सोमबार, असोज ७ गते २०८१    
images
images

मनाङमा बढ्दै पर्यटक

images
आइतबार, भदौ ३१ २०८०
images
images
मनाङमा बढ्दै पर्यटक

पर्यटकीय याम सुरु भएसँगै मनाङमा पर्यटक आवागमन बढ्न थालेको छ। दुई सिजन गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन्।

images
images

मनाङ- नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ। यसले गर्दा पर्यटकीय स्थलको खोज, अनुसन्धान र स्थानीय पर्यटकीय क्षेत्रको पनि प्रवर्द्धन हुने गरेको छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण हिमाली जिल्लामा पर्यटक आउने क्रम अझै बढ्दो छ। मनाङका विभिन्न स्थान नै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएकाले यहाँ आउने पर्यटक बढ्दै गएको स्थानीय बताउँछन्।

images
images
images

विगतमा बाह्य पर्यटक बढी आउने यस स्थानमा हाल आन्तरिक पर्यटकको पनि आगमन हुने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ। सो कार्यालयका अनुसार बाह्य पर्यटकको संख्या संकलन गर्ने भए पनि आन्तरिक पर्यटकको संख्या टिपोट गरिएको हुँदैन। 

बाह्य पर्यटकले पदयात्रा बढी मन पराउँछन् भने आन्तरिक पर्यटक सवारी साधनमार्फत यहाँ आउने गर्दछन्। विदेशी पर्यटक पदयात्राकै क्रममा यहाँको मनमोहक दृश्यमा रमाउन रुचाउँछन्। विदेशीले बिरामी भएमा मात्रै सवारी साधन प्रयोग गर्ने गरेको पाइएको एक्यापले जनाएको छ।

पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बेमौसममा कम मात्रामा यहाँ बाह्य पर्यटक आउने गरेको जानकारी दिए। उनले भने, 'याम सुरु भयो, अब पर्यटक आउने क्रम बढेको छ, बाह्यसँगै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने क्रममा रहेको छ।' अझै मध्य याममा यहाँ पर्यटक बढ्ने उनले बताए। मनाङ पर्यटकको ‘हब’का रुपमा विकास हुँदै गएको गुरुङले बताए। मनाङ पर्यटकको हबमा विकास हुँदै गर्दा यहाँ पर्यटक रहनका लागि व्यवस्थापनमा स्थानीयको जोड छ।

images

मनाङ ङिस्याङ गाउँपालिका-१ पिसाङ निवासी ७९ वर्षीय याङदुङ गुरुङले विदेशी पर्यटकसँगै यस याममा यहाँ आन्तरिक पर्यटक बढी आउने समय भएको बताए। उनले भने, 'पहिले विदेशी मात्रै हुन्थे, अहिले विदेशीसँगै नेपाली पर्यटक धेरै आउँछन्, मौसममा पिसाङमा रहेका ४८ होटल पूरै भरिन्छन्।' याम सुरु भएकाले पर्यटक दैनिक रुपमा बढ्दै गएका उनले बताए।

दैनिक रुपमा यहाँ पर्यटक आउने क्रम बढ्दै गएको छ। अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय (एक्याप) का प्रमुख ढकबहादुर भुजेलले दैनिक रुपमा मनाङमा पर्यटक आउने क्रम सुरु भएको जानकारी दिए। उनका अनुसार यहाँ दैनिकरुपमा ७० भन्दा बढी पर्यटकको आगमन हुने गरेको छ। उनले भने, 'बिस्तारै यहाँ आउने पर्यटक बढ्दै गएका छन्, यहाँका होटल पूर्णरुपमा भरिभराउ हुने गर्दछन्।'

दुई सिजन गरी मनाङमा पर्यटक घुम्न आउने गर्दछन्। हिमाल, उच्च पहाडका दृश्यावलोकन, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी कोही मुस्ताङ त कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका-७ मनांगे चौताराबाट पदयात्राको सुरुवात हुन्छ।

अन्नपूर्ण पदमार्ग लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्लामा जोडिएको छ। काठमाडौंदेखि बेँसीसहरसम्म सवारी साधनमार्फत पर्यटक आउने गर्दछन् भने पदमार्गबाट मनाङका विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्दै यात्राको सुरुवात गर्दछन्।


प्रकाशित : आइतबार, भदौ ३१ २०८००८:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend