शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

रोल्पाको प्राथमिकतामा कृषि : दूध, केरा र तरकारीमा अनुदान, कृषि एम्बुलेन्स खरिदका लागि छुट्याइयो ३० लाख

images
images
images
रोल्पाको प्राथमिकतामा कृषि : दूध, केरा र तरकारीमा अनुदान, कृषि एम्बुलेन्स खरिदका लागि छुट्याइयो ३० लाख

नगरपालिकाले चालु आर्थिक वर्षमा चिस्यान गृह निर्माण गर्ने कार्यक्रम अघि सारेको छ। त्यसका लागि नगरपालिकाले एक करोड रूपैयाँ बजेट विनियोजनसमेत गरेको छ। विदेशबाट फर्केका ४२ युवालाई स्वदेशमै स्वरोजगार बनाउने कार्यक्रमसमेत नगरपालिकाले अघि सारेको छ।

images
images

रोल्पा- कृषि क्षेत्रमा ठूलो लगानी भए पनि प्रतिफल नदेखिएको भन्दै आलोचना भइरहेको बेला रोल्पा नगरपालिकाले भने कृषिमा प्रतिफल देखिने गरी काम अघि बढाएको छ। 

images
images
images

नगरपालिकाले मध्यम स्तरको कृषि जनशक्ति उत्पादन देखि उत्पादनमा आधारित अनुदानसम्मका कार्यक्रम अघि सार्दै कृषकले अनुभूति गर्ने गरेर काम अघि बढाएको छ। कृषि र पशु विज्ञान अध्ययन गर्नेहरुका लागि नगरपालिकाले हरेक वर्ष निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ।

images

तीनवर्षे डिप्लोमा तहको पठनपाठनका माध्यमबाट मध्यमस्तरको जनशक्ति तयार भइ नगरभित्रको कृषि प्राविधिकको आवश्यकता पूरा हुने नगरपालिकाले अपेक्षा लिएको छ। त्यसका लागि वडा नं १ मेवाङमा रहेको बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने गरेको छ। चालु आर्थिक वर्ष नगरपालिकाले सात जनालाई बाली विज्ञान र सात जनालाई पशु विज्ञानमा छात्रवृत्ति दिन कार्यक्रम अघि सारेको छ।

images

नगरपालिकाले वडा नं ३ र ४ लाई दूध पकेट क्षेत्रका रुपमा विकास गर्न अघिल्लो वर्ष ४० उन्नत जातका भैँसी वितरण गरेको जनाएको छ। नगरपालिकाले किसाहरुलाई घरमै प्राविधिक सहायता र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाइएको जनाएको छ। किसानहरुले उत्पादन गरेको दूध सहज खपतका लागि सदरमुकाम लिवाङमा दुग्ध सहकारीसमेत स्थापना गरिएको छ।

images
images

नगरपालिकाको सहजीकरणमा दुग्ध किसानहरुले गत वर्षको पुसमा उक्त सहकारी स्थापना गरेका थिए। सहकारी स्थापना भएयता कृषकहरुले करिब ३० हजार लिटर दूध बिक्री गरेको सहकारीले जानकारी दिएको छ। उक्त दूधको नगरपालिकाका तर्फबाट प्रतिलिटर पाँच रूपैयाँका दरले अनुदान दिने गरिएको छ। हालसम्म किसानहरुले करिब एक लाख ५० हजार रूपैयाँ अनुदान लिइसकेका छन्। 

नगरपालिकाले चालु आर्थिक वर्षदेखि वडा नं १ देखि ७ सम्मलाई ‘मिल्क करिडोर’ बनाउने गरि कार्यक्रम तय गरिएको नगरप्रमुख सुरेन्द्र थापा घर्तीले जानकारी दिए। नगरपालिकाले चालु आर्थिक वर्षमा उन्नत जातका ४० गाई वितरण गर्ने योजना अघि सारेको छ। त्यसका लागि नगरपालिकाले ४० लाख रूपैयाँ बजेटसमेत विनियोजन गरेको जनाएको छ। किसानले उत्पादन गरेर बढी भएको दूध जिल्लाबाहिर लैजान नगरपालिकाले सहजीकरण गर्नेसमेत नगर प्रमुख घर्तीमगरले जानकारी दिए।

कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणका लागि कृषि हाट बजारसमेत सञ्चालनमा आएको छ। केही समय कर्मचारी मिलन केन्द्र नजिकै स्थापना गरिएको उक्त हाट बजार केही दिनयता हाट बजार केन्द्रबाटै सञ्चालन भइरहेको छ। हाट बजार सञ्चालन भएयता कृषकहरुले झन्डै ५० हजार किलो तरकारी बिक्री वितरण गरेका छन्। 

व्यावसायिक किसानहरुलाई प्रोत्साहित गर्न नगरपालिकाले तरकारीमा प्रतिकिलो पाँच र केरामा प्रतिगोटामा दुई रूपैयाँका दरले ढुवानी अनुदान दिने गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा चिस्यान गृह निर्माण गर्ने कार्यक्रम अघि सारेको छ। त्यसका लागि नगरपालिकाले एक करोड रूपैयाँ बजेट विनियोजनसमेत गरेको छ।

यसका साथै कृषि एम्बुलेन्स खरिदका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। यसै वर्षदेखि कृषि उपजको समर्थन मूल्य कायम गरि नगरपालिकाबाटै खरिद, भण्डारण तथा बजार व्यवस्थापनको प्रबन्ध मिलाउने नगरपालिकाको भनाइ छ।

विदेशबाट फर्केका ४२ युवालाई स्वदेशमै स्वरोजगार बनाउने कार्यक्रमसमेत नगरपालिकाले अघि सारेको छ। कृषि र पशुजन्य क्रियाकलापबाट स्वरोजगार बनाउँदै उद्यमशील बनाउन नगरपालिकाले अघिल्लो वर्ष १७ लाख २० हजार रूपैयाँ अनुदान वितरण गरेको थियो। पहिलो चरणमा ३२ युवालाई तीनदिने व्यावसायिक पशुपालन तालिम प्रदान गरेको नगरपालिकाले जनाएको छ। बाख्राको नस्ल सुधारका लागि नगरपालिकाले ५० बोयर बोका किसानलाई वितरण गरेको जनाएको छ। रासस

images

प्रकाशित : बुधबार, भदौ २७ २०८००७:३०

प्रतिक्रिया दिनुहोस