आइतबार, पुस ७ गते २०८१    
images
images

भरतपुरमा दुई युवाको व्यावसायिक सयपत्री फूलखेती, एकैयाममा २० लाखसम्म आम्दानी गर्ने लक्ष्य

images
बुधबार, भदौ २७ २०८०
images
images
भरतपुरमा दुई युवाको व्यावसायिक सयपत्री फूलखेती, एकैयाममा २० लाखसम्म आम्दानी गर्ने लक्ष्य

फूलमा नेपाललाई आत्मनिर्भर गराउने उद्देश्यले विभिन्न जिल्लामा क्षेत्र विस्तारको योजना रहेको उनीहरु बताउँछन्।

images
images

देउखुरी- लहरै रोपिएका सयपत्री फूलका बिरुवा। कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा जुटेका छन् व्यावसायी दशरथ साउद। वाणगंगा नगरपालिका कपिलवस्तुका भाष्कर पँगेनी र दशरथले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेका छन्।

images
images
images

उनको फूल खेतीमा पुग्दा जो सुकैको मन आनन्दित हुन्छ। तिहार लक्षित गरेर रोपिएका सयपत्री सबैको ध्यान तान्ने भएका छन्। भास्करसँगै व्यवसायमा जोडिएका प्राविधिक सहायक दशरथले फूल खेतीको प्रविधिक पक्ष हेर्ने गरेका छन्। कृषि प्राविधिक पढेर कृषिमा लागेका दशरथले फूल खेती अवलोकन गर्न आउनेहरूलाई प्राविधिक ज्ञान दिने गरेका छन्।

images

कपिलवस्तुमा पाँच वर्षपहिले देखि फूल खेती गरिसकेका भास्कर र दशरथले दुई वर्षअघि देखि दाङमा व्यावसायिक फूल खेती विस्तार गरेका छन्। दाङको घोराही-१५ भरतपुरमा १७ कट्ठा र घोराही-१२ शिवपुरमा १३ कट्ठा जमिन भाडामा लिएर उनीहरूले व्यावसायिक फूल खेती गरेका छन्।

images

गत वर्ष तिहारको समयमा फूलमात्रै १३ लाख रूपैयाँको बिक्री गरेको दशरथले बताए। तिहारभन्दा पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पोर्ट’ बनाएर पाँच लाख रूपैयाँ आम्दानी गरेको उनले बताए। यसपालि एकै याममा १५ देखि २० लाख रूपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

गत वर्ष कर्मा पाँच सय ५५ जातको सयपत्री फूल खेती गरेका थिए भने यसपालि ‘कर्मा त्रिपल एक ओरेन्ज’, ‘कर्मा त्रिपल आठ एल्लो’, ‘कर्मा त्रिपल फाइभ ओरेन्ज’, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा रोपिएका छन्।

एक लाख तीन हजार रूपैयाँको बीउ किनेर बेर्ना राखेको दशरथले बताए। सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर बेर्ना उमारेको उनले जानकारी दिए। 'यसपालि दुई लाख बिरुवा बेर्ना बिक्री भैसक्यो, बिरुवाको जात हेरेर? दुईदेखि ५० सम्म रूपैयाँमा बिक्री हुने गरेको छ, बेर्ना बिक्री गरेर पनि आम्दानी गर्ने गरेका छौँ', उनले भने। 

कपिलवस्तुमा पहिलेदेखि नै फूल खेती भइरहेको तथा यस वर्षदेखि कोहलपुर र कैलालीमा फूल खेती विस्तार गरिएको उनले बताए। युवाहरू वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्करको भनाइ छ। बेरोजगार युवाहरूलाई कृषिमा जोड्ने उद्देश्यले उक्त फार्मको नाम नै एक सय आठ राखेका छन्।

फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ। यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको उनले बताए।

जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके आयआर्जनको बलियो आधार हुने उनी बताउँछन्। यसपालि फूल खेतीको क्षेत्र विस्तार गरेकाले उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने उनको धारणा छ। फूलमा नेपाललाई आत्मनिर्भर गराउने उद्देश्यले विभिन्न जिल्लामा क्षेत्र विस्तारको योजना रहेको भास्करले बताए। रासस


प्रकाशित : बुधबार, भदौ २७ २०८०११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend