आइतबार, वैशाख २३ गते २०८१    
images
images
टिप्पणी

समृद्धिको नयाँ यात्रा : प्रदेशका मुखियालाई केन्द्रमा भव्य निवास

images
images
images
समृद्धिको नयाँ यात्रा : प्रदेशका मुखियालाई केन्द्रमा भव्य निवास

भारतीय शैलीको सिकोमा केन्द्रमा प्रदेशका प्रमुख तथा मुख्यमन्त्री निवास उद्घाटन गरेर हौसिएका प्रधानमन्त्री दाहालले नयाँ भवनले समृद्ध सुसंस्कृत प्रणाली र विधिविधानमा चल्न प्रेरणा मिल्ने पनि बताए।

images
images

काठमाडौं- सरकारको प्राथमिकता के हो? नागरिक? होइन। नेताको सुविधा? त्यस्तै देखिन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रमा सरकारले गरिरहेका कामहरू नागरिक सुविस्ताका लागिभन्दा आफू र आसेपासेको रेखदेखतर्फ केन्द्रित देखिन्छ। नागरिक केवल एक भोटमा नै सीमित भइरहेका छन्। 

images
images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुर महानगर सैँवुस्थित प्रदेश प्रमुख तथा मुख्यमन्त्री निवासको साँचो हस्तान्तरण गरेपछि नागरिकहरू आफूले चुनेका नेताविरुद्ध फेरि आक्रोशमिश्रित दु:खसो गरिरहेका छन्। प्रदेशमा महत्वपूर्ण निकायहरू भाडाको भवनमा चलिरहँदा केन्द्रमा ‘प्रदेशका मुखिया’लाई भव्य आवास ‘मुखमा दल्ने माड छैन, कुनि कहाँ लगाउन घ्यू’ भनेजस्तो भएको छ। 

images

सामाजिक सञ्जालमा आइरहेका अनेक टिप्पणीबीच पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले लेखेका छन्, ‘कठै,  हामी कुन युगमा छौँ?  अन्यथा नलिनुहोला यो फोटो देखेर लाज लागेर आयो। हाम्रा प्राथमिकता के हुन्? औपचारिकताबाट होइन, कामबाट मन जितौँ।' पोखरेलले जस्तै धेरैले आवश्यकताअनुसार नै निर्माण गरिएको हो भने पनि ‘यो अलि बढी भयो’ भन्ने आशयमा प्रतिक्रिया दिएका छन्।

images

हरेक भाषणमा ‘जनता’ र ‘जनताका लागि’ यसो उसो भनिरहँदा सरकार बनाउने र ढलाउने केन्द्रको राजनीतिक अभ्यास प्रदेशमा समेत गरिरहेका नेताहरूले प्रदेशमाथिको आफ्नो प्रभुत्व अझ बढाउने प्रयासमा अहिलेका काम भएको देखिन्छ। 

images
images

२०७६ भदौ २७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेर असोज २६ गतेदेखि निर्माण कार्य सुरु भएको निवास भवन चार वर्षमा निर्माण सम्पन्न भएको हो। जहाँ सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीको एक/एक भवन एउटै कोलोनिमा निर्माण गरिएको छ। सातै प्रदेशका ७ ब्लकमा दुई-दुई वटा भवन छन्। प्रदेश प्रमुख र मुख्यमन्त्रीका भवन सँगसँगै जोडिएका छन्। हरेक भवन साढे दुई तलाका छन्।

१७ रोपनी ७ आनामा भवन, पाँच रोपनीमा आन्तरिक सडक र ८ आनामा पोखरी र बगैँचा क्षेत्र रहेको छ। केसी-समानान्तर जेभीले पूर्वाधार निर्माण गरेको हो। अत्याधुनिक सुविधायुक्त भवनसहित सबै पूर्वाधारको लागत मूल्य अभिवृद्धि करसहित ८५ करोड रूपैयाँ रहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। जसमा जग्गाको मूल्य जोडिएको छैन। आन्तरिक सजावट गर्न २० करोड रूपैयाँ खर्च भएको छ। 

७ ब्लकभित्र थप ७ ब्लक र सुरक्षा गार्डका लागि अलग्गै भवनको व्यवस्था गरिएको छ। भवन निर्माणसँगै आन्तरिक फर्निचर, हलको पार्टिसन, भान्सा, बाथरूमलगायत विभिन्न कक्ष बनेका छन्। प्रदेश प्रमुख र मुख्यमन्त्रीसँग रहने सवारी चालक, अंगरक्षक, स्वकीय सचिव र निजी सचिवका लागि कोठाको व्यवस्थापन गरिएको छ। 

प्रधानमन्त्री दाहालले आइतबार प्रदेश प्रमुखहरूलाई साँचो हस्तान्तरण गर्दै प्रदेशहरूलाई प्रभावकारी बनाउन तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नवनिर्मित भवनले सहयोग पुग्ने भाषण गरे। भवनको बखान गर्दै उनले भने, ‘प्रदेश प्रमुख र मुख्यमन्त्रीको भवन सुन्दर छ, भैँसेपाटी ठाउँ पनि रमाइलो छ, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा बेलामौकामा केही मानिसले प्रश्न उठाउने गर्छन् त्यसको जवाफ पनि हो यो। जुन संघीयता संस्थागत गर्न एक कदम अघि बढेको छ।'

भारतीय शैलीको सिकोमा केन्द्रमा प्रदेशका प्रमुख तथा मुख्यमन्त्री निवास उद्घाटन गरेर हौसिएका उनले नयाँ भवनले समृद्ध सुसंस्कृत प्रणाली र विधिविधानमा चल्न प्रेरणा मिल्ने पनि बताए।

6F8A9608.jpg

नेताहरूमा आवास मोह कति छ भन्ने उदाहरण दिएजसरी उनले नयाँ मन्त्री बनेपछि पुल्चोकको मन्त्री निवासमा को पहिला गएर कुन क्वाटरमा बस्ने भन्ने ‘लिगलिगे दौड’ हुने गरेको सुनाउँदै अब त्यस्तो प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। 

अन्तरप्रदेश परिषद् साथै राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक लगायत केही सीमित कामका लागि काठमाडौं आउनुपर्ने प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीका लागि भाडामा बस्न सुविस्ता नहुने भन्दै बनाइएको कोलोनिले अहिले प्रदेशहरूकै दूरावस्थाको खिल्ली उडाइरहेको छ। अहिले प्रदेश प्रमुख र मुख्यमन्त्रीले काठमाडौं आउँदा बस्दै आएको अपार्टमेन्टका लागि मासिक १० लाख रूपैयाँ खर्च भइरहेको बताउँदै यी भवनको औचित्य पुष्टी गर्ने सरकारी प्रयास नागरिकले चित्त बुझाएका छैनन्। 

कतिपय पूर्वमुख्यमन्त्रीहरूले नै काठमाडौं जाँदा सुविस्ता र सुरक्षित आवास राम्रो कुरा भएको भए पनि अहिलेको आलिसान शैली अलि अनावश्यक देखिएको टिप्पणी गरिरहेका छन्। 

संघीयताको मर्मअनुसार काम नभएकोमा नागरिक असन्तुष्ट रहँदा केन्द्रमा त्यस्ता भवन कति उपयुक्त हो भन्ने बहस संघीयता कार्यान्वयनसँग समेत जोडिएको छ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य यो अलि बढी नै भएको र अनावश्यक देखिएको बताउँछन्। यस्तोमा आइतबार प्रधानमन्त्रीसँग साँचो बुझेका मुख्यमन्त्रीहरू नै पनि आवश्यक हो या होइन भन्ने दोहोरो भनाइ बोलिरहेका छन्। 

प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीहरूको प्राथमिकता त आइतबारकै कार्यक्रममा पनि देखियो नै। भवन हस्तान्तरण कार्यक्रममा संघीय सरकारका प्रधानमन्त्री र १० मन्त्रीका साथै सातै प्रदेशका प्रमुख र मुख्यमन्त्री गरी २५ जना विशिष्ट व्यक्ति उपस्थित भए। भवनमा केही भित्री काम बाँकी छँदै गरिएको साँचो हस्तान्तरण राष्ट्रिय महत्वको विषय बन्यो। हुन पनि के थाहा प्रधानमन्त्री दाहालले भनेजस्तो नागरिकका लागि समृद्धिको नयाँ यात्रा नै प्रदेशका मुखियालाई केन्द्रमा निवास पो हो कि!

images

प्रकाशित : मंगलबार, भदौ १२ २०८००१:४४

प्रतिक्रिया दिनुहोस