शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

आयआर्जनतर्फ तनहुँका महिला

images
शनिबार, असोज १३ २०८०
images
images
आयआर्जनतर्फ तनहुँका महिला

सर्फ उद्योगबाट महिलाहरुले राम्रो आम्दानी गरिरहेका छन्।

images
images

दमौली- तनहुँको भिमाद नगरपालिका-६ का महिलाहरु आयआर्जनतर्फ अग्रसर भएका छन्। मातृ शिशु कल्याण आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएसँगै समूहमा आबद्ध महिलाहरु आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन्।

images
images
images

महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले बताइन्। उनले भनिन्, 'घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई समेटेर उद्योग सञ्चालनमा ल्याएका हौँ। यसबाट उहाँहरुले आर्थिक आम्दानी गर्न सक्नुहुनेछ।'

भिमाद नगरपालिकाको ‘उपप्रमुख समृद्धि कोष’को सहयोगमा उद्योग सञ्चालनका लागि सहयोग पुगेको उनको भनाइ थियो। कोषमार्फत उद्योगका लागि चार लाख रूपैयाँ सहयोग भएको छ भने लागत साझेदारीमा तीन लाख ८५ हजार रूपैयाँ बेहोरिएको सचिव सुवेदीले जानकारी दिइन्। उनका अनुसार थप रकम समूहमा आबद्ध ३६ जना सदस्यबाट जनही २३ हजार रूपैयाँका दरले संकलन गरिएको छ।

images

उक्त रकमबाट मिस्टर मेसिन, क्रेज मिल, ग्रेन्डर क्रेज, वेन्ड सिलर, प्याकेजिङ मेसिनलगायत उद्योगका लागि आवश्यक सामग्री खरिद गरिएको सचिव सुवेदीले जानकारी दिइन्। उनका अनुसार उद्योगबाट सर्फ उत्पादन सुरु भइसकेको छ।

images

सुवेदीका अनुसार सुरुवाती चरणमा एक किलो सर्फलाई तीन सय ५०, पाँच सय ग्रामलाई एक सय ७० र सात सय ग्रामलाई दुई सय ७० रूपैयाँमा बिक्री सुरु गरिएको छ। 'घरमा यत्तिकै बस्नुभन्दा केही उद्यम गरौँ भन्ने भावनासहित आमा समूहमा सल्लाह गरेपछि उद्योग सञ्चालनको प्रस्ताव आएको थियो', उनले भनिन्, 'त्यसमा नगरपालिकाले सहयोग गरेपछि सहज भएको छ।'

विसं २०५३ मा स्थापित आमा समूहले मठमन्दिर जाने बाटो, सेती नदी किनारमा कोटीहोमस्थलमा प्रतीक्षालय, देउराली बागटार दुर्गा मन्दिर निर्माणमा सहयोग गरेको छ।

नगरपालिकाका हरेक नगरवासीलाई उद्यमसँग जोड्ने उद्देश्यसहित उपप्रमुख समृद्धि कोष अभियान सञ्चालन गरिएको उपप्रमुख शारदा खनालले बताइन्। उनले भनिन्, 'हरेक महिलाहरु आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेर केही गर्न चाहने महिलाका लागि यो अभियान सुरु गरेका हौँ। उद्यमी बन्न कोषबाट सहयोग गर्छौँ।'

महिलाले स्थापना गरेको उद्योगले महिलालाई उद्यमशील बन्न सहयोग पुग्नाका साथै स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए। उनले भने, 'भिमाद नगरपालिकाको समृद्धिका लागि महिलाहरु उद्यमशील हुनुपर्छ। उद्यमी बन्नेलाई अनुदान सहयोग गर्छौँ।' रासस


प्रकाशित : शनिबार, असोज १३ २०८००८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend