बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष

images
सोमबार, भदौ २५ २०८०
images
images
डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष

अहिले डोको बिक्री हुन छाडेको उनी बताउँछन्। आफू बजार जान नसकेको र व्यापारी गाउँमा नआउँदा बुनेको डोको घरमै थन्किएको उनले बताए।

images
images

मलेखु- धादिङको गजुरी गाउँपालिका-४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ। चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ। उनको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन।

images
images

आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन्। गाउँमा खानेपानी र विद्युतको क्षेत्रमा विकास हुँदैछ। डोको बेचेरै जीविकोपार्जन गरिरहेका चेपाङको खिया लागेका जस्ताको छानो फर्ने सपना भने अझै अधुरै छ।

images
images

'पहिला डोको, भकारी जतिपनि बिक्थ्यो। बोकेरै बजार लगेर १० रूपैयाँमा बेच्दा पनि छोराछोरी पाल्न पुग्थ्यो', चेपाङले भने, 'अहिले बजारमा डोको बिक्न छोड्यो।' चौकीभञ्ज्याङ र आसपासका सबैको पुर्ख्यौली पेसा डोको, डालो र भकारी बुन्ने भए पनि प्लास्टिकका सामग्रीले बजार भरिएसँगै निगालो र बाँसबाट बुनेका डोको घरमै थन्किएर बसेका उनले बताए।

images
images

चेपाङ कतिले पुर्ख्यौली पेसा छाडेर विकल्प पनि खोजिसकेका भन्दै उमेरले ७० वर्ष नाघिसकेकाले पुर्ख्यौली पेसा छाडेर कहीँ जान सक्ने अवस्था नरहेको बताए उनका अनुसार डोको बिक्न छोडेपछि आम्दानीको स्रोत टुटेको छ।

डोको बुन्ने पेसाबाटै बालबच्चा हुर्काएका चेपाङलाई अहिले जीवन धान्नै मुस्किल भएको छ। 'हाम्रो मात्र होइन गाउँमा सबैको मुख्य काम भनेकै डोको बुन्ने र बजारमा लगेर बिक्री गर्ने थियो। अहिले डोको, डालो र भकारी बुनेर घरखर्च चल्न छोड्यो, अरु पेसा गर्न उमेरले दिँदैन', उनले भने, 'अहिले डोको नै बिक्दैन। म बुढो मान्छे बजारसम्म पुर्‍याउन पनि सक्दिन। किन्न व्यापारी गाउँ आउदैनन्। पुर्ख्यौली पेसा भनेर मात्रै गरिरहेका हौँं। डोको बुनेर दुई छाकको जोहो गर्नै मुस्किल छ।'

विसं २०३५ तिर डोको बुनेर बिक्री गर्दा दश रूपैयाँसम्म आम्दानी हुने गरेको अनुभव चेपाङले सुनाए। 'त्यस समयमा दुई रूपैयाँमा एक पाथी नून, ६ रूपैयाँमा एक लिटर खाने तेल पाइन्थ्यो। दैनिक १०/१२ वटा बेच्दा मनग्य आम्दानी हुन्थ्यो', उनले भने, 'अहिले बजारमा डोको बिक्री हुदैन। डोको बुन्ने, थुपार्ने र व्यापारी कुर्ने काम मात्र भइरहेको छ।'

उनका अनुसार पहिला बजारको पनि कुनै समस्या थिएन। उनकी श्रीमती तिलकुमारी चेपाङले पनि डोको र भकारी बोकेर अन्नपात साटेको अनुभव सुनाइन्। 'त्यतिबेला एउटा डोको साट्दा एक पाथी अन्न आउँथ्यो। पछि डेढ दुई सयमा बिक्न थाल्यो। त्यति हुँदा घरखर्च चलाउन सजिलो थियो', तिलकुमारीले भनिन्, 'अचेल त किन्ने मान्छे नै आउँदैनन्। भोलिपर्सी कतै माग भइहाल्यो भने बेचौँला भन्ने झिनो आशा छ।'

डोकोको आकार हेरेर तीन सयदेखि पाँच सय रूपैयाँसम्म र खांग्रेको एक हजार रूपैयाँसम्म बिक्री हुनुपर्ने नेवारबाँसका ४० वर्षीय रामबहादुर प्रजाले बताए। निकै सस्तो मूल्यमा दिँदा पनि डोको बिक्री हुन छाडेको उनको भनाइ थियो। 'गाउँदेखि पृथ्वी राजमार्ग पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ। ६ देखि बढीमा १० वटासम्म बोकेर लान सकिन्छ। बिक्री गर्न गजुरी, घाटबेँशी, मलेखु, आदमघाटसम्म लैजाने गरेका छौँ', उनले भने।

प्रविधिको विकाससँगै डोको बुन्नेको पेसा नै संकटमा परेको जीतबहादुर चेपाङले बताए। पछिल्लो समय डोकोको प्रयोगमा नै कमी आएको उनको भनाइ थियो। 'गाउँमा बाँस र निगालो प्रशस्त पाइन्छ। सबैले डोको बुन्न पनि जानेका छन्', उनले भने, 'अहिले गाउँमा सडक आइपुगेका छन्। मानिसले बोक्ने भारी सवारीले बोक्छन्। डोकोको प्रयोगको सट्टा अन्य प्लाष्टिकका सामग्रीको प्रयोग गर्ने धेरै छन्। यसले हाम्रो पुर्ख्यौली पेसा संकटमा पर्दै गएको हो।'

चौकी भञ्ज्याङ नेवारबासमा ९२ घर परिवार छन्। उनीहरुको मूख्य पुर्ख्यौली पेसा डोको बुनाइ हो। तर पछिल्लो समय डोको बिक्न छाडेपछि उनीहरुले विकल्प खोज्न थालेका छन्। रासस


प्रकाशित : सोमबार, भदौ २५ २०८००९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend