आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी

images
बुधबार, असोज ३ २०८०
images
व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी

फार्ममा हालसम्म ७० लाख रूपैयाँ लगानी भएको छ। चार वर्षको अवधिमा ८२ लाख रूपैयाँ आम्दानी गरेको उनले बताए।

images
images

गल्याङ- स्याङ्जाको गल्याङ नगरपालिका-३ गल्याङ बजारका गंगाप्रसाद श्रेष्ठले व्यावसायिक बाख्रापालनमा गर्दै आएका छन्। उनले चार वर्ष पहिले छर्तिमा अञ्जली कृषि तथा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन गर्दै आएका हुन्।

images
images
images

उनले सञ्चालन गरेको फार्ममा बोयर, खरी र जमुनापारी जातका ६० देखि एक सय ८५ वटासम्म बाख्रा हुने गर्छन्। उनले फार्ममा दुई सयको हाराहारिमा स्थानीय जातका कुखुरा, टर्की, हाँस पालेका छन् भने १२ रोपनी जमिनमा करिब १३ प्रजातिका घाँस लगाएका छन्। करिब रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा हालसम्म ७० लाख रूपैयाँ लगानी गरिसकेको र चार वर्षको अवधिमा ८२ लाख आम्दानी गरेको उनले दाबी गरे।

images
images

नेपाल बाख्रापालन महासंघ स्याङ्जाका अध्यक्षसमेत रहेका श्रेष्ठले गल्याङ नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित श्रीमती अनिता श्रेष्ठको नाममा फार्म दर्ता गरेर व्यवसाय दर्ता गरेको बताए। उनले गाउँमा सम्भावना नदेखेर विदेश लाग्नेहरुका लागि उदाहरण बन्न सकिन्छ कि भनेर बाख्रापालन गरेको दाबी गरे।

images
images

'व्यावसाय सञ्चालनको सुरुमा खासै ज्ञान नभएर होला गाह्रो महसुस भएको थियो, सुरुवाती अवस्थामा निमोनियाले ४४ वटा बाख्रा मरे,' उनले भने, 'अहिले बाख्रा पाल्ने काम सजिलो लाग्न थालेको छ, पालेका सबै बाख्रा पोषिला छन्।'

श्रेष्ठले एकजना साथीसँगको सहकार्यमा २८ बाख्राबाट व्यवसाय सुरु गरेको बताए। 'बीउ उत्पादन गर्ने सोचका साथ बेल्टारीबाट बोयर बोका र माउ ल्याएर बाख्रा पाल्न सुरु गरियो,' उनले थपे, 'माउ उत्पादनको काम फस्टाउन नसकेपछि मासु उत्पादनका लागि बाख्रा पाल्न सुरु गरियो। यहाँ उत्पादिन बाख्रा स्याङ्जाका स्थानीय बजारसहित पोखरा, काठमाडौं लगायतका बजारहरुमा निर्यात हुने गरेका छन्।

श्रेष्ठले गल्याङ बजारमा किराना पसलसमेत सञ्चालन गरेका छन्। उनले गल्याङ बजारमा सफल युवा व्यावसायिकका रुपमा पहिचान बनाएका छन्। श्रेष्ठ गल्याङ युवा क्लबको अध्यक्ष, गल्याङ चेम्बर अफ कमर्स र गल्याङ नेवा समाजको पूर्वअध्यक्ष भएर काम गरेका छन्। उनले बाख्रापालनसम्बन्धी दुईवटा तालिम लिएका छन्।

उनले जिल्ला भेटेरिनरीबाट खोर सुधार कार्यक्रमअन्तर्गत ९९ हजार पाँच सय रूपैयाँ, गल्याङ नगरपालिकाबाट एक वर्ष पहिले २५ हजार रूपैयाँ र चाँपकटर अनुदान पाएका छन्। श्रेष्ठले गल्याङ नगरपालिका र वडा कार्यालय नजिकको भएर पनि आफूलाई वास्ता नगरेको आरोप लगाए।

'गल्याङ नगरपालिकाभित्र मैले जत्तिकै गुणस्तरीय बाख्रा उत्पादन गर्ने किसान कोही छैन होला,' उनले दुखेसो पोखे, 'तर पनि गल्याङ नगरपालिकाका प्रमुख र वडाअध्यक्ष मेरो फार्म अवलोकन गर्न नआउँदा दुःख लागेको छ।'

'कागज मिलाएर अनुदान खाने प्रचलनका कारण बाख्रा पाल्नेहरु २५ प्रतिशतले घटेका छन्, देश छोड्नेहरुको अवस्था कहालिलाग्दो छ,' श्रेष्ठले भने, 'कृषकको फार्ममै पुगेर उत्पादनका आधारमा सरकारले अनुदान दिनुपर्छ, सहरमा घर हुनेलाई मात्र होइन गाउँका किसानलाई पनि सरल तरिकाले सस्तो ऋणको व्यवस्था गरिदिनुपर्छ, यसो भएमा मात्र बाख्रापालक कृषक टिक्न सक्छन्।'

उनले राज्यले सहयोग गरेमा सुलभ ब्याजदरमा ऋणको व्यवस्था गरिदिएमा व्यवसाय विस्तार गर्ने योजना रहेको बताए।

'धेरैका श्रीमान् देश छोडेर प्रदेश जाँदा महिलाहरु समस्यामा परेका छन्,' श्रेष्ठकी श्रीमतीले भनिन्, 'म त भाग्यमानी छु, अहिलेसम्म श्रीमानले साथ छोड्नुभएको छैन, उहाँले फार्म सम्हाल्दा मैले दोकान समालेर सघाएकी छु।'

फार्ममा हाल एक जनाले रोजगार पाएका छन्। रासस


प्रकाशित : बुधबार, असोज ३ २०८००८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend