सोमबार, असोज ७ गते २०८१    
images
images

जिराको मूल्यमा कालोबजारी

भन्सार पास हुँदा ५८५ रुपैयाँ परेको जिरा बजारमा आइपुग्दा १३०० रुपैयाँसम्म

images
शुक्रबार, असोज १२ २०८०
images
images
जिराको मूल्यमा कालोबजारी

पछिल्लो दुई महिनाको औसत मूल्य हेर्दा भन्सारमा ५ सय ८५ रुपैयाँमै आएको जिरा बजारमा भने १३ सय रुपैयाँसम्म बिक्री भइरहेको छ तर उपभोक्ता मूल्य भने त्यसको दोबरसम्म पुगेको छ। केही लागत र नाफा जोड्दैमा दोबरसम्म मूल्य पुग्नु स्वभाविक मूल्यवृद्धि होइन। 

images
images

काठमाडौं- पछिल्लो समय मसलाजन्य वस्तुको मूल्य आकाशिएको छ। कतिपय मसलाको मूल्यवृद्धि स्वभाविक देखिँदैन। पछिल्लो समय मूल्य आकाशिएकोमध्ये एक जिराको मूल्यवृद्धि स्वभाविक देखिँदैन। 

images
images
images

जिरामा कालोबजारी भइरहेको भन्सार विभागको तथ्यांकबाट देखिन्छ। तथ्यांक हेर्दा अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको आडमा नेपाली व्यवसायीले अधिक नाफा लिएर बिक्री गरिरहेको देखिन्छ।

पहिलो कुरा त जिराको मूल्यवृद्धि भएको छ तर त्यसको अर्थ उपभोक्ता मूल्य जसरी बढेको छ त्यसरी भने होइन। भन्सारमा घोषणा हुने मूल्य हेर्दा पछिल्लो समय प्रतिकिलो ५ सय ८५ रुपैयाँ परेको छ। करसहित जोड्दा जिरा प्रतिकिल्लो ५ सय ८५ रुपैयाँ मूल्यमा नेपाल आएको देखिन्छ। तर बजारमा भने होलसेलमै ११ सय ५० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ। खुद्रा बजारमा भने १२ सय ५० देखि १३ सय रुपैयाँसम्म लिने गरेका छन्।  

पछिल्लो दुई महिनाको औसत मूल्य हेर्दा भन्सारमा ५ सय ८५ रुपैयाँमै आएको जिरा बजारमा भने १३ सय रुपैयाँसम्म बिक्री भइरहेको छ। तर उपभोक्ता मूल्य भने त्यसको दोबरसम्म पुगेको छ। केही लागत र नाफा जोड्दैमा दोबरसम्म मूल्य पुग्नु स्वभाविक मूल्यवृद्धि होइन। 

images

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको दुई महिनामा भारत तथा विभिन्न देशबाट ९ लाख ७९ हजार ७ सय ३५ केजी गेडा तथा पिसेको जिरा नेपाल आएको छ। २ महिनामा ४८ करोड ५६ लाख ५० हजार रुपैयाँ बराबरको जिरा आयात भएको छ।

दुई महिनामै जिरा आयातबाट सरकारले ८ करोड ९२ लाल १६ हजार रुपैयाँ राजस्वसमेत संकलन गरेको छ। आयातित जिरामा ९९ प्रतिशत गेडा जिरा रहेको छ भने १ प्रतिशतको हाराहारी पिसेको जिरा रहेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई महिना गेडा जिराको भन्सार मूल्य र राजस्व मूल्य समेत जोड्दा प्रतिकिलो भन्सारबाट पास हुँदा ५ सय ८५ रुपैयाँ रहेको छ भने पिसेको चिराको प्रतिकिलो ८ सय ४६ रुपैयाँ प्रतिकिलो परेको छ।

भन्सारकै तथ्यांकअनुसार साउनमा भन्दा भदौमा जिराको मूल्य केही बढेको छ। चालु आवको साउनमा २९ करोड २८ लाख २८ हजार रुपैयाँ बराबरको गेडा जिरा ६ लाख ४ हजार १ सय ९० केजी आयात भएको थियो। जिरा आयातबाट सरकारले भने साउनमा ५ करोड ४२ लाख ७८ हजार राजस्व संकलन गरेको छ।

सोही आधारमा भन्सार मूल्य र राजस्व रकमसमेत जोड्दा गेडा जिरा प्रतिकिलो सरदर ५ सय ७२ रुपैयाँ रहेको छ। पिसेको जिराको मूल्य भने सरदर ६ सय ६६ रुपैयाँ रहेको छ तर व्यापारीले साउनमै जिराको मूल्य होलसेलमा न्यूनतम ११ सय ५० र खुद्रामा पनि न्यूनतम १२ सय ५० रुपैयाँ लिइरहेका छन्।

यसैगरी चालु आवको भदौमा गेडा तथा पिसेको जिराको गरी कुल ३ लाख ७५ हजार ५ सय ४५ केजी आयात भएको छ। जिरा आयातको भन्सार मूल्य १९ करोड ३८ लाख २२ हजार रुपैयाँ रहेको छ। यसैगरी जिरा आयातबाट सरकारले ३ करोड ४९ लाख ३८ हजार राजस्व संकलन गरेको छ। भन्सारकै तथ्यांकको आधारमा भदौमा गेडा जिरा ३ लाख ७१ हजार ८ सय ८७ केजी  आयात भएको छ। 

आयात भएको जिराको भन्सार तथा राजस्वसमेत जोड्दा गेडा जिराको मूल्य प्रतिकिलो सरदरमा साउनको तुलनामा ३४ रुपैयाँले बढेर ६ सय ६ रुपैयाँमा भन्सार पास भएको छ तर व्यापारीले अहिले होलसेलमा १२ सय र खुद्रामा १३ सय रुपैयाँ प्रतिकिलो लिने गरेका छन्। यसैगरी भदौमा पिसेको जिरा ३ हजार ६ सय ६८ केजी आयात भएको छ। यसको भन्सार तथा राजस्व रकम जोड्दा सरदरमा प्रतिकिलो ८ सय ७७ रुपैयाँ रहेको छ। साउनमा पिसेको जिराको सरदर मूल्य ६ सय ६६ रुपैयाँ थियो।

गत वर्षको तुलनामा जिराको मूल्य दोबरले बढेको भन्सारको तथ्यांकबाट देखिन्छ। गत आवको २ महिनामा १९ लाख २० हजार ७ सय ८१ केजी आयात भएको थियो। २ महिनामा ५१ करोड ३६ लाख ४७ हजार रुपैयाँ बराबरको जिरा आयात भएको थियो। जिरा आयातबाट सरकारलाई ९ करोड ५० लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। 

गत वर्षको साउनमा गेडा जिरा सरदरमा भन्सार र राजस्व रकम जोड्दा प्रतिकिलो ३ सय ५ रुपैयाँ थियो भने पिसेको जिराको मूल्य सरदरमा प्रतिकिलो ४ सय ११ रुपैयाँ थियो। गत वर्षको भदौमा गेडा जिरा नेपाल प्रवेश गर्दा प्रतिकिलो सरदरमा ३ सय २६ रुपैयाँ थियो। पिसेको जिरा प्रतिकिलो ३ सय ९० रुपैयाँ थियो। 

किन बढिरहेको छ जिराको मूल्य?

विगत ४-५ वर्षदेखि जिराको मूल्य प्रतिकिलो ५ सय रूपैयाँभन्दा माथि पुगेको थिएन तर यसपटक गएको दसैँतिहारपछिदेखि विस्तारै जिराको मूल्य बढ्न थालेको हो। खुद्रा बजारमा त जिरा प्रतिकिलो १२ सय रूपैयाँसम्म पुगेको नेपाल चेम्बर अफ कमर्सका आपूर्ति सभापति देवेन्द्र भट्ट श्रेष्ठ बताउँछन्। जिराको मूल्य बढेसँगै माग पनि केही घटेको छ।

विगतका वर्षहरूमा भन्दा चालु आवमा जिरा आयात कम भएको छ। जिराको आयात कम हुनुको कारणमा मूल्य बढेसँगै माग घट्नु पनि हो। पहिले जिराको बढीजसो व्यापार दसैँ तथा तिहार आसपासमा नै हुने गर्दथ्यो। अहिले जिराको माग सधैँजसो उस्तै नै छ। जिराको माग कोरानाको समयपछि झन बढेको छ।

त्यसमा विशेषगरी जिरा पानी खाने प्रचलन बढेको मानिएको छ तर अहिले भने मूल्य बढ्दा केही माग घटेको छ। अहिले जिरा हालेर बनाइने परिकारको मागसमेत बढेको छ। तरकारी पकाउँदा जिराको धुलो तथा गेडा दुवैथरी प्रयोग हुने गरेको पाइन्छ। पहिले जिरा कम र अन्य मसला बढी प्रयोग हुने गरेपनि अहिले जिराकै प्रयोग घरघरमा बढेको छ।

नेपालमा खपत हुने जिरामध्ये केहीमात्र नेपालमा उत्पादन हुन्छ। जिराको उत्पादन पनि नेपालमा जीवननिर्वाहमुखी नै रहेको देखिन्छ। व्यावसायिक रुपमा जिरा खेती भएको छैन। सहरी क्षेत्रमा हुने मागको ९० प्रतिशतभन्दा बढी जिरा विदेशबाट नै आयात हुन्छ। त्यसमा पनि धेरैजसो भारतबाट नै आयात भइरहेको छ। 

पछिल्लो एकवर्षदेखि भारतमा नै जिराको उत्पादनमा कमी आएको छ। भारतले सार्क राष्ट्रबाहेकका देशमा जिरा निर्यातमा लगाएको प्रतिबन्ध पनि अहिले खुला गरिसकेको छ। जसका कारण पनि बजारमा जिराको अभावको स्थिति छ। बढ्दो मागअनुसार उत्पादन नहुँदा भारतमै जिराको मूल्य बढेको श्रेष्ठ बताउँछन्।

पछिल्लो समय चीनमा भारतीय जिराको अस्भाविक माग बढेको र सोहीअनुसार जिरा निर्यात भएको छ। जसका कारण भारतमै जिराको मूल्य बढदा नेपालमा समेत त्यसको असर परेको छ। यसैगरी भन्सार विभागको निर्देशनमा जिराको बजार मूल्यअनुसार भन्सार मूल्यांकन हुँदासमेत जिराको मूल्य थप बढेको व्यवसायीहरू बताउँछन्।


प्रकाशित : शुक्रबार, असोज १२ २०८००९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend