सोमबार, असोज ७ गते २०८१    
images
images

सीप भएका तर रोजगारी नभएका ४ सय जनाले दिए काठमाडौं महानगरको श्रम बैंकमा आवेदन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज ७ २०८०
images
images
सीप भएका तर रोजगारी नभएका ४ सय जनाले दिए काठमाडौं महानगरको श्रम बैंकमा आवेदन

महानगरले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम लिस्ट हुन्छ। जहाँ श्रमिकको ज्याला दर, कामको प्रकार फोन नम्बर र श्रमिक कहाँ बस्नेसमेत उल्लेख गरिएको हुन्छ

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ। गत भदौ पहिलो साता महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार हालसम्म चार सय आवेदन परेको महानगर प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन्।

images
images
images

उनका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो, सोहीअनुसार महानगरले आवेदन माग गरेको हो।

यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुने प्रमुख राईले जानकारी दिइन्।

उनले भनिन्, 'महानगर केन्द्रमा एक महिनामा चार सय आवेदन परेको छ। महानगरका ३२ वटै वडामा पनि केही आवेदन आएको जानकारी प्राप्त भएको छ। महानगरले अहिले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको छ। संकलन भएका आवेदनबाट प्राथमिकीकरण, वर्गीकरणको काम पनि भइरहेको छ।'

images

प्रमुख राईका अनुसार बेरोजगारका लागि एउटा आधार तयार गरिदिएको भन्दै, श्रम बैंकमा आबद्ध भएका श्रमिकलाई महानगरले मात्रै नभएर आवश्यकताअनुसार जोसुकैले पनि प्रयोग गर्न सक्नेछन्।

महानगरले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम लिस्ट हुन्छ। जहाँ श्रमिकको ज्याला दर, कामको प्रकार फोन नम्बर र श्रमिक कहाँ बस्नेसमेत उल्लेख गरिएको हुन्छ। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको सहजरूपमा श्रमिक उपलब्ध गराई सीप, क्षमता भएका श्रमिकलाई काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गरी रोजगार दिलाउनु हो।

महानगरले चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत भर्नुपर्ने छ। आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएको छ। फारम आफू बसेको वडा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउन पर्नेछ।

श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौंमा बसोबास भएको हुनुपर्ने बताइएको छ। यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ। यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ। 


प्रकाशित : आइतबार, असोज ७ २०८००४:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend