शनिबार, साउन १२ गते २०८१    
images
images
images

अर्गानिक खेती विस्तारमा म्याग्दीका युवा, आयातित तरकारीको माग घट्यो

images
बुधबार, भदौ १३ २०८०
images
images
अर्गानिक खेती विस्तारमा म्याग्दीका युवा, आयातित तरकारीको माग घट्यो

म्याग्दीमा कृषिमा युवाहरुको आकर्षण बढ्दो छ। दुई वर्षअघि सम्म कुल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकामा अहिले ८२ प्रतिशत जमिनमा खाद्यान्न, तरकारी र फलफूल खेती विस्तार गरिएको छ।

images

गलेश्वर- म्याग्दीमा पछिल्ला दुई वर्षयता कृषि क्षेत्रमा युवाहरुको संलग्नता उत्साहजनक रुपमा बढेको छ। कृषिमा युवाहरुको प्रवेशसँगै ग्रामीण क्षेत्रका खेतबारी र पाखो जमिनमा समेत कृषि प्रविधिको प्रयोग हुन थालेपछि यहाँका किसानहरु अर्गानिक खेती विस्तारमा जुटेका छन्।

images
images

धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारिका ग्रामीण खेतबारीमा जिल्लाको कृषकहरुले अर्गानिक खेती प्रणाली सुरु गरेका हुन्। विशेषगरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि यहाँ कृषिले व्यावसायिक रुप लिनाका साथै कृषिमा प्रविधिको प्रयोग र अर्गानिक खेती विस्तारको क्रम बढ्दै जान थालेको हो।

images

विगत दुई वर्षयता जिल्लामा अर्गानिक खेती सुरु भएको र यसले व्यापकता पाउँदै गएको यहाँका उपभोक्ताहरुले बताएका छन्। तीन वर्षअघि सम्म स्थानीय तरकारीको सट्टा आयातित तरकारी खोजी गर्ने यहाँका उपभोक्ताहरु अहिले भने खोजीखोजी स्थानीय उत्पादन खरिद गर्ने गरेका छन्।

'अहिले सदरमुकाम बेनीका प्रायः सबै घरका भान्छामा स्थानीय उत्पादनका तरकारी पाक्ने गर्दछ', बेनीबजारका व्यवसायी राधिका केसीले भनिन्, 'ग्राहकहरु स्थानीय उत्पादनको खोजीमा हुन्छन्, गाउँगाउँबाट अर्गानिक तरकारी बजारमा झर्न थालेपछि आयातित तरकारीको माग घटेको छ।'

images

त्यसैगरी कृषकले पनि बजारमा अर्गानिक उत्पादनको माग बढ्दै गएपछि रासायनिक विषादीको प्रयोग गर्न छोडेका छन्। करिब ४० वर्षदेखि कृषि पेसामा लागेका म्याग्दीको बेनी नगरपालिका-२ खबराका ६८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो दुई वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दंग परेका छन्।

घर नजिकैको १४ रोपनी खेत र बारीमा प्रांगारिक तरकारी खेती गर्दै आएका कार्कीले दुई वर्षअघि सम्म कहिल्यै पनि अर्गानिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाएका थिएनन्। 'म विगत ४० वर्षदेखि तरकारी खेतीमा छु, मेरो जीवनको उर्वर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,' कार्कीले भने, 'तर पछिल्ला दुई वर्षयता जसरी मैले फलाएको तरकारीको बिक्री भयो, त्यसरी यसअघि भएको थिएन।'

युवाहरु नै खेतीपातीको काममा लागेपछि म्याग्दीको ग्रामीण जीवन र कृषि प्रणालीमा नयाँपन थपिएको स्थानीयवासीको भनाइ छ। ‘लाहुरेहरुको जिल्ला’ भनेर परिचय बनाएको म्याग्दीमा पछिल्लो समय विदेश जाने कम र विदेशबाट फर्किएर आफ्नै गाउँमा कृषिमा लगानी गरी व्यावसायिक बन्ने युवाहरुको संख्या बढ्दै जान थालेको छ।

खबराका कृषक शोभित शर्मा, डडुवाका भीमबहादुर भण्डारी, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदी, अर्मनका टीकालाल सापकोटा, रत्नेचौरका भविलाल किसानलगायतका जिल्लाका २४ भन्दा बढी कृषकले पछिल्लो समय प्रांगारिक तरकारी खेतीको सुरुआत गरेका छन्।

विगतमा तरकारी बिक्रीबाट वार्षिक पाँच लाख रूपैयाँ आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले २०७६ को चैतदेखि २०८० को साउनसम्म तरकारी बिक्री गरेर ४० लाख रूपैयाँभन्दा बढी आम्दानी भएको बताए। त्यसैगरी डडुवाका मोहन भण्डारी पनि गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो बिक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको जानकारी दिए।

कोरोनापछि धेरै मानिसले अर्गानिक उत्पादन खोज्न थालेको खबराका कृषक शोभित सापकोटाले बताए। अर्गानिक तरकारी खरिद गर्न बेनीबजारबाट धेरै ग्राहक बारीमा नै आउन थालेका छन्। कोरोनापछि अर्गानिक तरकारी खोज्दै उनको बारीमा धेरै उपभोक्ता पुग्छन्। प्रांगारिक तरकारी खेती गर्न पाउँदा एकदम खुसी लागेको उनी बताउँछन्।

जिल्लाका ६ वटा स्थानीय तहमा गरी दुई सयभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्य आम्दानी गर्न थालेका कृषि प्राविधिक जगत बानियाँको अनुभव रहेको छ। बानियाँ भन्छन्, 'कोरोना कहर सुरु भएयता मानिसले अर्गानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गर्दा गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो।'

विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा धेरै हानि गर्ने हुँदा सबैले अर्गानिक खेती गर्नु राम्रो हुने कृषि विज्ञको भनाइ रहेको छ। म्याग्दीमा निजी क्षेत्रले करोडौँ लगानीमा कृषिफार्म सञ्चालन गरेका छन्। जिल्लाको बेनीनगरपालिका-४ सिंगा र आवेबगरमा करिब १० करोड रूपैयाँको लगानीमा सञ्चालित हरियाली कृषि फार्म र मंगला गाउँपालिकाको हिदीमा तीन करोड रूपैयाँको लगानीमा प्रांगारिक कृषि फार्म सञ्चालित छन्। यी कृषि फार्मले पनि प्रांगारिक उत्पादनमा जोड दिँदै आएका छन्।

म्याग्दीमा पछिल्लो समय अर्गानिक कृषितर्फ युवाको पनि आकर्षण बढ्दै गएको छ। विशेष गरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवा अर्गानिक खेतीतर्फ लागेका छन्। कोरोना महामारी बढेसँगै वैदेशिक रोजगारीमा जान नपाउँदा घरमै अलमलिएका म्याग्दीका युवा कृषिमा प्रविधिको प्रयोग गरी बाँझो जमिन जोत्ने र खाद्यान्न उत्पादन बढाउने काममा लागेका छन्।

सरकारले कृषिमा विभिन्न अनुदानका कार्यक्रम ल्याइ कृषि उपकरण लगायत मल र बीउको पनि सहजरुपमा व्यवस्था गर्न थालेपछि कृषि क्षेत्रमा पनि युवाहरुको आकर्षण बढ्दै जान थालेको हो। विगत दुई वर्ष अघिको तुलनामा अहिले म्याग्दीमा कृषि उपजहरुको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

दुई वर्षअघि सम्म कुल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकामा अहिले ८२ प्रतिशत जमिनमा खाद्यान्न, तरकारी र फलफूल खेती विस्तार गरिएको छ। रासस


प्रकाशित : बुधबार, भदौ १३ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend