काठमाडौं- चालु आर्थिक वर्षको बजेटमा भएको शून्य रुपैयाँमा (बिनापैसा) कम्पनी खोल्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ। असोज ८ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले उक्त व्यवस्था कार्यान्वयनमा आएको जानकारी दिएको छ। यसअघि उक्त व्यवस्था कम्पनी ऐन, २०६३ सँग बाझिएको भन्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले रोकेको थियो।
कम्पनी ऐनको दफा ५ बमोजिम प्राइभेट तथा पब्लिक कम्पनी दर्ता गर्दा, कम्पनीको पुँजी वृद्धि गर्दा, दफा ५६ अनुसार काम गर्दा, दफा १५४ बमोजिम कम्पनीले शाखा कार्यालय स्थापना गर्दा र दफा १६६ बमोजिम नाफा वितरण नगर्ने गरी कम्पनी स्थापना गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने राजपत्रमा सुचना प्रकाशित भएको छ। आर्थिक ऐन २०८० को दफा १८ को उपदफा १ बमोजिम छुट दिने निर्णय सरकारले गरेको छ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर ७० ले नयाँ कम्पनी खोल्दा वा पुँजी वृद्धि गर्दा लाग्दै आएको शुल्क खारेज गर्ने व्यवस्था गरेको थियो। आन्तरिक उत्पादन बढाउन वा विदेशी लगानी भित्र्याउनका लागि सहजीकरण गर्ने भन्दै बजेटमा गरिएको उक्त व्यवस्थाले एकसय रूपैयाँ अधिकृत पुँजी घोषणा गरी नि:शुल्क कम्पनी दर्ता वा पुँजी वृद्धि गर्न पाउने व्यवस्था गरेको बजेटमा उल्लेख गरिएको छ।
‘नयाँ कम्पनी दर्ता गर्दा वा पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क वा दस्तुर नलाग्ने व्यवस्था मिलाइने छ। न्यूनतम १०० रूपैयाँमात्रै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न पाउने व्यवस्था ...’, उक्त व्यवस्थामा भनिएको छ।
कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले बजेटको उक्त व्यवस्था र सोही व्यवस्थामाथि मन्त्रिपरिषदले गरेको निर्णय कम्पनी ऐनसँग बाझिने प्रकृतिको भएकाले निर्णय नसच्याएसम्म राजपत्रमा प्रकाशन नगर्ने अडान राखेको थियो।
हाल नयाँ कम्पनी दर्ता गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयले प्राइभेट कम्पनी, पब्लिक कम्पनी र विदेशी लगानीका कम्पनी दर्ताका लागि छुटाछुट्टै शुल्क लिने गरेको छ।
प्राइभेट कम्पनी दर्ता गर्दा अधिकृत पुँजीका आधारमा १ हजार रूपैयाँदेखि ४३ हजार रूपैयाँसम्म लिने गरेको छ।
यस्तै १ करोडभन्दा बढी अधिकृत पुँजी दर्ता भएमा १ करोडभन्दा माथि प्रतिलाख थप ३० रूपैयाँका दरले दर्ता शुल्क लिने गरेको छ।
यस्तै नयाँ पब्लिक कम्पनी दर्ताका लागि न्यूनतम १५ हजारदेखि अधिकत १ लाख ६० हजार वा अधिकृत पुँजीका आधारमा सोभन्दा बढी लिने गरेको छ। ५० करोडभन्दा बढी चुक्ता पुँजी भएमा प्रतिकरोड ३ हजारका दरले दस्तुर थपिने व्यवस्था कम्पनी रजिष्ट्रार कार्यालयले गरेको छ।
यस्तै १ करोडदेखि ५० करोडसम्मको विदेशी लगानीसहितको नयाँ कम्पनी दर्ता भएमा १५ हजारदेखि १ लाख ६० हजारसम्म दस्तुर लाग्ने व्यवस्था रहेको छ। ५० करोडभन्दा बढी विदेशी लगानी भएको कम्पनी दर्ता भएमा प्रतिकरोड ३ हजारका थरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ।
यस्तै कम्पनीको लगानी नखुलेको भए एकमुष्ट १ लाख रूपैयाँ, विदेशी कम्पनीले नेपालमा सम्पर्क कार्यालय दर्ता गर्दा एकमुष्ट ५० हजार रूपैयाँ, मुनाफा वितरण नगर्ने गरी स्थापना हुने विदेशी लगानीको कम्पनीले एकमुष्ट १५ हजार रूपैयाँ दर्ता शुल्क कम्पनी रजिष्ट्रार कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ।
यस्तै पब्लिक कम्पनीबाट प्राइभेट कम्पनीमा परिणत हुँदा नयाँ कम्पनी दर्ता गर्दा लाग्ने शुल्कको ५० प्रतिशत दस्तुर बुझाउनुपर्ने हुन्छ।
यस्तै कम्पनीको नाम परिवर्तन गर्दा नयाँ कम्पनी दर्ता गर्दा लाग्ने शुल्कको २५ प्रतिशत वा बढीमा ५ हजार रूपैयाँ कम्पनी रजिष्ट्रार कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ।
पुँजी वृद्धिको हकमा हाल कायम हुने अधिकृत पुँजीमा साविकमा तिरेको रजिष्ट्रेशन दस्तुर कट्टी गरी बाँकी हुन आउने रकम तथा साविक पुँजीमा हेरफेर नभएमा वा कमी भएमा १ हजार रूपैयाँ तिर्नुपर्ने हुन्छ।