शनिबार, साउन १२ गते २०८१    
images
images
images

निजी क्षेत्रलाई विश्वासमा लिन अर्थमन्त्रीको निरन्तर प्रयास, गभर्नर देखाउँदै उद्योगी व्यवसायी

images
आइतबार, भदौ २४ २०८०
images
images
निजी क्षेत्रलाई विश्वासमा लिन अर्थमन्त्रीको निरन्तर प्रयास, गभर्नर देखाउँदै उद्योगी व्यवसायी

बाह्य क्षेत्रलाई देखाएर कडाइ गरिएको नीतिगत व्यस्थामा पनि सहजीकरण हुँदासमेत बजारले गति लिन नसकेपछि आत्मविश्वास नै जगाउनुपर्ने अर्थमन्त्री डा प्रकाशशरण महतको बुझाइ छ। कोरोना महामारीअघिको सामान्य अवस्थाकै तहमा ब्याजदर हुँदा पनि ऋणको माग नबढेको, बजारमा चहलपल नहुनुमा आत्मविश्वास मुख्य कारण रहेको उनको भनाइ छ। 

images

काठमाडौं- पछिल्लो एक वर्षदेखि बाह्य क्षेत्रको अवस्थामा निरन्तर सुधार हुँदासमेत बजारको मन्दी मत्थर नभएपछि निजी क्षेत्रको आत्मविश्वास नै खस्किएको निष्कर्षमा अर्थमन्त्री डा. प्रकाशशरण महत पुगेका छन्। 

images
images

निजी क्षेत्रको कमजोर मनोबलका कारणले बजार चलायमान हुन नसकेको निष्कर्ष निकालेसँगै महतले उद्योगी व्यवसायीका  प्रतिनिधिहरूसँगको संवादलाई सघनता दिएका छन्। 

images

बाह्य क्षेत्रलाई देखाएर कडाइ गरिएको नीतिगत व्यस्थामा पनि सहजीकरण हुँदासमेत बजारले गति लिन नसकेपछि आत्मविश्वास नै जगाउनुपर्ने अर्थमन्त्री महतको बुझाइ छ। कोरोना महामारीअघिको सामान्य अवस्थाकै तहमा ब्याजदर हुँदा पनि ऋणको माग नबढेको, बजारमा चहलपल नहुनुमा आत्मविश्वास मुख्य कारण रहेको उनको भनाइ छ। 

‘निजी क्षेत्र अस्थिर मनोविज्ञानसहित बसेको छ। लामो समयसम्मको नियन्त्रणको त्रासले अहिले पनि काम सुरू गर्ने अवस्थामा छैनन्। त्यसैले अहिले सांकेतिक नै सही केही सन्देश दिनुपर्छ’ मन्त्री महत भन्छन्। 

images

मन्त्री हुनेवित्तिकै निजी क्षेत्र तथा सरोकारवालाहरूसँग निरन्तर छलफलमा रहेका महत बजेटलगत्तै बजार चलायमान हुने विश्वासमा थिए। तर उनको अपेक्षाअनुसार बजार चलायमान नभएपछि अहिले कतिपय अवस्थामा लचक हुनुपर्ने उनको बुझाइ रहेको छ। विशेषगरी मौद्रिक नीतिमा भएका केही व्यवस्था अहिलेका लागि खुकुलो हुनुपर्नेमा उनी सहमत भएका छन्। 

जतिसुकै काम गर्दा पनि अहिलेकै अवस्थामा बजारले लय समात्न नसकेपछि अब राष्ट्र बैंकले बैंकहरूमा 'माइक्रो म्यानेजमेन्ट' गर्न नहुने उनको बुझाइ छ। यो कुराको सन्देश राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई महतले दिइसकेका छन्। 

मन्त्री महतले निजी क्षेत्रलाई विश्वासमा लिएरमात्र बजारलाई चलायमान बनाउन सकिने भन्दै त्यसका लागि हदैसम्मको लचकता अपाउन तयार रहेको बताएपनि निजी क्षेत्रले भने गभर्नर महाप्रसाद अधिकारीलाई देखाउने गरेको छ। उद्योगी व्यवसायीहरूले राष्ट्र बैंकले पछिल्लो समय ल्याएका कतिपय व्यवस्था झन समस्याग्रस्त बनाउने खालका रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा केही खुकुलो व्यवस्था गरेपनि साझेदारी व्यवसायमा एउटा व्यक्ति कालोसूचीमा पर्दा अरु पनि पर्नसक्ने व्यवस्था तर्साउनका लागि ल्याइएको उनीहरूको मत छ। 

‘पर्याप्त तरलता हुँदासमेत ब्याजदर घट्न नसकेकोमात्र होइन अन्य मौद्रिक सुविधा पनि भएका पनि कटौती गरिएको छ, राष्ट्र बैंकले अझै पनि कर्जा नियन्त्रणकै बाटोमा जाने देखिएको छ, यसले बजारलाई मन्दीबाट मुक्त गर्नै सक्दैन’ नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल भन्छन्। 

गत वर्ष कर्जा विस्तार चार दशककै न्यून भएको थियो। यो वर्ष पनि ११ प्रतिशतले विस्तारको लक्ष्य राखेपनि राष्ट्र बैंकको मनासय त्यस्तो नदेखिएको व्यवसायीहरूले बताएका छन्। अहिलेकै अवस्था कायम रहँदा अर्थतन्त्रले धेरै समय थेग्न नसक्ने उनीहरूको भनाइ छ। 

उद्योग व्यवसायको क्षमता परिचालनको दर ३० प्रतिशतमा सीमित भएको, ब्याज खर्च बढेको तर आम्दानी घटेकाले लिएकै ऋणको भुक्तानी गर्न नसक्ने अवस्थामा धेरै पुगेका छन्। यस्तै अवस्था रहेमा अबको एक वर्षमा धेरै उद्योगी व्यवसायी कालोसूचीमा पर्ने जोखिम रहेको अग्रवालको भनाइ छ। ‘अनि त्यसपछि अर्थतन्त्र चलायमान कसरी हुन्छ?’ अग्रवाल भन्छन्। 

अधिकांश नेपालीले मनाउने चाडपर्वहरू सम्मुखमा आउँदासमेत बजारमा उल्लेख्य माग सिर्जना हुन सकेको छैन। यद्यपि पछिल्लो समय केही सुधार हुने क्रममा रहेको छ। अहिलेको सुधारलाई निरन्तरता दिनका लागि मौद्रिक नीतिमा केही सुधार गर्नैपर्ने अवस्था रहेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लको भनाइ छ। 


प्रकाशित : आइतबार, भदौ २४ २०८०००:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend