आइतबार, असोज ६ गते २०८१    
images
images

अव्यवस्थित तारले विरुप बन्दै पोखरा

images
बिहीबार , भदौ २१ २०८०
images
images
अव्यवस्थित तारले विरुप बन्दै पोखरा

पोलमा गुजुल्टिएका प्रयोगविहीन तार हटाउने पोखरा महानगरको योजना अलपत्र छ। नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने आयोजना पनि गतिहीन बनेको छ।

images
images

गण्डकी- 'अव्यवस्थित तार र पोलबाटमुक्त गर्न सके पोखराको सहरी सौन्दर्य अझ कति खुल्दो हो!'

images
images
images

पृथ्वी राजमार्ग हुँदै पोखरा छिर्दा मनमनै उब्जने प्रश्न हो यो। सडक छेउमा गुजुमुजु परेका अव्यवस्थित तार चेपुवाबाट हिमचुचुरा नियाल्नुपर्दा खिन्न हुन्छन् यहाँ आउने पर्यटक।

हुन त बिजुलीका पोल र तार मात्र नभइ अरु थुप्रै मानव निर्मित संरचना र गतिविधि पनि पर्यटकीय नगरी पोखराका चुनौती हुन्। यसले स्वच्छ र हराभरा पोखराको सुन्दरतामा आँच पुर्‍याइरहेको छ।

सहरभित्र पैदल हिँड्दा होस् या गाडी चढ्दा। सडक छेउछाउ देखिने तारको जालो, जीर्ण भइ ढल्केका पोल र अस्तव्यस्त संरचनाले पर्यटकीय सहर पोखरालाई नै विरुप बनाइरहेका छन्। पोलमा गुजुल्टिएका प्रयोगविहीन तार हटाउने पोखरा महानगरको योजना अलपत्र छ। नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने आयोजना पनि गतिहीन बनेको छ।

images

प्राधिकरणकै सबस्टेसन रहेको पोखरा-१० कुँडहरदेखि अमरसिँहचोक, बुद्धचोक हुँदै पृथ्वीचोकसम्म सबैभन्दा भद्रगोल छ। कतै सडककै बीचमा पोल छन्। कहीँ लडेका छन्। तार भुइँसम्मै लत्रिएको छ।

पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पुराना पोल र तारको व्यवस्थापन नहुँदा पैदल यात्रुलाई समेत बाधा पुगिरहेको बताए। 'पोल नै ढाकिनेगरि तार गुजिल्टिएको छ', उनले भने, 'कतै भुइँसम्मै तार लत्रिएको हुन्छ, कुन तार के को हो छुट्ट्याउन पनि सकिन्न, हिँड्दा पनि जोखिम छ।'

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सहरी पूर्वाधार पर्यटनमैत्री हुनुपर्ने बताए। 'पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्ने माग उठिरहेको छ, यसको सौन्दर्यीकरणमा हामी सबै लाग्नुपर्छ', उनले भने, 'तत्कालै सबै तार भूमिगत गर्न नसके पनि पुराना पोल र प्रयोगविहीन तार हटाउनुपर्छ।'

उनले सडक र पैदल मार्गको स्तरोन्नतिमा पोखरा महानगरसहित सम्बद्ध निकायको ध्यान जानुपर्ने बताए। पर्यटकीययाम सुरु हुनै लागेकाले पोखरा भित्रने सडकमा रहेका खाल्डाखुल्डी पुर्नेदेखि सहरलाई सफासुग्घर राख्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए।

डाँडाकाँडा उक्लेर हिमाल र तालतलैया हेर्न मात्र पर्यटक पोखरा नआउने भन्दै उनले भित्री सहरलाई पनि पर्यटनमैत्री हिसाबले विकास गर्नुपर्ने धारणा राखे। प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रशासन प्रमुख प्रदीप भुवाजीले पुराना पोल र तार हटाउन सुरु गरिएको बताए। 'पोखरामा ४० वर्षअघिको विद्युत् लाइन छ, पुरानो विस्थापित गरेर नयाँ राख्नुपर्ने अवस्था छ', उनले भने, 'महानगर र प्रदेश सरकारसँग मिलेर यो कामलाई अगाडि बढाउँदैछौँ।'

उपभोक्ताबाट ६ हजार बढी पोलको माग आएको प्रमुख भुवाजीले उल्लेख गरे। पोखरा उपत्यकाभर पुराना पोल र तार विस्थापनका लागि ठूलो बजेट चाहिने उनको भनाइ छ। 'बजेट प्रस्ताव गरेर केन्द्रमा पठाएका छौँ, बजेट कति आउँछ सोही अनुसार यो वर्षको कामको योजना बन्छ', प्रमुख भुवाजीले भने।

विद्युतीय दुर्घटना न्यूनीकरणका लागि जीर्ण विद्युतका पोल र गुजुल्टिएका तार हटाउन अत्यावश्यक भइसकेको उनको भनाइ छ। अव्यवस्थित तार र पोलका कारण हुने दुर्घटनाबाट मानिसले ज्याउन गुमाउनुपर्ने स्थिति छ। सवारीसाधन पोलमा ठोक्किएर र करेन्ट लागेर त्यस्ता दुर्घटना हुने गरेका छन्। पोखरा वितरण केन्द्रअन्तर्गत विद्युतका ९४ हजार एक सय ६५ ग्राहक छन्।

वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक संख्या हो। प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले पोखराको मुख्य राजमार्ग र पर्यटकीय गतिविधि हुने केही ठाउँमा तार भूमिगत गर्न सुरु गरिएको बताए। ठेक्का अवधि सकिन लाग्दा तार बिछ्याउने कामले गति लिन सकेको छैन। गत बैशाखदेखि तार बिछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति भने निराशाजनक छ। दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो।

ठेक्का सम्झौता भएको १५ महिनामा गत बैशाख तेस्रो सातादेखि काम सुरु भएकामा हालसम्मको भौतिक प्रगति पाँच प्रतिशतभन्दा न्यून छ। आयोजना प्रमुख सुवेदीले जमिनको बनावटका कारण काममा ढिलाइ भएको बताए। 'पोखरामा भूगर्भको अवस्थिति प्रक्षेपण गरेभन्दा फरक पाइयो, बढी चट्टानी जमिन भएकाले उपकरणले नै काम गरेन', उनले भने, 'उपकरणदेखि कामको पूर्वयोजना र डिजाइन नै परिमार्जन गर्नुपर्ने अवस्था आयो।'

अहिले उच्च क्षमताको उपकरण ल्याएपछि काम सुरु गरिएको प्रमुख सुवेदीले बताए। 'प्राविधिक कारणले भौतिकतर्फको काममा ढिलाइ भएको हो, यही बीचमा वर्षातको बेला पनि भयो, अब आयोजनाले गति लिन्छ', उनले भने, 'पोखरा-१० कुँडहर र पोखरा-६ लेकसाइड क्षेत्रमा तार बिछ्याउने काम भइरहेको छ, निर्धारित समयमा निर्माण पूरा हुन नसकेपनि छिटोभन्दा छिटो काम सक्ने गरी हामी खटिएका छौँ।'

कुँडहरदेखि जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्र बैंक चोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगागायतका क्षेत्रमा तार भूमिगत गरिने भएको हो। मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजनाले जनाएको छ। विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ।

'विद्युतसँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्', आयोजना प्रमुख सुवेदीले भने। पोखरामा मात्र तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा एक अर्ब ३० करोड रूपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ।

प्रमुख सुवेदीले पोखरा उपत्यकाभरको तार जमिनमुनि बिछ्याउन पाँच अर्बभन्दा बढी बजेट चाहिने बताए। 'तार भूमिगत महँगो परियोजना हो, एकैसाथ ठूलो लगानी गर्न सरकारले पनि सक्दैन, प्रभाव र उपयोगिता हेरेर पोखराका अरु ठाउँमा पनि यो काम विस्तार हुन्छ', उनले भने।

तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरण नै गर्ने जनाइएको छ। प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ। ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताए। यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम भइरहेको उनको भनाइ छ। तार भूमिगत गरेपछि ठाउँ-ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्‍याइने प्राधिकरणले जनाएको छ। तार बिछ्याउने अभ्यास विश्वभर नै रहेपनि नेपालमा भने भर्खरभर्खर यो काम अगाडि बढेको हो। 

काठमाडौं, पोखरा, भरतपुर जस्ता ठूला सहरमा तार बिछ्याउने काम भइरहेको छ। भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने बताइन्छ। महँगो प्रणाली भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणालीमा जानुपर्ने आयोजना प्रमुख सुवेदीले बताए।


प्रकाशित : बिहीबार , भदौ २१ २०८००९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend