आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

रैथाने आलु बाली जोगाउन किसानलाई अनुदान

images
बुधबार, भदौ १३ २०८०
images
रैथाने आलु बाली जोगाउन किसानलाई अनुदान

रैथाने आलु बालीको खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउनका लागि १० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

images
images

कञ्चनपुर- रैथाने आलु बाली प्रवर्द्धन गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गर्ने भएको छ। बेदकोट र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा रैथाने आलु बाली प्रवर्द्धनका लागि अनुदान कार्यक्रम सञ्चालन हुन लागेको हो। 

images
images
images

केन्द्रले रैथाने आलु बालीको खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउनका लागि १० लाख रूपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। बीउ, मलखाद, सिँचाइ र प्रविधिमा किसानलाई अनुदान उपलब्ध गराइने केन्द्रका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले बताए। उनका अनुसार किसान, किसान समूह, सहकारीमार्फत कार्यक्रम सञ्चालन गरिने भएको छ।

images
images

'छनोट भएका किसान, किसान समूह र सहकारीलाई सुदूरपश्चिम प्रदेशअन्तर्गत कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन नियमावली अनुसार कार्यक्रम सञ्चालन गरिनेछ', जोशीले भने, 'अनुदान परिचालन गरी तीनवटै पालिकामा पेस गरिएका प्रस्तावका आधारमा कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रमअन्तर्गत २५ हेक्टर क्षेत्रफलमा रैथाने आलु बालीको व्यावसायिक खेती गर्ने लक्ष्य लिइएको छ।'

images
images

खानमा स्वादिलो र थोरै मेहतमै धेरै फल्ने रैथाने आलु लोपोन्मुख अवस्थमा पुगेपछि प्रवर्द्धनका लागि कार्यक्रम अगाडि बढाइएको जोशीको भनाइ थियो। 'रैथाने आलुलाई स्थानीय थारु समुदायले घरैया आलु भन्ने गर्दछन्। घरैया आलुको माग बजारमा बढ्दो छ', उनले भने।

जोशीका अनुसार उन्नत जातका टिपिएस, कार्डिनललगायतका आलुको खेतीप्रति किसानको आकर्षण बढदै गएपछि रैथाने जातका आलु ओझेलमा पर्दै गएका छन्। थारु समुदायले पुर्खौँदेखि रैथाने आलुको खेती गर्दै आएका उनले बताए।

'थोरै क्षेत्रफलमा घरैया आलु रोपिने भएकाले माग अनुरुप उत्पादन गर्न नसकिएको छैन', किसान कालुराम चौधरीले भने, 'बजारमा बेच्न लैजादा हातोहात बिक्री हुन्छ। ग्राहकले माग गरे अनुरुप पुर्‍याउनै सकिँदैन।'

परम्परागत रुपमा जैविक विधिको प्रयोग गरी लगाइने भएकाले स्वास्थ्यका लागि फाइदाजनक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहीने र डुढुवालगायतको रोग सहन सक्ने क्षमता भएकाले यसको माग बढेको उनले बताए।

कृषि ज्ञान केन्द्रले अनुदानका कार्यक्रम सञ्चालन गरेपछि रैथाने आलु खेती गर्दै आएका किसानको मनोबल वृद्धि भएको शुक्लाफाँटा कृषि शाखाका प्रमुख करन सिंह बुढाऐरले बताए। 'खेती गर्दै आएका किसानलाई हौसला बढेको छ', उनले भने, 'यस खेती प्रति अन्य किसानको आकर्षण पनि बढछ भन्ने लागेको छ।'

विकासे आलुको तुलनामा स्थानीय जातको आलुको दाना सानो अर्थात् पाँच ग्रामदेखि १० ग्रामको मात्रै हुने बुढाऐरले जानकारी दिए। उनका अनुसार हाल आलु लगाउने आधुनिक प्रविधिको प्रयोग हुन थालेपछि विगतको तुलनामा दाना ठूलो उत्पादन हुन थालेका छन्।

स्थानीय किसानका अनुसार एक कठ्ठा जग्गामा घरैया (रैथाने) आलु २० किलो बीउको एक क्विन्टल बढी उत्पादन हुने गरेको छ। रासस


प्रकाशित : बुधबार, भदौ १३ २०८००९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend