काठमाडौं- साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसाय सञ्चालन इजाजत तथा नवीकरणमा व्यवसायीहरुले चासो नदिएपछि सरकारले सञ्चालन इजाजत तथा नवीकरणमा केही सहजता गरिदिने भएको छ।
साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसाय सञ्चालन इजाजत तथा नवीकरणमा सहजता गर्नकै लागि पर्यटन विभागले पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० लाई संशोधन गरेको छ। यस्तो किसिमको व्यवसाय पछिल्लो समय दर्ता नगरी सञ्चालन हुन थालेपछि विभागले विकृति रोक्दै कानूनी दायरमा ल्याउन निर्देशिका नै संशोधन गरी सहज गरिदिएको हो।
साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसायमा विशेषत पछिल्लो समय जिपलाइन व्यवसायमा विकृति देखिएको छ। बिना अध्ययन तथा इजाजत बिना नै जिपलाइन सञ्चालन हुन थालेपछि विभागले दर्तामा आउन बारम्बार सर्कुलर जारी गरेको थियो। सर्कुलर जारी भएपछि पनि दर्ताको दायरामा नआएकाहरुलाई कानूनी दायरामा ल्याउन विभागले प्रहरीको सहयोग मागेको थियो। अन्तत: विभागले निर्देशिका नै संशोधन गरेर सञ्चालन इजाजत तथा नवीकरणमा सहजता गरिदिएको हो।
विभागले निर्देशिकाको दफा ९४ को उपदफा १ मा रहेको दश लाख रूपैयाँ बराबरको पाँच वर्षको अविधिको बैंक ग्यारेन्टी आवश्यक पर्ने व्यवस्थालाई संशोधन गरेको छ। संशोधित निर्देशिकामा अब २ करोडसम्मको लगानी भएमा १ लाख रूपैयाँ बराबरको पाँच वर्ष अविधको बैंक जमानत, २ करोडदेखि पाँच करोड रूपैयाँसम्मको लगानी भएमा पाँच लाख रूपैयाँ बराबरको पाँच वर्ष अवधिको बैंक जमानत र पाँच करोडभन्दा बढीको लगानी भएमा दश लाख रूपैयाँ बराबरको पाँच वर्ष अवधिको बैंक जमानत राख्नुपर्ने उल्लेख छ।
विभागले साहसिक खेलहरु सानोदेखि ठूलो लगानीसम्ममा बनाउन सकिने हुँदा र इजाजतको दायरामा ल्याउन सहज हुने अपेक्षासहित निर्देशिका संशोधन गरिएको जनाएको छ। यसैगरी इजाजत पत्रको अवधि समाप्त भएपछि नवीकरणका लागि निवेदन दिने व्यवसायको हकमा ३ महिनाभित्र नवीकरण दस्तुर ५० प्रतिशत, ६ महिनाभित्र भए सतप्रतिशत थप दस्तुर लिइ नवीकरण गरिने व्यवस्थामा समेत संशोधन भएको छ।
संशोधित निर्देशिकामा इजाजतको अवधि समाप्त भएपछि नवीकरणको लागि निवेदन दिने व्यवस्थाको हकमा ६ महिनाभित्र भए नवीकरण दस्तुरको ५० प्रतिशत, एक वर्षभित्र भएमा सतप्रतिशत र दुई वर्षभित्र भएमा १५० प्रतिशत थप दस्तुर लिइ नवीकरण हुने व्यवस्था समावेश गरिएको छ। विभागले व्यवसाय मैत्री वातावरण सिर्जना गरी व्यवसायीलाई उत्प्रेरित गर्न समयसीमा बढाएको जनाएको छ।
यसैगरी निर्देशिकाको दफा ९५ को उपदफामा ४ मा इजाजत पत्रको अवधि समाप्त भएको ६ महिनासम्म पनि नवीकरण नगर्ने व्यवसायलाई त्यसपछि नवीकरण गरिने छैन र त्यस्तो व्यवसाय स्वत: खारेज भएको मानिनेछ भने व्यवस्थालाई संशोधन गर्दै ६ महिनाको ठाउँमा २ वर्ष बनाइएको छ।
यसैगरी निर्देशिकाको दफा ९९ मा उपदफा ७ थप गरिएको छ। जसमा नेपाल सरकारबाट साहसिक तथा मनोरञ्जनात्मक खेलका साधनहरु दर्ता गर्ने प्रयोजनका लागि संस्था नतोकिएसम्म प्राविधिक जाँचपासको आधारमा विभागले इजाजत जारी गर्ने विषय संशोधित निर्देशिकामा समावेश गरिएको छ। विभागले मान्यता प्राप्त संस्था तोकिसकेको अवस्था नरहेकाले तत्कालका लागि यस्तो गतिविधि सञ्चालनमा सहजताका लागि उक्त व्यवस्था थप गरेको जनाएको छ।
साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसया सञ्चालनको इजाजत र नवीकरणमा लाग्ने शुल्क
साहसिक क्रियाकलापहरु | इजाजत शुल्क | नवीकरण शुल्क |
केबलकार | ५० हजार रूपैयाँ | २५ हजार रूपैयाँ |
एम्यूज्मेन्ट पार्क र फन पार्क | ५० हजार रूपैयाँ | २५ हजार रूपैयाँ |
केबलकार सहितको एम्यूज्मेन्ट पार्क | ७५ हजार रूपैयाँ | ३५ हजार रूपैयाँ |
बञ्जी जम्पिङ | ४० हजार रूपैयाँ | २० हजार रूपैयाँ |
जीप फ्लायर | ४० हजार रूपैयाँ | २० हजार रूपैयाँ |
क्यानोनिङ | ३० हजार रूपैयाँ | १५ हजार रूपैयाँ |
अन्य साहसिक गतिविधि | ५० हजार रूपैयाँ | २५ हजार रूपैयाँ |