शनिबार, साउन १२ गते २०८१    
images
images
images

भार्लाङमा सिँचाइ सुविधापछि बाह्रैमास तरकारी खेती

images
मंगलबार, भदौ १२ २०८०
images
images
भार्लाङमा सिँचाइ सुविधापछि बाह्रैमास तरकारी खेती

सिँचाइ योजनामार्फत जुगेडी, लामा गाउँ, सिमलडाँडा, नेवार गाउँ, चेपाङ टोलदेखि चौतारासम्मका नागरिक लाभान्वित भएका छन्।

images

भरतपुर- चितवनको भरतपुर महानगरपालिका-२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ। महानगरपालिकाको ७१ लाख रूपैयाँको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन्।

images
images

महानगरपालिकाका प्रमुख दाहालले सिँचाइ सुविधा पुगेपछि गाउँ हराभरा भएको बताइन्। उनले महानगरपालिकाले सिँचाइलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको बताइन्। ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ। सबै क्षेत्रमा सिँचाई सुविधा पुर्‍याउन महानगरपालिका लागिपरेको छ,’ प्रमुख दाहालले भनिन्।

images

महानगरपालिकाले भूमिगत सिँचाइलाई पनि प्राथमिकता दिइरहेको छ। पाँच वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको प्रमुख दाहालले बताइन्।

उक्त आयोजनाका इन्जिनियर विजयराज न्यौपानेले सिँचाइ योजनामार्फत जुगेडी, लामा गाउँ, सिमलडाँडा, नेवार गाउँ, चेपाङ टोलदेखि चौतारासम्मका नागरिक लाभान्वित भएको जानकारी दिए। मुख्य पाइप लाइन विस्तारमा ४३ लाख, ट्यांकी निर्माणमा २० लाख र शाखा पाइपलाईन विस्तारमा आठ लाख रूपैयाँ खर्च भएको छ। आयोजनाको काम २०७८ सालदेखि सुरु भएको हो।

images

भार्लाङका चित्रबहादुर गुरुङ सिँचाइ सुविधा पुगेपछि व्यवसायीकरुपमा कृषि कर्म थालिएको बताउँछन्। उनी आफैले पनि व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन्। विगतमा जेततेन दुई कठ्ठामा मात्र धान रोप्दै आएका गुरुङले अहिले नौ कठ्ठामा रोपेका छन्।

'सिँचाईको अभाव थियो। यहाँ कोदो, मकै, गहत, मास मात्र उब्जनी हुन्थ्यो,’ ट्यांकी निर्माण गर्न जग्गासमेत दिएका गुरुङले हराभरा भएको खेत देखाउँदै भने, 'अहिले मकै भाँचेर धान रोपेको छु। धान काटेपछि तरकारी खेती गर्ने योजना छ।'

सिँचाइ कुलो नहुँदा हिँउदे खेती लगाउन नपाएर पुरै जमिन बाँझो राख्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय भार्लाङ टोल विकास संस्थाका अध्यक्ष मिलन श्रेष्ठ बताउँछन्। ‘मकै, कोदो लगाउँथ्यौँ। तरकारी र धान रोप्न पानी नहुने, उनले भने, 'यसवर्ष आठ कठ्ठामा धानसमेत रोपेको छु। अहिलेसम्म राम्रो देखिएको छ। तरकारी खेतीको विस्तार गर्ने योजना छ।’

भरतपुर महानगरपालिकाको सहयोगमा करिब तीन किलोमिटर दुरीमा रहेको भार्लाङ खोलाबाट बस्तीमा सिँचाइका लागि पानी ल्याइएको छ। खोलाको पानी ट्यांकीमा संकलन हुन्छ। ट्यांकीको क्षमता डेढ लाख लिटरको छ। त्यहाँबाट पाईमार्फत किसानको खेत खेतमा पानी पुर्‍याइएको उनले बताए। भरतपुर-२९ का वडा सदस्य डिल कुमार श्रेष्ठले कोदो र मकै मात्र हुने गाउँमा सिचाइँको सुविधापछि धान र बाह्रै मास तरकारी फल्ने गरेको बताए। उनले हरेक महिना गाउँघर हरियाली भएको भन्दै सबै स्थानिय व्यवासायिक रुपमा तरकारी खेतीमा लागेको जानकारी दिए।

भरतपुर-२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले भैगोलिक रुपमा विकट रहेको वडालाई कृषि र पर्यटनमार्फत समृद्ध बनाइने बताए। उनले आवश्यकताका आधारमा वडाका अन्य क्षेत्रमा पनि सिचाइँ सुविधा पुर्‍याउने प्रतिबद्धता जनाए। रासस


प्रकाशित : मंगलबार, भदौ १२ २०८००८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend