आइतबार, असोज ६ गते २०८१    
images
images

पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’ 

images
आइतबार, भदौ २४ २०८०
images
images
पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’ 

पार्कभित्रको उत्तरतर्फ बालबालिकाका लागि बाल उद्यानसँगै ‘बेबी रेल’, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुलको पनि निर्माण गरिएको छ।

images
images

दाङ- विसं २०५९ माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिनका लागि भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ। तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको उक्त उद्यान (पार्क) मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउने गरेका छन्। 

images
images
images

उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक चार सयदेखि पाँच सयको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका पार्क व्यवस्थापन समितिले जनाएको छ। समितिका कर्मचारी खेतुप्रसाद भण्डारीले पार्कमा दिनहुँ भिड हुने गरेको भन्दै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक संख्या बढिरहेको जानकारी दिए।

पार्क अवलोकन गर्न आउनेबाट प्रतिव्यक्ति ३० रूपैयाँ शुल्क निर्धारण गरिएको जानकारी दिँदै भण्डारीले वनभोज खान आउने समूहबाट तीन सय रूपैयाँदेखि पाँच सय रूपैयाँसम्म शुल्क लिने गरिएको बताए। उनका अनुसार अहिले पार्कमा सात जनाले रोजगारी पाएका छन्।

सबै व्यवस्थापकीय खर्च कटाएर वार्षिक ४० देखि ४५ लाख रूपैयाँ बचत हुने गरेको उद्यानका कर्मचारी भण्डारीले जानकारी दिए। '१५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ', उनले भने, 'राप्ती राजमार्गअन्तर्गत तुलसीपुर सल्यान सडकखण्डको तीन किलोमिटर उत्तरमा श्रीगै गाउँबाट डेढ किमी पूर्वमा पर्ने उक्त पार्कको पूर्व दक्षिण सिमानामा वन तथा जंगल, पश्चिम तथा उत्तरतर्फ गणेशपुर गाउँ पर्दछ।'

images

भण्डारीका अनुसार पार्कभित्रको उत्तरतर्फ बालबालिकाका लागि बाल उद्यानसँगै ‘बेबी रेल’, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुलको निर्माण गरिएको छ। पार्क वरपर चराचुरुंगीको मधुर स्वर सुन्न पाउनुका साथै प्राकृतिक तथा जैविक विविधताले भरिएको रमणीय वातावरण रहेको उनको भनाइ थियो।

त्यस्तै, उत्तरतर्फ मिनि चिडियाखाना निर्माण गरिएको छ। यहाँ चितुवा, दुम्सी, घोरल, खरायो, मृग, चिल, उल्लुलगायत विभिन्न प्रजातिका जनावर र पशुपक्षी राखिएका छन्। 'पार्कभित्रको मुख्य आकर्षण भनेको भगवान गौतमबुद्धको मूर्ति हो', भण्डारीले भने, 'मूलगेटबाट पार्कभित्र प्रवेश गरेपछि सुरुमै बुद्धको मूर्ति देख्न सकिन्छ। यो मूर्ति राखेसँगै पर्यटकको संख्यामा बढेको हो।' उनका अनुसार पार्कसँगै जोडिएको जंगलमा वनभोज खानका लागि एक दर्जनबढी वनभोज स्थल निर्माण गरिएका छन्।

खानेपानी, शौचालयदेखि वनभोज खान आउनेलाई आवश्यकपर्ने भाँडाकुँडा, दाउरा तथा ग्यासको सुविधा पनि पार्कमा रहेको समितिका कर्मचारी भण्डारीले जानकारी दिए। पछिल्लो समयमा मगर संस्कृति झल्कने गुन्यो, चोलोलगायतका पोसाकको पनि व्यवस्था गरिएको जनाउँदै उनले यहाँ आउने पर्यटकले ती पोसाक लगाएर फोटो खिच्ने, टिकटक बनाउन गर्ने गरेको बताए।

द्वन्द्वका समयमा शान्तिको सन्देश दिनका लागि भन्दै स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यहाँका नागरिक अगुवा तथा बुद्धिजीवी, व्यापारी, सरकारी निकायलगायतको पहलमा उद्यान निर्माण गर्ने निर्णय गरिएको थियो।

पार्क निमार्णका लागि आवश्यक पर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको समितिले जनाएको छ। विसं २०५९ माघ ८ गतेदेखि यहाँ पार्क निर्माण सुरु गरिएको थियो। सुरुको दिनमा यहाँ धेरै झाँडी तथा बुट्यान रहेकाले उक्त झाँडी तथा बुट्यानको फँडानी गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय, तथा नागरिक अगुवाले योगदान गरेका समितिका अध्यक्ष डिल्ली भण्डारीले जानकारी दिए।

सुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट साढे ३७ लाख रूपैयाँ अनुदान प्राप्त भएपछि पार्क निर्माण थालिएको व्यस्थापन समितिले जनाएको छ। पछि पटकपटक गरी सरकारी निकाय, तुलसीपुर उपमहानगर नगरपालिका, यस क्षेत्रका जनप्रतिनिधिलगायतबाट पाँच करोड रूपैयाँ संकलन भइ सीमितको कार्यालय भवन, पर्खाल, शौचालय, गेट, वनभोज स्थललगायतका चिडिया खाना, गौतमबुद्धको मूर्तिलगायतका पूर्वाधार निर्माणमा गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए। उनका अनुसार यस आर्थिक वर्षमा पनि विभिन्न निकायबाट पार्कका लागि रकम विनियोजन भएको छ।

उद्यानको अवलोकन गर्न बर्दियाको गेरुवा गाउँपालिकाबाट शनिबार यहाँ आउनुभएका शिवनारायण चौधरीले भने, 'पार्क देख्दा आनन्द आयो, पार्कका बारेमा धेरैबाट सुनेकी थिए। आज प्रत्यक्ष घुम्न पाउँदा यहाँको सुन्दरताले आनन्दित बनाएको छ।'

विगतका वर्षमा नागरिक तथा वन समूहका उपभोक्ताको श्रमदान र राज्यका निकायले गरेको सहयोगले अहिले उक्त पार्क जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित रहेको व्यवस्थापन समितिका अध्यक्ष भण्डारीको भनाइ थियो।

'झाँडी र निलकाटा मात्र रहेको ठाउँ अहिले यहाँका वन समूहका उपभोक्ता, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, नागरिक अगुवा, सरकारी निकायलगायतको सहयोगले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने केन्द्र बन्दै गएको छ', उनले भने। रासस


प्रकाशित : आइतबार, भदौ २४ २०८००९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend