काठमाडौं- एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरियाली निर्माणमा योगदान पुर्याउँदै ललितपुर महानगरपालिकासँगको सहकार्यमा महानगरपालिकाको वडा नम्बर १ मा रहेको बागमति कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ।
यो पहलले समग्र समुदायका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने कम्पनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। कम्पनीको जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरू पूरा गर्न सहयोग गर्नुका साथै सरकार तथा सहरलाई दिगो विकास लक्ष्यहरू हासिल गर्न योगदान तथा मद्दत पुर्याउने कम्पनीले जनाएको छ। बिहीबार एक कार्यक्रमका बीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन्।
ललितपुर महानगरपालिका, वडा नम्बर १ स्थित बागमती करिडोर रोडको दायाँ बायाँ २ सय भन्दा बढी रुख रोपिएका छन्। एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा ‘हामी तपाईंकै लागि’ थिमले एनसेल नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
वृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, 'मलाई लाग्छ हाम्रो जीवनमा तीन वटा कुरा महत्वपुर्ण छन्-घर बनाउने, बच्चा हुर्काउने र रुख रोप्ने। शहरमा हरियाली प्रर्वद्घन र विकासका लागि यस पहलमा ललितपुर महानगरपाललिकासँग हातेमालो गर्न पाएकोमा म आज निकै गौरवान्वित छु। उपत्यकालाई स्वच्छ र हराभरा शहर बनाउन योगदान पुर्याउँदै यी आज रोपिएका रुखहरु लामो समयसम्म रहुन् भन्ने मेरो आशा छ। आफ्नो समाजमा र समुदाय हितका लागि सदैव काम गर्ने एनसेल एक जिम्मेवार कम्पनी हो। यस हरियाली प्रर्वद्घनको कार्यमा महानगरपालिकासँग सहकार्य गर्दै हाम्रो सहकार्य अझै सुदृढ बनाउन पाएकोमा हामी खुसी छौँ। वातावरण संरक्षणमा योगदान गर्ने हाम्रो प्रतिबद्घताप्रति हामी समर्पित छौँ।'
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि विगत दुई वर्षदेखि एनसेलसँग सहकार्य गर्दै आएको बताए। 'यस वृक्षारोपणको लागि महानगरपालिका र वडा १ को तर्फबाट म एनसेललाई धन्यवाद दिन चाहन्छु। हाम्रो सहकार्यलाई निरन्तरता दिदै बागमती करिडोरमा यो वृक्षारोपण गर्न पाउँदा हामी धेरै खुसी छौँ र यस्ता असल कार्यका लागि अन्य आवश्यक सहयोग गर्न पनि हामी प्रतिबद्ध छौँ,'उनले भने।
एनसेलले वन तथा भूसंरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रिङरोडको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण र मर्मत सम्भार गर्ने कार्य गर्दै आईरहेको छ।
‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि गर्ने भएको छ। मानव विकास सूचकांक न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत कार्यक्रम रहेको एनसेलले जनाएको छ।
एक जिम्मेवार कर्पोरेट नागरीकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा तथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) अन्तर्गतका पहलहरुलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएको एनसेलको दाबी छ।
एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याएको र स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र सधैं एनसेलको प्राथमिकतामा रहेको कम्पनीको भनाइ छ।