सोमबार, असोज ७ गते २०८१    
images
images

बागलुङेको भान्सामा म्याग्दीको लेकाली निउरो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १२ २०८०
images
images
बागलुङेको भान्सामा म्याग्दीको लेकाली निउरो

अन्नपूर्ण गाउँपालिका-१ दोवाका मायाकुमारी पुनले जङ्गलमा पाइने निउरो संकलन गरेर जीविकोपार्जन गर्दै आएको बताइन्।

images
images

बागलुङ- निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ। बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ। लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ।

images
images
images

बागलुङ बजारका तरकारी व्यापारी शङ्कर रेग्मीले लेकाली निउरोको व्यापार तीन वर्षदेखि गर्न थालेको बताए। सिजनमा उनले लाखौँको निउरोको कारोबार गर्दै आएका छन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवाको जङ्गलमा पाइने निउरो म्याग्दी सदरमुकाम बेनीबजार पुगेर निउरो संकलनकर्ताबाट खरिद गरी बागलुङ ल्याउने गरेको उनले बताए। उनका अनुसार जिल्लाका जङ्गलमा निउरो उत्पादन खासै नभएकाले यहाँ निउरोको माग उच्च हुने गर्दछ। जिल्लामा दोवको निउरोको उच्च माग भएकाले निउरोको व्यापार गर्न थालेको रेग्मीको भनाइ थियो।
 
निउरोको सिजन भएकाले अहिले अन्य तरकारीभन्दा व्यापार बढी हुने गरेको उनले बताए। 'अघिल्लो दिनमा दोवाको जङ्गलमा निउरो संकलन हुन्छ, त्यही मुठा पारिन्छ, भोलिपल्ट बिहानमात्रै बेनीबजार आउँछ, बेनीबाट सोझै बागलुङ ल्याउने व्यवस्था म आफैँ गर्दछु', रेग्मीले भने, 'यो सिजनको व्यापार हो, साविक धवलागिरिका अन्य जिल्लामा भन्दा बागलुङमा नै बढी निउरो खपत हुने गरेको छ। अहिले चितवनलगायतका जिल्लाबाट समेत बागलुङमा निउरो आयात भइरहेको छ। तर लेकाली निउरो निकै स्वादिष्ट भएकाले दोवाको निउरोको माग उच्च छ।'

रेग्मीले होलसेल मूल्यमा बागलुङ बजारका एक दर्जन तरकारी व्यापारीलाई दोवाको निउरो बिक्री गर्दै आएका छन्। अहिले दोवाको निउरो होलसेल प्रतिमुठा ६५ र खुद्रा प्रतिमुठा ८० रुपैयाँमा बिक्री हुँदै आएको उनले बताए। दोवाको निउरो बिहानै तरकारी पसलमा खरिद गर्न नगए नपाइने अवस्था सिर्जना भएको रेग्मीको भनाइ थियो।
 
तीन वर्षयता निउरो खरिद गरेर त्यहाँका संकलकलाई आठ लाख रकम भुक्तानी गरिसकेको उनले जानकारी दिए। अन्नपूर्ण गाउँपालिका-१ दोवा गाउँका स्थानीय मायाकुमारी पुन र शर्मिला पुर्जासहित स्थानीय महिलाद्वारा संकलित निउरोको बजारीकरण गर्दै आएका छन्।

images

अन्नपूर्ण गाउँपालिका-१ दोवाका मायाकुमारी पुनले जङ्गलमा पाइने निउरो संकलन गरेर जीविकोपार्जन गर्दै आएको बताइन्। 'म्याग्दीका धेरै स्थानमा निउरो पाइने भएकाले बेनीबजारमा निउरोको माग छैन। अहिले बागलुङ बजारमा माग उच्च छ', उनले भनिन्, 'सिजनको व्यापार हो, निउरो संकलन गर्न जङ्गलमा जानु कष्टकर नै छ, तर यहाँका महिलालाई परिवार पाल्न सहज भएको छ, निउरोको व्यापारले आयआर्जनमा सघाएको छ।'

दोवाको निउरो अन्य स्थानको भन्दा स्वादिष्ट भएकाले बागलुङमा माग बढी भएको भन्दै पुनले म्याग्दीमा बिक्री नगरी बागलुङ पठाउने गरेको बताइन्। अन्नपूर्ण-१ का निउरो संकलनकर्ता शर्मिला पुर्जाले दोवाको निउरोको माग धान्न गाह्रो भएको बताइन्।

'म्याग्दीमा निउरोको माग कम छ, बागलुङमा राम्रो मूल्य पाइन्छ, होलसेलमै प्रतिमुठा ६० सम्ममा बिक्री हुन्छ', उनले भनिन्, 'दिनभरि जङ्गलमा टिपेको निउरो मुठा पारेर भोलिपल्ट मात्रै बेनीबजार पठाउने र बेनीबाट सोझै बागलुङ बजार पठाउँदै आएका छौँ। निउरो टिप्न जङ्गल प्रयोग गरेवापत केही राजस्व वन उपभोक्ता समितिलाई तिर्नेछौँ।' एउटा मुठामा १० देखि १५ नाफामा उपभोक्तालाई बिक्री गरिरहेको पुर्जाको भनाइ थियो। रासस


प्रकाशित : शुक्रबार, असोज १२ २०८००८:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend