको छ। अब दोस्रो त्रैमासमा राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ मात्रै आन्तरिक ऋण उठाउने छ।

बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जाको माग भने बढ्न सकेको छैन।  बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप खोसाखोस गरिरहेका छन्। कर्जाको ब्याजदर घट्नुको सट्टा बढिरहेको छ। जसले कर्जाको परिचालन घटेको छ।

कर्जाको परिचालन नहुँदा अर्थतन्त्र मन्दीमा छ। व्यापारमा आधारित अर्थतन्त्र थप संकुचित भइरहेको छ। आयात घट्नेक्रममा छ। आयातमा आएको गिरावटले सरकारको राजस्व पनि लक्ष्यभन्दा कम असुली भइरहेको छ।


प्रकाशित : आइतबार, असोज १४ २०८००६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend