सोमबार, असोज ७ गते २०८१    
images
images

कोइला अभाव हुँदा समस्यामा आरन व्यवसायी

images
आइतबार, असोज ७ २०८०
images
images
कोइला अभाव हुँदा समस्यामा आरन व्यवसायी

कोइलाको अभाव हुँदा पुर्ख्यौली कामलाई निरन्तरता दिन कठिन भइरहेको आरन व्यवसायी सुकबहादुर विश्वकर्माले बताए।

images
images

स्याङ्जा- विश्वकर्मा समुदायको पुर्ख्यौली पेसाका रुपमा रहेको आरन व्यवसायका लागि कोइलाको अभाव हुन थालेको छ। कोइला बजारमा प्रयाप्त किन्न नपाइने तथा कोइला बनाउन आवश्यक पर्ने रुख र बुट्यान सजिलै नपाइने भएपछि आरन पेसा गर्दै आएका विश्वकर्मा समुदायले समस्या झेल्दै आएका छन्।

images
images
images

स्याङ्जाको गल्याङ नगरपालिका-७ भट्टीडाँडाका ६१ वर्षीय सुकबहादुर विश्वकर्माले ४८ वर्षदेखि आरन पेसा गर्दै आएका छन्। उनी वालिङ नगरपालिका-११ बाँयखोलाबाट २२ वर्ष पहिले गल्याङमा बसाइँ सरेर यहाँ आएका हुन्। विश्वकर्माले गल्याङ बजारस्थित तल्लो गल्याङ जाने घुम्तिमा एएमसी कृषि औजार निर्माण उद्योगको नाममा आरन व्यवसाय गर्दै आएका छन्।

यहाँ मुलिवास, देवीथान, पेलाकोट, सल्यान, स्यालवास, कल्लेरी, सौरभञ्याङ, गल्कोट, ग्वादी, गल्याङ र ग्वादीका किसान औजार मर्मत गर्न तथा किन्न आउने गरेको उनले जानकारी दिए।

विश्वकर्माले बाउबाजेले गरेको पेसालाई आफूले निरन्तरता दिए पनि कोइलाको अभाव हुँदा पुर्ख्यौली कामलाई निरन्तरता दिन कठिन भइरहेको बताए। 'गोलका लागि नन्डुके, साल, खयर, बेल, गोलैँची, धँयरो, बेलउती लगायतका काठ राम्रो मानिन्छ,' उनले भने, 'पहिले पहिले साल खयर काट्न पाइन्थ्यो, हिजोआज काट्न पाइँदैन, अन्य काठ बालीघरे गर्दा विष्टहरुले त्यसै दिन्थे, हिजोआज महँगो मूल्य तिरेर किन्नुपर्छ।'

images

विश्वकर्माले बजारमा ४० किलो कोइलाको मूल्य तीन हजार पाँच सय रूपैयाँभन्दा बढी रहेको जनाउँदै बजारमा पर्याप्त मात्रामा किन्न पनि नपाइने गुनासो गरे। हँसिया, बञ्चरो, कोदाली, कुटो, फाली लगायतका सामान नयाँ बनाउने तथा पुराना मर्मत समेत गर्ने गरेको उनले बताए।

विश्वकर्माका अनुसार आरनको काम गरेर मासिक २०/२५ हजार रूपैयाँसम्म आम्दानी हुने गरेको छ। 'कोदाली, सानो हँसिया अर्चापेको ५०, घाँस काट्ने हँसियाको ७०, बञ्चरो र खुर्पाको एक सय रूपैयाँ ज्याला लिने गरेको छु,' उनले भने, 'नयाँ बञ्चरो एक हजार ६ सय, घाँस काट्ने हाँसिया चार सय, कोदाली एक हजार रूपैयाँसम्ममा बिक्री गर्ने गरेको छु।'

पहिलेको तुलनामा हिजोआज नयाँ फलामका औजार किन्ने र अर्चाप तिखार गर्न आउनेको संख्यामा कमी आएको विश्वकर्माले बताए। 'हिजोआज भैँसी पाल्न र खेती गर्न छोडेका छन्, त्यसैले कृषि औजार पनि कम प्रयोग भएका छन्,' उनले थपे, 'पहिलेपहिले ३० वटा हँसिया लिएर बेच्न जाँदा एउटै गाउँमा सकिन्थ्यो, हिजोआज दश गाउँ डुल्दा पनि १० वटा हँसिया बेच्न मुस्किल पर्छ।'

उनले परम्परागत शैलीमा आरन व्यवसाय गर्दा श्रम र समयको खर्च बढी हुने गरेको दुखेसो पोखे। 'मलाई फलाम जमाउनका लागि वेल्डिङ मेसिन, धार लगाउन काट्न र चिल्लाउनका लागि ग्रेन्डर र आगो फुक्नका लागि बिजुलीबाट चल्ने मेसिन आवश्यक छ,' विश्वकर्माले भने, 'मसँग किन्नका लागि पैसा छैन। सरकारले दिएमा काम गर्न सहज हुन्थ्यो।'

उनले नौ/दश वर्षकै उमेरदेखि बुबा आरनमा काम गर्दा खलाँती फुक्ने र काम सिक्ने गरेको बताए। उनले १६ वर्षको हुँदादेखि फलामको सबै काम सिकेको बताए।

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले दलित समुदायले गर्दै आएका परम्परागत पेसा संरक्षणका लागि नगरपालिकाले विशेष योजना ल्याएको बताए। उनले गत साउनमा आरन व्यवसाय गर्नेहरुलाई ‘आरन सुधार कार्यक्रम’अन्तर्गत हाते पङ्खा, हम्बर, लिही, घन, ग्रेन्डर, वेल्डिङ मेसिन, सनासो, रेती, जस्तापातालगायतका सामग्री वितरण गरेको जानकारी दिए।

नगरप्रमुख भट्टराईले गल्याङ बजारका परियार समुदायका लागि पनि नगरपालिकाले पोसाकसहित पञ्चेबाजा वितरण गरेको बताए। 'पालिका परम्परागत पेसा, सीपको संरक्षणमा गम्भीरतापूर्वक अगाडि बढेको छ,' उनले भने, 'आगामी दिनमा पनि कसरी अगाडि बढ्दा परम्परागत पेसा गर्दै आएका समुदायको सम्मान हुन्छ भन्ने विषयमा सुझाव संकलन गरी नीति तथा कार्यक्रम तयार गरेका छौँ।' रासस


प्रकाशित : आइतबार, असोज ७ २०८००९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend