सोमबार, असोज ७ गते २०८१    
images
images

दक्षिण एसियाली ‘हेल्दी सिटी’ को सदस्य बन्दै धुलिखेल 

images
बुधबार, असोज ३ २०८०
images
images
दक्षिण एसियाली ‘हेल्दी सिटी’ को सदस्य बन्दै धुलिखेल 

नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने सबै नागरिकलाई स्वस्थ बनाइ आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्‍याउने कामसमेत गरेको जनाइएको छ।

images
images

काभ्रेपलाञ्चोक- पर्यटकीय धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ। यसै महिना धुलिखेललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा दक्षिण पूर्वी एसियाको ‘हेल्दी सिटी’को सदस्यता प्रदान गरिने कार्यक्रम  छ।

images
images
images

सदस्यता ग्रहण गरेसँगै दक्षिणपूर्वी एसियाली विश्व स्वास्थ्य संगठनको ‘स्वस्थ सहर सञ्जाल’ को सात सहरमध्ये धुलिखेल पनि एक सदस्य हुनेछ। नगरापालिाकाले सबै मापदण्ड पूरा गरेकाले संगठनले सदस्यता प्रदान गर्ने तयारी भएको जनाइएको छ। सदस्यता प्रदान गर्ने मिति तय भएपछि  ग्रहण गर्न जाने तयारी गरिने नगर स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताए। उनका अनुसार नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्य (एस्डिजी) अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानीका चार लक्ष्य पूरा गरेर स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो। 

नगरले ती चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्र संघमा पेस गरेको थियो। त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको जिकिरसमेत गरिएको थियो। नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने सबै नागरिकलाई स्वस्थ बनाइ आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्‍याउने कामसमेत गरेको जनाइएको छ।

नागरिकको अवस्था के छ, के-कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरले सर्वेक्षण गरेको हो। केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइएको छ। हाल हाइपरटेन्सन, मधुमेह र मानसिक स्वास्थ्य कार्यक्रमलाई केन्द्र तथा निरन्तरका शिविरमार्फत प्राथमिकताका साथ अघि बढाइएको प्रमुख केसीले बताए।

images

धुलिखेल विश्व स्मार्ट दीगो सहर संगठनको सन् २०२१ देखि २०२३ सम्मको कार्यसमिति सदस्यमा निर्वाचित नगर हो। विश्वका एक सय ३६ देशका सहर सदस्य रहेको संगठनको विश्व स्मार्ट दीगो सहर संगठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा पनि धुलिखेल निर्वाचित भएको थियो। नगरप्रमुख अशोक ब्याञ्जूले संसारका ठूला देशका सहरसँगै संगठनको कार्यसमिति सदस्यमा निर्वाचित हुनु गौरवको विषय भएको बताए।

यस्तै यस नगरले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको योजनासमेत बनाएको थियो। यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ। वैज्ञानिक माध्यमबाट नगरलाई दीगोरुपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको उनले बताए।

उक्त कार्यक्रमबाट  वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दीगो रुपमा वैज्ञानिक ढंगबाट नगर सफा-सुन्दर हुनाका साथै केही हदसम्म बेरोजगारी घट्ने र स्थानीय स्रोतको पहिचान तथा उपयोग गर्न सकिने जनाइएको छ। नगर प्रमुख ब्याञ्जूका अनुसार नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्‍याएको छ। जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत कार्यक्रममा समावेश गरिनेछ। सफा-सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दीगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायत काम हुने जनाइएको छ। नगरपालिकाले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत वर्ष नोभेम्बर पहिलो साता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप-२६) मा चर्चाको विषय बनेको थियो।

नगरपालिकाले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरेकामा उक्त सम्मेलनमा विश्वका अधिकांश राष्ट्रले कोइलाको प्रयोग रोक्ने घोषणासमेत गरेका थिए। खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीयवासी सबैका घरमा प्रयोग भएका फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ।

नगर प्रमुख ब्याञ्जूका अनुसार नगरक्षेत्रभित्र एक वर्षदेखि कोइला प्रयोग पूर्णरुपमा प्रतिबन्ध छ। 'धुलिखेलको एउटा काम विश्वमा चर्चा हुनु गौरवको विषय बनेको थियो', उनले भने।

धुलिखेल नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ र एसियाको पहिलो सहर बनेको घोषणासमेत गरिएको थियो। धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो। उक्त सन्धिअन्तर्गत रहेर नगरपालिकाले आफ्नो क्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दीगो विकास र स्वस्थ तथा सफा वाताबरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको जनाएको छ। रासस 


प्रकाशित : बुधबार, असोज ३ २०८०११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend