काठमाडौं- नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै मंसिर महिनाका लागि बैंकहरूले ब्याजदर ठूलो परिवर्तन नगर्दा दोस्रो बजारका लगानीकर्ताहरू हौसिएका छन्।
लगानीकर्ताहरू मंसिर १ गतेबाट बैंकहरूको ब्याजदर कसरी बढाउछन् भनेर कुरेर बसेका थिए। तर लगानीकर्ताहरूले आँकलन गरेको जस्तो ब्याजदर बढेन। जसका कारण सेयर बजारमा उत्साह देखिएको छ।
आज मंगलबार मात्रै सेयर बजार ६९.२२ अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक २७८४.५८ मा पुगेर बजार बन्द भएको छ। मंगलबार १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड रुपैयाँ कारोबार भएको छ। १७१ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको घटेको छ भने एक कम्पनीको परिवर्तन भएको छैन।
अर्कोतर्फ दोस्रो बजारमा सूचीकृत कम्पनीको बुक क्लोज हुन बाँकी छ। लगानीकर्ताले आगामी दिनमा बजार तल झर्दा लाभांश पाउने थाहा पाउँदा पाउँदै सेयर खरिद गर्न सकिरहेका थिएनन्। बजार सुधार हुने संकेतसँगै लगानीकर्ताहरू बजार प्रवेश गरेका छन्।
अर्कोतर्फ नेपाल धितोपत्र बोर्ड र नेप्सेले नयाँ नेतृत्व पाउँदै छ। लामो समयदेखि रिक्त रहेको पदमा को व्यक्ति आउँछ भन्ने विषयले आगामी दिनमा थप प्रभाव पार्ने देखिन्छ। अर्को पाटो बैंक ब्याजदरको सुखद समाचारले प्रभाव पारे पनि भावी दिनमा भने अन्योलता नै देखिन्छ।
ब्याजदर धेरै नबढे पनि तरलता समाधान भएको होइन। बैंकिङ तरलता अभाव चरम उत्कर्षमा रहेकाले यसको असर बजारमा देखिनै बाँकी छ। यसका साथै बैशाखमा सरकारले चुनाव गर्नै पार्ने बाध्यता छ। चुनाव अगाडि सेयर बजार बढ्ने अपेक्षाले पनि साना साना सूचना तथा समाचारमा सेयर बजार सुधार हुने तथा घट्ने क्रम बढेको छ। त्यसैले गर्दा अहिले नै हौसिएर सेयर खरिद गर्नु त्यति राम्रो नहुने विज्ञहरूको भनाइ छ।