सोमबार, असोज ७ गते २०८१    
images
images

महँगो शुल्क र झन्झटिलो प्रक्रियाले सिकारमा देखिएन नेपालीको रुचि

images
मंगलबार, असोज ९ २०८०
images
images
महँगो शुल्क र झन्झटिलो प्रक्रियाले सिकारमा देखिएन नेपालीको रुचि

नाउर र झारल सिकारका लागि विदेशी सिकारी लाखौँ रूपैयाँ खर्चेर ढोरपाटन पुग्ने गर्छन्। चालु आवको पहिलो सिकार याममा एउटा नाउरको न्यूनतम पाँच लाखदेखि बढीमा १३ लाख रूपैयाँसम्म राजस्व बुझाएको आरक्ष कार्यालयले जनाएको छ।

images
images

गण्डकी- ढोरपाटन विश्वप्रख्यात सिकार गन्तव्य भए पनि नेपालीका लागि भने त्यहाँको सिकार अनुभव लिनु धेरै टाढाको विषय बनेको छ। नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा आवेदन नै नपर्नुले नेपालीका लागि ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न सहज छैन भन्ने देखाउँछ।

images
images
images

लाखौँ रूपैयाँ राजस्व तिरेर गरिने नाउर र झारलको सिकार त नेपालीका लागि झनै पहुँचबाहिर छ। गत आवको पहिलो सिकार याम (असोज-मङ्सिर)मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारमा नेपालीलाई आकर्षित गर्न पहिलोपटक ११ बँदेलको सिकार कोटा तोकेको थियो।

उक्त याममा तीन नेपालीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि पछि सिकार खेल्न भने गएनन्। आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले गत आवको दोस्रो सिकार याम (फागुन-बैशाख)मा पनि बँदेलको सिकार हुन नसकेको बताए। चालु आवको पहिलो सिकार याममा पनि बँदेलका लागि नेपाली सिकारीबाट आवेदन नपरेको उनको भनाइ छ।

नाउर र झारल सिकारका लागि भने यही असोज १८ गतेदेखि विदेशी पेसेवर सिकारी आरक्ष क्षेत्र पुग्दैछन्। 'महँगो शुल्क र झन्झटिलो प्रक्रियाका कारण बँदेल सिकारमा नेपालीको रुचि देखिएन', प्रमुख संरक्षण अधिकृत कँडेलले भने, 'नेपालीलाई सिकार खेल्न हतियारको पनि समस्या छ।'

images

विदेशीलाई सिकार खेलाउँदै आएको सिकार कम्पनी ट्र्याक एन्ड ट्रेल्र्सका प्रतिनिधि दीपक थापाले लामो दुरीमा प्रहार गर्न सक्ने हतियार नेपालीसँग नरहेको बताए। 'बँदेललाई पछ्याउन गाह्रो हुन्छ, टेलिस्कोपसहितको हतियार चाहिन्छ', उनले भने, 'नेपालीका लागि शुल्क पनि महँगो भयो, बँदेल सिकार प्रभावकारी हुन सकेन।'

विभागले बँदेलका लागि सिकार आवेदनमा पाँच हजार, सिकार अनुज्ञापत्र लिँदा १० हजार र एक हप्ताका लागि सिकार ब्लक रिजर्भ गर्दा १५ हजार रूपैयाँ शुल्क तोकेको थापाले बताए। 'राजस्वबाहेक यातायात, खाना र बासको व्यवस्था गर्नुपर्छ, एउटा बँदेलको सिकार खेल्दा झन्डै एक लाख रूपैयाँ खर्च हुन्छ', उनले भने, 'सौखिन र खर्च गर्न सक्ने नेपालीलाई पनि बँदेल सिकार त्यति सहज छैन, बँदेल प्रायः साँझ र रातिमा सक्रिय हुने हुँदा ट्र्याक गर्नै गाह्रो हुन्छ, नेपालीसँग आधुनिक हतियार पनि छैन।'

नाउर र झारल सिकार गर्ने विदेशी सिकारीले प्याकेजमा बँदेल पनि सिकार गर्न पाइने भए पनि खासै रुचि नदेखाउने गरेको उनले बताए। 'विदेशीहरु नाउर र झारलको सिकारका लागि महँगो शुल्क तिरेर आएका हुन्छन्, उनीहरु त्यसमै रमाउँछन्', उनले भने, 'नेपालीलाई बँदेल सिकारमा आकर्षित गर्ने हो भने शुल्क घटाउनुपर्छ र प्रक्रिया पनि सहज बनाउनुपर्छ।'

सुरुमा केही नेपाली सिकारीले सिकार खेल्न चाहेको भए पनि पछि सम्पर्कमा नआएको उनले उल्लेख गरे। सिकार कम्पनीहरुले विभागसमक्ष बँदेलका लागि तोकिएको शुल्क कम गर्नुपर्ने माग गर्दै आएका छन्। नाउर र झारलको महँगो सिकार नेपालीको पहुँचमा नरहेकाले बँदेल सिकारमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले विभागले बँदेलको सिकार खुला गरेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।

बँदेलको व्यवस्थित सिकार हुन सके स्थानीय बासिन्दा र आरक्षबीचको सम्बन्धमा पनि सहजता थपिने विश्वास लिइएको उनको भनाइ छ। 'बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउने ठानिएको छ', उनले भने, 'वैधानिक रुपमा सिकार गराउँदा राज्यले राजस्व पनि आर्जन गर्छ।'

नाउर र झारल सिकारबाट विभागले बर्सेनि कराडौँ रूपैयाँ राजस्व उठाउँदै आएको छ। आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि नपुगेको स्थितिमा विभागले गत वर्ष पहिलोपटक नेपालीलाई लक्ष्य गरि बँदेलको सिकार खुला गरेको थियो। विदेशी पेसेवर सिकारीले मात्र आरक्षमा सिकार खेल्दै आएका छन्। बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका सिकार कम्पनीले बर्सेनि दुई याममा सिकार खेलाउने गर्छन्।

नाउर र झारल सिकारका लागि विदेशी सिकारी लाखौँ रूपैयाँ खर्चेर ढोरपाटन पुग्ने गर्छन्। चालु आवको पहिलो सिकार याममा एउटा नाउरको न्यूनतम पाँच लाखदेखि बढीमा १३ लाख रूपैयाँसम्म राजस्व बुझाएको आरक्ष कार्यालयले जनाएको छ। झारल सिकारमा भने बढीमा पाँच लाख रूपैयाँसम्म राजस्व तिर्न कम्पनी तयार भएका थिए।

यो याममा विभागले नौ नाउर र सात झारलको सिकार अनुमति दिएको छ। हतियार र बन्दोबस्तीसहित सिकारमा जाने तयारीमा कम्पनी छन्। ट्र्याक एण्ड ट्रेल्र्सका प्रतिनिधि थापाले आफूहरु कात्तिक पहिलो हप्ता आरक्ष क्षेत्रमा पुग्ने बताए। उनको कम्पनीमार्फत जमर्न र बेलारुसका सिकारी ढोरपाटन पुग्दैछन्।

उनीहरुले तोकिएको सिकार ब्लकमा दुई नाउर र दुई झारलको सिकार खेल्ने कम्पनीले जनाएको छ। सिकारीसहित कम्पनीका प्रतिनिधि, आरक्षका कर्मचारी, पथप्रर्दशक, भरिया लगायतका टोली सिकार ब्लकमा पुग्ने गरेका छन्। आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन्।

आरक्षमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एन्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन्।

विदेशीहरु ‘हन्टिङ ट्रफी’का लागि नाउर र झारलको सिकार खेल्न आउने गरेको ट्र्याक एन्ड ट्रेल्र्सका प्रतिनिधि थापाले बताए। आरक्षमा रतुवा मृग, चरालगायत अरू वन्यजन्तु र पक्षीको समेत सिकार गर्न पाइने भए पनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ। सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ। उनीहरु हेलिकप्टर चार्टर गरेर सिकार आरक्ष पुग्छन्। आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भू-भागमा फैलिएको छ।

विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो। रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ। रासस


प्रकाशित : मंगलबार, असोज ९ २०८००८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend