सोमबार, असोज ७ गते २०८१    
images
images

नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन

images
आइतबार, असोज ७ २०८०
images
images
नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन

नगरकोटमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको आवागमन बढी हुने गर्दछ। त्यही आवागमनलाई लक्षित गरी हाटबजार सुरु गरिएको हो।

images
images

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा अर्गानिक तकारीको हाटबजार सञ्चालनमा ल्याइएको छ। हाटजबजार प्रत्येक शुक्रबार र शनिबार लाग्छ।

images
images
images

हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पीजीएस प्रमाणीकरण किसान समूहद्वारा उत्पादित ‘अर्गानिक’ उन्मुख तरकारी बिक्रीका लागि सञ्चालनमा ल्याइएको हो। विशेषगरी प्रांगारिकरुपमा जैविक मल प्रयोग गरी विषादीरहित उत्पादन गरिएका तरकारीलाई हाटबजारमा राखिएको काभ्रेपलाञ्चोक एकीकृत ग्रामीण सशक्तिकरण कार्यक्रमका संयोजक बद्रीप्रसाद माकाजुले जानकारी दिए।

सशक्तिकरण कार्यक्रमको व्यवस्थापन तथा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको सहयोगमा उक्त हाटबजार सञ्चालनमा ल्याइएको हो। हाट बजारमा फर्सिको मुन्टा, बन्दा, काउली, अदुवा, तने बोडी, कर्कलोको गाभा, स्कुस, भटमास, हरियो सिमी, तिते करेला, खुर्सानी, रैथाने कुखुरा, धनियाँ, रैथाने बोडी, निउँरो, जिम्बु, सुकेको सिमी, प्याज, लसुन, गोलभेँडा, काक्रो, राखिने गरिन्छ।

यस्तै किसानले घरमै उत्पादित घ्यू, मह र विभिन्न जातका नास्पाती, कागतीलगायत फलफूल तथा यीनका बिरुवासमेत बिक्रीका लागि राख्ने गरेका छन्। सशक्तिकरण विगत दुई वर्षदेखि मण्डनदेउपुरका वडा नं १, २, ३ र ४ मा सञ्चालित छ। बीस प्रांगारिक किसान समूहमा पाँच सय छ किसान आबद्ध रहेका छन्।

images

नगरकोटमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको आवागमन बढी हुने गर्दछ। त्यही आवागमनलाई लक्षित गरेर हाटबजारको सुरुवात गरिएको हो। समूहमा आबद्ध किसानले उत्पादन गरेका मौसमी तथा बेमौसमी तरकारी हाटबजारमा बिक्रीका लागि राखिने परियोजनाका कृषि प्राविधिक जगतबहादुर शाहीले बताए। उनका अनुसार अर्गानिक तरकारीको हाटबजार सञ्चालनमा आएपछि स्थानीय होटल तथा पर्यटन व्यवसायी निकै खुसी देखिएका छन्।

'स्थानीय अर्गानिक तरकारी होटल व्यवसायी तथा पर्यटकलाई खुवाउन पाउँदा निकै खुसी भएका छौँ', नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव प्रदीप अधिकारीले भने। उनले नगरकोटका होटल तथा रिसोर्टमा स्थानीयस्तरकै तरकारी उपलब्ध गराउन हाटबजारले मद्दत पुग्ने बताए।

हाटबजार नगरकोट क्षेत्रको पायक पर्ने चाँगुनारायण नपा-६ स्थित महामञ्जुश्री चोकमा सञ्चालनमा ल्याइएको हो। मण्डनदेउपुर नपा-४ सर्वझाङका किसान रामबहादुर बजगाईंले नगरकोटमा सञ्चालित हाटबजारले किसान र उपभोक्तालाई बिचौलियाबाट हुने ठगी नियन्त्रण गराउँदै सुपथ मूल्यमा स्वच्छ र ताजा तरकारी खान पाउने अवस्थाको सिर्जना भएको बताए।

उनले स्थानीयस्तरमा उत्पादन भएका प्रांगारिक तरकारी आन्तरिक पर्यटकले चिनोस्वरूप अन्य ठाउँमा समेत लैजान सकिने भएकाले हाट बजारमा किसानले बिक्रीका लागि ल्याएको तरकारी घर फिर्ता नलैजाने वातावरण बनाउन स्थानीय व्यवसायीले सहयोग गर्नुपर्ने बताए।

मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइबाले नगरकोट क्षेत्रका होटल व्यवसायीले स्थानीयस्तरमा उत्पादित अर्गानिक, स्वास्थ्यलाई फाइदा पुग्ने तरकारी तथा फलफूल किनेर किसानको आयआर्जन वृद्धिमा सहयोग गर्नुपर्ने बताए।

'नगरकोटमा होटलले बाहिरबाट तरकारी तथा फलफूल ल्याउनुभन्दा स्थानीयस्तरमै उत्पादित प्रांगारिक उन्मुख तरकारी आफ्ना पाहुनालाई खुवाउनुपर्छ,' उनले भने, 'सुरुवाती चरणमा सबै होटललाई नपुग्ला, अब तरकारी उत्पादन बढाउनेतर्फ लाग्नेछौँ।'

उनले नगरकोट क्षेत्रमा शीत भण्डार आवश्यक रहेकाले भक्तपुरको चाँगुनारायण नगरसँग सहकार्य तथा अन्य संघ संस्थासँग समन्वय गरी स्थापना गर्नेतर्फ लाग्ने बताए।

चाँगुनारायण-६ का वडाध्यक्ष धनबहादुर लामा नगरकोटमा अब हरेक हप्ता हाटबजारलाई निरन्तरता दिइने बताउँछन्। 'सबै पक्षसँग हातेमालो गर्दै प्रत्येक शुक्रबार मेलाकै रूपमा व्यवस्थित गर्दै जानेछौँ', उनले भने।

मण्डनदेउपुर किसान समूहका सचिव गणेश घोरासैनीले प्रांगारिक तरकारी खेतीको उचित मूल्यांकन नभइरहेको अवस्थामा हाटबजारले किसानलाई हौसला प्रदान गरेको बताए। उनी भन्छन्, 'स्थानीय किसान विषादीरहित तरकारी उत्पादनतर्फ लागिसकेका छन्, यस्ता बजारले उनीहरुलाई थप उत्प्रेरणा दिनेछ।' रासस


प्रकाशित : आइतबार, असोज ७ २०८००८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend