सोमबार, असोज ७ गते २०८१    
images
images

खोलाखोल्सीको निगुरो सहर बजारमा, राम्रो मूल्य पाउँदा घरखर्च चलाउन सहज

images
बुधबार, असोज ३ २०८०
images
images
खोलाखोल्सीको निगुरो सहर बजारमा, राम्रो मूल्य पाउँदा घरखर्च चलाउन सहज

विगतमा त्यतिकै वन, पाखा खोलाखोल्सीमा खेर गइरहेको निगुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउन थालेको छ।

images
images

भोजपुर- सडकको पहुँच विस्तार भएसँगै भोजपुर चोलन्ती, मझौलेको निगुरो सहर बजारका भान्सामा पुग्न थालेको छ। भौगोलिक रुपमा दुर्गम मानिने यी स्थानको खोलाखोल्सी तथा वन पाखामा फल्ने निगुरो देशका ठूला सहरमा पुग्न थालेको हो।

images
images
images

टेम्केमैयुङ-५ चोलन्ती, मझौलेका स्थानीयवासीले वन जंगलबाट संकलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, झापा, काठमाडौंलगायतका सहरमा जाने गरेको छ। 

संकलित निगुरो घरबाटै बिक्री गर्दै आएको स्थानीयवासी डम्बर विष्टले बताए। विगतमा त्यतिकै वन, पाखा खोलाखोल्सीमा खेर गइरहेको निगुरोले अहिले गाउँघरमा नै राम्रो मूल्य पाउने गरेको उनको भनाइ छ।

'सडकको पहुँच विस्तारपछि यहाँका वन पाखामा पाइने निगुरोले मूल्य पाएको छ', स्थानीयवासी विष्टले भने, 'हामीले संकलन गरेको निगुरो आफ्नै घरबाट बिक्री भइरहेको छ। गाउँमा खेर गइरहेको निगुरो अहिले सहरका भान्सामा पुग्ने गरेको छ। निगुरो बिक्रीबाट घरखर्च चलाउन सहज छ।'

images

संकलन गरेको निगुरो ठेकेदारहरुले घरमा नै आएर किन्ने गरेको स्थानीयवासी मीना बस्नेतले बताइन्। संकलन गरिएको निगुरो प्रतिकेजी २५ देखि ३५ मा ठेकेदारले लैजाने उनको भनाइ छ।

पात भएको भन्दा डाँठ मात्र भएको निगुरोले राम्रो मूल्य पाउने बस्नेतले बताइन्। निगुरो बिक्रीबाट परिवारको घरखर्च धान्न सहज भएको उनले जानकारी दिइन्। सुरु सुरुमा प्रतिकेजी ४० देखि ४५ सम्ममा बिक्री गरेको उनको भनाइ छ। 'हाम्रो जस्तो दुर्गम ठाउँको निगुरो बिक्री होला भन्ने मलाई लागेको थिएन', उनले भनिन्, 'अहिले यही निगुरो किन्न घरमा नै मान्छे आउँछन्। गाउँभरिका सबैजना वन जंगलमा गएर संकलन गरेर ल्याएर बिक्री गर्दै आएका छौँ। निगुरो बिक्रीबाट राम्रै आम्दानी हुन्छ।'

चोलन्ती, मझौलेमा संकलन भएको निगुरो स्थानीय बजारमा भन्दा पनि जिल्ला बाहिरका सहरमा जाने गरेको स्थानीयवासी एकराज विष्टले बताए। एक जनाले एक दिनमा एकदेखि दुई डोकोसम्म निहुँरो संकलन गर्ने उनको भनाइ छ। 'खोलाखोल्सीको निगुरो सहर बजारमा पुग्न थालेको छ', उनले भने, 'निगुरो हुर्किएपछि गाईबस्तुलाई सोतरको रुपमा प्रयोग गर्दै आएका थियौँ। अहिले त्यही निगुरोले मूल्य पाएको अवस्था छ। हामीले जति धेरै संकलन गरेपनि बिक्रीको लागि कुनै समस्या छैन।'

स्थानीय बासिन्दाले वर्षातयाम सुरु भएपछि अर्थात जेठ असारबाट कात्तिक महिनासम्म निगुरो बेच्दै आएका छन्। वनजंगलमा सजिलै पाइने, निगुरो अर्गानिक हुने भएकाले सहरका मानिसको रोजाइँमापर्ने गरेको छ। तराईमा पाइने निगुरोभन्दा पहाडी क्षेत्रबाट जाने डौँठे निगुरोको बजारमा राम्रो माग रहेकोे स्थानीय निगुरो व्यापारी लालबहादुर विष्टले बताए। यो वर्षबाट चोलन्ती,मझौले गाउँबाट मात्र आठ मेट्रिक टन निगुरो बाहिरका बजारमा लगेको उनले जानकारी दिए।

गत वर्षको भन्दा यो वर्ष उत्पादनमा केही कमी आएको उनको भनाइ छ। गतवर्ष यहाँबाट दश मेट्रिक टन बढी निगुरो बाहिर लगेको व्यापारी विष्टले बताए। 'पहाडको निगुरोको सहरका बजारमा राम्रो माग छ', उनले भने, 'गाउँबाट हिँडेको पाँचदेखि छ घण्टामा यसलाई धरान, इटहरी पुर्‍याउछौँ। बजारमा पुर्‍याएपछि बिक्रीको लागि कुनै समस्या छैन। खास गरेर पहाडको डौठे निगुरो अचारको लागि बढी माग हुन्छ। मैले मात्र यो वर्ष आठ मेट्रिक टन निगुरो बाहिर लगेँ।'

जैविक र मौसमी तरकारी निगुरो पौष्टिकताले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक रहेको पोषणविद्हरुको भनाइ छ। निगुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ‘ए’ लगायतका पोषकतत्व पाइने भएकाले बालबालिका तथा गर्भवती महिलालाई धेरै लाभदायक हुने उनीहरुको भनाइ छ।

स्थानीयस्तरमा पाइने निगुरो बाहिरका बजारसम्म निर्यात हुने गरेकाले यसको उत्पादन र बजारीकरणको लागि गाउँपालिकाले आवश्यक पहल गर्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको उपाध्यक्ष राईको भनाइ छ।

'स्थानीय सरकार सञ्चालनमा आएपछि जनतालाई केही सहज भएको अवस्था छ', उपाध्यक्ष राईले भने, 'गाउँ/गाउँमा कच्ची नै भए पनि कृषि सडक बनेकाले दुर्गम ठाउँका कृषि उपजले बजार पाएको अवस्था छ। अहिले किसानले घरबाट नै बिक्री गर्न सक्ने अवस्था छ। स्थानीयस्तरमा पाईने वस्तुको उत्पादनसँगै बजारीकरणमा गाउँपालिकाले पनि आवश्यक पहल गर्छ।'

ऊनिउँ प्रजातीमा पर्ने निगुरो पहाड र तराई सबैतिरका वन जंगल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो। निगुरो पहाडी क्षेत्रमा बढी मात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयवासीले भने कमैले मात्र खाने गरेका छन्। रासस


प्रकाशित : बुधबार, असोज ३ २०८००९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend