कृषि वैज्ञानिक डा. केशवबाबु कोइराला मकैबालीका जानकार हुन्। राष्ट्रिय कृषि अनुसन्धान परिषद्मा सेवा गरेर पछिल्लो समय अवकाश पाएका कोइराला राष्ट्रिय मकैबाली कार्यक्रमको संयोजक भएरसमेत काम गरिसकेका वैज्ञानिक हुन्। कोइरालासँग मकैको उत्पादन, उत्पादकत्व र बाली विकासका बारेमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
नेपालको प्रमुख बालीमध्येको एक मकैलाई मानिन्छ। भिरालो जमिन, पर्याप्त पानीबिना पनि उत्पादन हुने प्रकृतिको भएकाले यसको विस्तार नेपालका प्राय: सबै ठाउँमा भएको छ। तर पछिल्लो समय सबैले धान तथा चामलको परिनिर्रभताको मात्र कुरा गर्छन्। आँकडा हेर्दा भने मकैको परनिर्भरता झन् डरलाग्दो देखिन्छ। यस्तो किन भइरहेको होला?
मकै प्रमुख र सर्वव्यापी बाली हो। भौगोलिक बनावटले पनि यसलाई साथ दियो। तर पछिल्लो समय मकैको माग जसरी बढ्यो, त्यही अनुपातमा उत्पादन भएन। यसको सिधा कारण के हो भने पहिले मकैको खपत मानिसले खानका लागि गरिन्थ्यो, केही पशुचौपायाको आहारमा पनि हुन्थ्यो तर पछि जब बिस्तारै यसको औद्योगिक माग बढ्यो ठ्याक्कै उत्पादनभन्दा धेरै माग भयो। त्यसैले गर्दा आयात बढ्दै गयो।
नेपालमा भएको उत्पादनले मानिसलाई खान नपुग्नेभन्दा पनि औद्योगिक प्रायोजनका लागि आवश्यकता बढेका कारणले गर्दा आयात भएको हो। जस्तो पछिल्लो समय कुखुराको मासुमा नेपाल आत्मनिर्भर भएकोजस्तो तथ्यांक छ। यसरी मासु उत्पादन हुँदा कुखुराका लागि आवश्यक दानाका लागि मकै चाहिने भयो। त्यो आवश्यकताले गर्दा आयात बढाएको हो। हाम्रो देशको उत्पादनले दानाका लागि आवश्यक मकैको मागको ३० प्रतिशत पूरा गर्छ भनेपछि ७० प्रतिशत बाहिरबाट आउँछ।
दानाका आवश्यकता पूरा गर्न उत्पादन बढाउनुपर्छ। हामीले मकैलाई घरेलु खपतबाहेक अन्यका लागि सोच्दै सोचेनौँ। त्यसैले गर्दा यसको उत्पादनको वृद्धिका बारेमा पनि खासै सोचिएन। त्यसकारण पनि यस्तो भयो।
उत्पादन बढाउनका लागि बीउ र प्रविधिमा लगानी हुनुपर्छ। सरकारले यसमा प्राथमिकता पनि दिनुपर्छ। हरेक बालीको जस्तै मकैमा पनि दुखान्त रहेको छ। कुनै पनि बालीको उत्पादन बढाउनका लागि संसारमा बीउकै विकासको मुख्य भूमिका रहेको छ। परम्परागत बीउमै भर परेर उत्पादनमा वृद्धि हुँदैन। खेती शैलीदेखि लिएर बीउको विकासमा ध्यान दिनुपर्छ। यो भनेको हाइब्रिड बीउको विकास हो। माटो सुहाउँदो बीउको विकासका लागि जनशक्तिदेखि प्रविधिसम्म लगानी चाहिन्छ।
यसका लागि केही प्रयास पनि नभएका होइनन् तर त्यसले प्राथमिकताका साथ निरन्तरता नपाउँदा समस्या आयो। म राष्ट्रिय मकैबाली कार्यक्रमको संयोजक हुँदा पूर्वदेखि पश्चिमसम्म विभिन्न सहकारी र कम्पनीसँग मिलेर हाइब्रिड बीउ उत्पादनमा काम भएको थियो।
बीउको विकास भन्ने नाममा हामीले विदेशमा विकास भएको ल्याउने र त्यसमा समान्य परीक्षण गरेर बजारमा पठाउने चलन छ। बीउको स्थानीयकरण र माटो सुहाउँदो नहुँदा अपेक्षित उत्पादन बढ्न नसकेको भन्ने पनि छ नि?
पक्कै पनि यो समस्या हुन्छ। कुनै पनि देशको हावापानी र माटो सुहाउँदो बीउ चाहिन्छ। कुनै निश्चित देशको परिस्थितिमा विकास भएको बीउ सबै ठाउँमा उत्तिकै प्रभावकारी हुँदैन। देशभित्रै त मौसमअनुसारको फरक बीउको विकास गर्नुपर्ने हुन्छ। विदेशबाट हाइब्रिड बीउ ल्याउँदा परेका समस्याका बारेमा सबै जानकार नै छन्। केही वर्षअघि देखिएका यस्ता समस्यामा सरकारले क्षतिपूर्ति समेत दिनुपरेको देखिन्छ। यसरी बिग्रनुअघि नै देशभित्रै यसको उत्पादन बढाउनु उपयुक्त हुन्छ।
उत्पादन बढाउनका लागि पहिलो कुरा हाइब्रिड बीउ चाहिन्छ, दोस्रो कुरा त्यस्तो बीउको विकास र उत्पादन देशभित्रै हुनुपर्छ।
मकैमा हाम्रो आफ्नै हाइब्रिड विकास भएको पनि छ। १३१ टनसम्म उत्पादन क्षमता थियो। यसको अझ विस्तार हुनुपर्छ ताकि किसानले चाहिएको समयमै पाउने वातावरण बनोस्।
उत्पादन बढाउनेबाहेक बीउमा आत्मनिर्भता सामरिक महत्वको कुरा पनि हो। कुनै पनि उत्पादनको मूल स्रोत नै बीउ हो। कुनै देशले बीउमा लगाउने प्रतिबन्ध, निर्यातमा गर्ने अवरोधजस्ता कठिनताबाट बच्नका लागि पनि आफ्नै उत्पादन चाहिन्छ। आफ्नै देशको उत्पादन भएपछि सस्तो पनि हुन्छ भने ठूलो रकम देशबाहिर जानबाट पनि बच्छ। यसबाट सिर्जना हुने रोजगारी र अभिवृद्धि अर्को लाभको कुरा हो।
हाइब्रिड बीउ उत्पादन गर्नु भनेको चानचुने कुरा होइन। यसमा लगानी पनि उत्तिकै चाहिन्छ। निरन्तर अनुसन्धानको वातावरण हुनुपर्छ, यसका लागि आवश्यक जनशक्ति र प्रविधिले सरकारी प्राथमिकता र लगानी खोज्छ।
लगानीको सन्दर्भमा कुरा गर्दा जनशक्तिको एउटा पाटो भयो, अर्को लगानीको कुरा भयो। संस्थागत पाटोमा कृषि वैज्ञानिक राख्न नसकेको हो कि उनीहरू आकर्षित नभएका हुन्?
कृषि उत्पादन बढाउनका लागि चाहिने निरन्तरको अनुसन्धानका लागि उच्च दक्ष जनशक्ति चाहिन्छ। संसारकै राम्रो पेसा मानिने यस्तोमा दक्षता भएकाहरू विश्व बजारमा सहजै जान सक्छन्। आकर्षिक सुविधासहित विश्व बजारमा बिक्नसक्ने उनीहरूलाई नेपालजस्तो देशमा राख्नु चुनौतीपूर्ण त छ नै। अर्कोतर्फ हाम्रोमा आधारभूतरुपमै संरचनागत समस्या पनि छ।
वैज्ञानिक जनशक्ति भनेको १० बजे कार्यालय गएर पाँच बजे घर आउने खालको संरचनामा फिट हुँदैन। कामकाजी होइन। म आफै मकैको संयोजक हुँदा ब्रिड बनाउने, क्रसिङ गर्ने कुरा दसैँ तिहारको बेलामा पर्थ्यो। बिहान-बेलुका बिदा भन्न पाइँदैन। यसको सर्तमा सुविधा पनि चाहिन्छ। तर हाम्रोमा यस्तो संरचना नै छैन।
वैज्ञानिकमात्र होइन समग्र क्षेत्रमै नेपालमा जशक्तिको समस्या रहेको छ। एक त नेपालजस्तो देशमा थोरै जनशक्ति उत्पादन हुन्छ, दोस्रो कुरा उत्पादन भएकाहरू विदेश जान्छन्। दक्ष जनशक्तिका लागि संसारको बजार खुला छ। उनीहरू जहाँ पनि गएर नेपालभन्दा राम्रो सुविधामा काम गर्न सक्छन्। यस्तोमा पलायन रोक्नु चुनौतीपूर्ण छ।
मकै उत्पादनको तथ्यांक कत्तिको विश्वसनीय छ?
तथ्यांकलाई कसरी सही छैन भन्ने? तथ्यांकलाई एकछिन सही नमानौँ र अहिलेभन्दा धेरै हुन्छ भन्ने मानौँ। त्यसले पनि हाम्रो माग धान्नसक्ने अवस्था छैन। जसरी औद्योगिक माग बढेको छ त्यसलाई पूरा गर्ने उत्पादन त हाम्रोमा छैन।
अर्को कुरा हाम्रो उत्पादन जति पनि छ, त्यो औद्योगिक कच्चा पदार्थका लागि आवश्यक गुणस्तार पूरा गर्नसक्ने अवस्थामा छ कि छैन? किनभने हाम्रोमा उत्पादन हुने मकै भनेको घरायसी उपयोगका लागि हो। राम्रोसँग नपाक्दै भित्र्याउँदा हुने गुणस्तरको क्षयीकरण पनि उस्तै समस्याको रुपमा रहेको छ।
उत्पादन र बजारीकणमा समेत प्रविधिको एडप्सनमा साँच्चिकै कमजोर हो?
यो कुरामा हामीले एक अर्कालाई दोष लगाएर हुँदैन। एउटा कुरा चाहिँ के हो भने कृषि प्रविधिको विकास र प्रयोगमा हामी बलियो भएकै छैनौँ। दोस्रो कुरा जति पनि छ त्यसको सञ्चार भएको छैन। गाउँ गाउँमा हुनुपर्ने कृषि सेवा अहिले प्रभावकारी छैन। प्रविधिको यति प्रभावकारी विस्तारको समयमा पनि कुनैपनि बालीको नयाँ बीउको विकास हुँदा त्यसका बारेमा भरपर्दो जानकारी हुन सकेको छैन।
मकैमा प्रविधिको कुरा गर्दा चार-पाँचवटा राम्रा हाइब्रिड छन्। बहुराष्ट्रिय कम्पनीका पनि त्यति नै हुन्छन्। हाम्रो जस्तो देशमा यति हाइब्रिड भनेको नराम्रो होइन। समस्या भनेको त्यसको उत्पादन र किसानले चाहिएको समयमा नपुग्ने हो। कुनै पनि सरकारी संयन्त्रले किसान आवश्यक बीउ उत्पादन गर्न सम्भव त छैन। यसका लागि सहकारी र कम्पनीसँग सहकार्य गरेर बीउ उत्पादन प्रविधि हस्तान्तरण गरेर जानुपर्छ। यो काम नेपाल कृषि अनुसन्धान परिषद् तथा कार्यक्रमले गर्नु उपयुक्त हुन्छ।
बीउको उत्पादन निजी प्लेयरबाट हुनुपर्छ। त्यसका लागि स्रोत बीउ कुनै कारणले बिग्रिन सक्छ। त्यसैले संरक्षणको काम सरकारकै हो। त्यसको जगेर्ना गर्नुपर्छ। मासमा उत्पादनका लागि सहकारी र कम्पनीले नै गर्नुपर्छ।