आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

एनआईसी एसिया बैंकको लाभांश वितरणको प्रस्ताव पारित, सेयर र नगद कति?

शुक्रबार, भदौ २९ २०८०
एनआईसी एसिया बैंकको लाभांश वितरणको प्रस्ताव पारित, सेयर र नगद कति?

काठमाडौं- एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७९/८० मा वितरणयोग्य नाफाबाट ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५ प्रतिशत  नगद लाभांश गरी कुल ३०.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।

बैंकले वितग २ वर्षसम्म लगानी कर्तालाई लाभांश वितरण गरेको थिएन। गत आर्थिक वर्ष यस बैंकले ४ अर्ब ६५ करोड नाफा गरेको थियो। नाफा नोक्सान बाडफाँट हिसाब खातामा राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार जेगडा कोषमाहरूमा रकम जम्मा गरेपछि यस बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७० करोड रुपैयाँ रहेको थियो।  

वितरणयोग्य नाफामा अघिल्लो दुई वर्षको सञ्चित नाफा (रिटेन अर्निङ) पनि समावेश छ। हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले गएको आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट करिब ३२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमतामा थियो तर बैंकले केही मात्रै कम गर्दै ३०.५ प्रतिशत लाभांस प्रस्ताव गरेको हो।

आर्थिक वर्ष २०७६/७७ मा यस बैंकले २० प्रतिशत लाभांश दिएको थियो। यस्तै यस बैंकले आर्थिक वर्ष २०७५/७६ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १०.५२ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा २७.३७ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा ४१.०५ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ३० प्रतिशत र आर्थिक वर्ष २०६९/७० मा २० प्रतिशत लाभांश वितरण गरेको थियो।

आर्थिक वर्ष २०७९/८० को वित्तीय वितरणनुसार बैंकको अधिकांश सुचकहरू सकारात्मक देखिन्छ। गत वर्ष बैंकको प्रतिसेयर नेटवर्थ पनि ३८.८९ रुपैयाँले बढेको छ भने प्रतिशेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ।

हालसम्म बैंकले २ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा ३ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको कुल कर्जा पोर्टफोलियो मध्ये ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। बैंकको निष्कृय कर्जा अनुपातलाई ०.८० प्रतिशतमा सीमित रहेको छ।  बैंकले आव२०७९/८० मा ६ लाख बढी नयाँ ग्राहकहरू थप गर्दै ३८ लाखभन्दा बढी बनाएको छ।

बैंकको ३६० शाखा कार्यालयहरू, ५५९ एटीएम, १११ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ। गत आर्थिक वर्षसम्म यस बैंकका सेवाग्राहीको संख्या ३८ लाख पुगेको बैंकको दाबी छ। 

बैंकले हालसम्म नेपाल सरकारलाई २३ अर्ब ५८ करोड रुपैयाँ कर तिरेको छ। गत वर्ष मात्रै यस बैंकले ३ अर्ब ६६ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाएको दावी गरेको छ।


प्रकाशित : शुक्रबार, भदौ २९ २०८००५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend