आइतबार, वैशाख २३ गते २०८१    
images
images

४० अर्ब लागत अनुमान भएको विस्तारित वीर अस्पताल निर्माणमा के चीनले गर्लात लगानी?

images
images
images
४० अर्ब लागत अनुमान भएको विस्तारित वीर अस्पताल निर्माणमा के चीनले गर्लात लगानी?
images
images

काठमाडौं- वीर अस्पताल विस्तार गरी नेपालीलाई नेपालभित्रै विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अस्पताल निर्माण गर्ने विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण एजेन्डामा पर्ने भएको छ।

images
images
images

अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्‍न अस्पताल निर्माणमा विदेशी दाता तथा लगानीकर्ता पनि सकारात्मक नै थिए। त्यसमा पनि चिनियाँको बढी चासो रहेको थियो। चिनियाँ चासो बढेसँगै प्रधानमन्त्रीको चीन भ्रमणमा लगानी जुटाउन यो विषय राखिने भएको अर्थ मन्त्रालयले जनाएको छ।

images

मन्त्रालयका अनुसार सबै मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमण एजेन्डा तय गरिरहेका छन्। सोही क्रममा अर्थ मन्त्रालयले पनि विस्तारित वीर अस्पतालन निर्माणमा लगानी जुटाउने विषय एजेन्डामा राखेर परराष्ट्र मन्त्रालयमा पठाएको छ। प्रधानमन्त्री दाहाल यही भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिका जाँदै छन्। महासभामा भाग लिएर प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने तयारीमा छन्।

images

४० अर्ब रूपैयाँभन्दा बढीको लगानी आवश्यक हुने वीर अस्पताल स्तरोन्नति परियोजनाका लागि सरकारले उत्तरी छिमेकी चिनियाँ सहायताको खोजी गरेको हो। सबै नेपालीलाई आधुनिक स्वास्थ्य सुविधा उपलब्ध गराउनेगरी निर्माण हुने यो अस्पतालका लागि सहायताका लागि चिनियाँ पक्षसँग पहिलेदेखि नै छलफल भएको र अहिले भ्रमण एजेन्डामा राखिएको अर्थसचिव अर्जुन पोखरेलले बताए।

images
images

यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा सम्झौता हुन सक्नेसमेत बताइएको छ। प्रधानमन्त्री दाहालकै अग्रसरतामा यो विषय भ्रमण एजेन्डामा समेत राखिएको अर्थ मन्त्रालयको भनाइ छ। वीर अस्पताल स्रोतका अनुसार भ्रमणको एजेन्डमा यो परियोजना पनि समावेश भएको छ।

यसअघि चिनियाँ पक्षले लगानी गर्ने तयारी हुँदै गर्दा सबैभन्दा पहिले निर्माणस्थल तयार हुनुपर्ने सर्त राखेको थियो। निर्माणस्थलमा हुनुपर्ने पूर्वतयारीका काम सकिएको हुनुपर्ने चिनियाँ पक्षको सर्त थियो। अहिले अस्पताल निर्माणका लागि आवश्यक पूर्वतयारी अन्तिम चरणमा पुगेको छ। अहिले अस्पताल निर्माणको डीपीआर तयार गर्ने कामसमेत सुरु भइसकेको छ।

वीर अस्पताल विस्तार प्रक्रिया कहाँ पुग्यो?

वीर अस्पताल आधुनिकीकरण गर्ने योजना धिमा गतिमा अगाडि बढेको छ। २०७८/०७९ को बजेटमा नै तीन वर्षभित्र वीर अस्पतालाई विस्तार गरी नेपालीलाई नेपालभित्रै विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अस्पताल निर्माण गर्ने विषय उल्लेख थियो। तर सरकारी काम गराइको प्रकृतिलाई हेर्दा तीन वर्षभित्र काम सम्भव देखिएको छैन।

अहिले अस्पताल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन भने भइसकेको छ। अस्पताल निर्माण स्थलसम्म पुग्ने सडक र विद्युत पूर्वाधार तयार भएको छ। अस्पताल निर्माणका लागि डीपीआर बनाउने काम सुरु भएको छ। 

आर्थिक वर्ष २०७३/०७४ को बजेटबाट वीर अस्पतालको स्तरोन्नति गर्दै विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अस्पताल निर्माण गर्ने विषय घोषणा भएको थियो।

एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री हुँदा आएको उक्त बजेटमा स्वास्थ्य सेवामा सहज पहुँचसँगै अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न अस्पतालका रुपमा वीर अस्पतालको स्तरोन्नति गर्ने घोषणा भएको थियो। पौडेलले ल्याएको बजेटमा सबै नेपालीलाई नेपालभित्रै विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वीर अस्पताललाई काठमाडौं उपत्यकाभित्रको उपयुक्त स्थानमा न्यूनतम पाँच सय रोपनी क्षेत्रफलमा अत्याधुनिक भौतिक पूर्वाधार, यन्त्र उपकरण र विशेषज्ञ सेवासहितको अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न अस्पतालको रूपमा विकास गरिने विषय समावेश थियो।

उनले ल्याएको बजेटमा सोही आर्थिक वर्षमा जग्गा पहिचान र गुरुयोजना तयारी गरी निर्माण कार्य आरम्भ गरिने विषय समावेश थियो। 

बजेट ल्याएको केही समयमा नै केपी शर्मा ओली नेतृत्वको सरकार हट्यो। नेपालभित्रै विशेषज्ञ चिकित्सकसहितको अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी वीर अस्पतालको विस्तारित संरचना निर्माणको विषय केही समय रोकियो। तत्कालीन समयमा अस्पताल निर्माण तथा सञ्चालनको अधिकार क्षेत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भएपनि सरोकारवाला निकायसँगको छलफलमा पौडेलले नै बजेटमा राखेका थिए। 

अस्पताल निर्माणका लागि आवश्यक रकम जुटान कुनै समस्या नहुनेमा पौडेले विश्वस्त थिए। अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्‍न अस्पताल निर्माणमा विदेशी दाता तथा लगानीकर्ता पनि सकारात्मक नै थिए। मात्रै सरकारले प्रक्रिया सुरु गर्नु पर्ने भन्दै पौडेलले यो कार्यक्रम अघि बढाएका थिए। साथै जग्गा खोजी गर्ने विषय उनैले सुरु गरेका थिए।

पुन: २०७७ असोजमा पौडेल अर्थमन्त्री बने। उनले २०७८/०७९ को लागि अध्यादेशमार्फत ल्याएको बजेटमा यो विषय पुन: उठान गरे। उनले उक्त समयमा आवश्यक पूर्वाधार निर्माणका लागि बजेट समेत छुट्याए।

पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमा वीर अस्पतालको विस्तारित सेवा सञ्‍चालन गर्न भक्तपुरको दुवाकोटमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्‍न अस्पताल निर्माण गरिने विषयमा समावेश गरे। तीन वर्षभित्र निर्माण सम्पन्‍न गरी सेवा सञ्‍चालन गर्ने लक्ष्यका साथ अर्को आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन लगायत पूर्वतयारी कार्य सम्पन्‍न गरिने विषय पौडेलले समावेश गरेका थिए।

भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन एकैसाथ पूरा गरी अस्पताल सञ्‍चालनमा ल्याइनेसमेत पौडेलले बजेटमा समावेश गरेका थिए। उनले उक्त परियोजनलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी छुट्टै आयोजना कार्यालयमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने विषय उल्लेख गरेका थिए। काठमाडौंको जडीबुटीदेखि अस्पताल निर्माणस्थलसम्म मनोहरा नदीको दुवै किनारामा चार/चार लेनको करिडोर सडक निर्माण गरिने विषयसमेत समावेश भएको थियो।

सबै नेपालीलाई सुलभ स्वास्थ्य सेवा नेपालमै दिने उद्देश्यले अघि बढेको कार्यक्रमले पाउनुपर्ने प्राथमिकता नपाएको एमाले नेता तथा पूर्वअर्थमन्त्री पौडेल बताउँछन्। 

‘नेपालमा अहिलेको समयमा स्वास्थ्य सेवा गुणस्तरीय हुन सकेको छैन। एकातिर गम्भीर रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ भने अर्कोतिर आय नहुने नेपालीले उपचार सेवा नपाउने अवस्था छ। यस्तोमा गुणस्तरीय सेवाका लागि वीर अस्पताललको स्तरोन्नति गर्ने काम जसले ल्याएको भएपनि तदारुकताका साथ अघि बढ्नुपर्ने थियो’ पौडेल भन्छन्। 

नेपालबाट बर्सेनि उपचारका नाममा अर्बौ रकम बाहिरिने भएपनि ठ्याक्कै कति बाहिरिन्छ भन्ने आँकडा भने छैन। क्यान्सरलगायतका रोकको उपचारका लागि धेरैजसो सक्ने नेपालीहरू भारत जाने गरेका छन्। उच्च आय हुने तथा सरकारी सहायता पाउनेहरू तेस्रो मुलुकमा जाने भएपनि अधिकांश नेपालीहरू विदेश जान्छन्। यस्तो अवस्थामा सबै नेपालीलाई जस्तोसुकै रोगको पनि नेपालमै उपचार हुनेगरी वीरलाई नै स्तरोन्नति गर्नुपर्छ भनेर आफूले कार्यक्रम ल्याएको पौडेलको भनाइ छ। 

स्वास्थ्य उपचारमा बाहिरिएको रकममात्रै रोक्न सके पनि देश विकासका ठूलो  सहयोग पुग्ने र जनताले पनि सहजै रुपमा स्वास्थ्य सेवा लिन पाउने अवस्था खडा गर्ने पौडेलको लक्ष्य थियो। 

स्तरोन्नति गर्ने योजना अलपत्र परेको नभइ विस्तारै काम अघि बढेको वीर अस्पतालका प्रमुख सन्तोष पौडेल बताउँछन्। भक्तपुरको दुवाकोटमा अस्पताल निर्माणका लागि ५ सय ७० रोपनी जग्गा अस्पतालको नाममा आइसकेको उनले बताए। अस्पताल निर्माणस्थलमा पुग्ने सडक मार्गसमेत खुलेको छ। उक्त स्थानमा बिजुली र पानीलगायतका पूर्वाधार तयार भइसकेको उनको भनाइ छ। 

विशिष्टिकृत सेवा दिने योजनाअनुसार यो अस्पताल निर्माण हुन लागेको वीर अस्पतालका प्रमुख पौडेल बताउँछन्।

दुवाकोटमा निर्माण हुने अस्पतालमा देशभरका अन्य अस्पतालबाट रिफर भएका आएका बिरामीको उपचार गर्ने गरी सुविधा सम्पन्न रपमा काम हुने छ। अस्पताल निर्माणका लागि अहिले डीपीआर निर्माणको कामसमेत भइरहेको छ। भवन विभागले अहिले डीपीआरको काम गरिरहेको उनको भनाइ छ। 

बजेटको कुनै पनि अभाव नहुने अस्पताल परियोजनाको निर्माणमा यो स्तरको ढिलाइ हुन नहुने पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ। ‘मैले बजेटमा कार्यक्रम राख्दा पनि यसमा लगानीको कुनै पनि अभाव हुने सम्भावना थिएन। स्वास्थ्य पूर्वाधारमा लगानी गर्न जो पनि तयार हुन्छन्’ उनले भने, 'स्रोतको समस्या छैन, आवश्यकता पनि छ, के बनाउने भन्ने कुरा पनि प्रष्ट छ, यति भएपछि ढिला किन भइरहेको छ मैले बुझ्न सकेको छैन।’ 

images

प्रकाशित : मंगलबार, भदौ २६ २०८००२:१५

प्रतिक्रिया दिनुहोस