सोमबार, असोज ७ गते २०८१    
images
images

दूध बेचेर करोडौँ रूपैयाँ गाउँ भित्र्याउँदै बागलुङका किसान

images
मंगलबार, असोज ९ २०८०
images
images
दूध बेचेर करोडौँ रूपैयाँ गाउँ भित्र्याउँदै बागलुङका किसान

उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकले आम्दानी गरेका हुन्।

images
images

बागलुङ- जिल्लाका किसानले दूध बिक्री गरेर हरेक वर्ष करोडौँ रूपैयाँ गाउँ भित्र्याउने गरेका छन्। जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर करोडौँ रूपैयाँ गाउँ भित्र्याएका हुन्।

images
images
images

जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन्। काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत बजारमा दूध पुर्‍याउने गरेका छन्। संघबाट यहाँका किसानले एक वर्षमै सात करोड ३४ हजार १९ रूपैयाँ गाउँमा भित्र्याउन सफल भएका हुन्। 

उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकले आम्दानी गरेका हुन्। बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आबद्ध किसानले आर्थिक वर्ष २०७९/८० मा सहकारीमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण गरेर सहरको पैसा गाउँमा पुर्‍याएका हुन्।

दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला-८ मा रहेको गाजा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मीनप्रसाद कँडेलले बताए। काठेखोला-६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका सेयर सदस्यले मात्रै दैनिक तीन सय लिटर दूध सहकारी संघलाई बजारमा पठाउने गरेको किसान बताउँछन्।

images

'यो वर्ष हामीले राम्रो दूध उत्पादन गरेका थियौँ, किसानको मेहनत हेरेर राज्यका निकायले पनि सहयोग गर्न जरुरी छ', उनले भने, 'पशुधनबाट हुने आम्दानीले किसानले जिविका चलाउन सक्ने बनाउनुपर्छ।' चौधवटा सहकारीका सेयर सदस्य रहेका किसानले गाउँ-गाउँमा संकलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी संघलाई उपलब्ध गराउने गरेका छन्।

बागलुङ दुग्ध उत्पादक सहकारी संघले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका सेयर सदस्य किसानबाट नौ करोड रूपैयाँ बढीको दूध खरिद गरेर बिक्री गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताए। 'हामीले सहकारीमा आबद्ध किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गरेका छौँ', उनले भने, 'पशु बीमा, औषधीलगायतका कार्यक्रम सञ्चालन गरेर किसानलाई संघले विभिन्न तरिकाबाट सहयोग गरिरहेको छ।'

उनका अनुसार थोरै दूध उत्पादन गर्ने किसानले बजार टाढा भएकाले समस्यामा पर्ने भए पनि थोरै दूध सहकारीमा जम्मा गरेर सहकारीमार्फत एकमुष्ट बागलुङ बजारमा ल्याउँदा बजारीकरणमा सहज हुने गरेको छ। विसं २०५७ मा स्थापना गर्दा दूध संकलन गरी ल्याउने र बिक्री नभएर नालीमा फाल्ने सहकारी अहिले दूधको ब्रान्ड नै बनेको छ।

संघले स्थापना गरेको दुग्ध उद्योगबाट छुर्पीलगायतका उत्पादन विदेश निर्यातसमेत हुने गरेका छन्। संघमा मात्रै १५ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन्। संघमा आबद्ध १४ वटा सहकारीका संकलन केन्द्रका कर्मचारी, ढुवानी कर्मचारीलगायतको जनशक्तिको व्यवस्थापन हुँदा ४० जना बढी युवा प्रत्यक्ष-अप्रत्यक्ष रोजगारीमा जोडिएको अध्यक्ष गौतमले बताए।

दूधलाई एकत्रित गरी ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थ जस्तैः घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम गर्दै आएको सहकारी संघका प्रबन्धक वैकुण्ठप्रसाद शर्माले जानकारी दिए।

संघले किसानको दूधको मूल्य तिरेर बचत भएको रकमबाट किसानको पशु बीमा गर्ने, दूध तथा घाँस ढुवानी गर्ने तथा पशु प्रवर्द्धनात्मक काममा लगानी गर्ने गरेको छ। बागलुङ दुग्ध उत्पादक सहकारी संघमा झण्डै एक हजार पाँच सय किसानले धेरै-थोरै दूध बजारीकरणका लागि पठाउँछन्।

संघमा आबद्ध भइनसकेका जिल्लाको दक्षिण क्षेत्रका किसानले पनि सहकारीमा आबद्ध भएर करोडौँको दूध बिक्री गर्ने गरेका छन्। सहकारीले एकलरूपमा एक करोड बढीको दूध उत्पादन र बिक्री गर्ने गरेको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका-१२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताए। कालीगण्डकी, नवनमूना, नारायणस्थान, पल्लोपाखा र जैमिनी दुग्ध उत्पादक सहकारीले उत्पादन गरेको दूध पोखरा निर्यात हुने गरेको छ। रासस


प्रकाशित : मंगलबार, असोज ९ २०८००५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend