शुक्रबार, असोज ४ गते २०८१    
images
images

म्याग्दीका १९ सडक र मोटरेबल पुल अधुरा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ३० २०७८
images
images
म्याग्दीका १९ सडक र मोटरेबल पुल अधुरा

२०७७ माघमै सकिनुपर्ने सडक सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको बेनीको मंगलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४ सय मिटर दुरीको सडक कालोपत्रे गर्ने योजना पनि अधुरो छ। 

images
images

म्याग्दी- म्याग्दी १९ वटा सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधुरा छन्। तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र संघीय सरकारका आठ वटा छन्। पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गत छ वटा सडक र पाँच वटा मोटरेबल पुल ढिलासुस्तीले थलिएका छन्। 

images
images
images

बेनी-जोमसोम-कोरला सडक आयोजनाको तीन वटा प्याकेजका सडक र दुई वटा मोटरेबल पुल निर्माणको काम पनि समयमै पूरा हुन सकेका छैनन्। एक वर्षअघि नै निर्माण सकिनुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा सञ्चालित पोखरेबगर–चित्रे सडकको ६० प्रतिशत र घारखोलाको मोटरेबल पुलको भौतिक प्रगति २२ प्रतिशत छ।

२०७७ माघमै सकिनुपर्ने सडक सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको बेनीको मंगलाघाटदेखि हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४ सय मिटर दुरीको सडक कालोपत्रे गर्ने योजना पनि अधुरो छ। 

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनीयर सन्तोष अर्यालले निर्माण व्यवसायीको समस्या, संघबाट प्रदेशमा आयोजना हस्तान्तरणमा भएको प्रक्रियागत ढिलाइ, कोरोना महामारी, पहिरोबाढी र कटानका कारण सडक र पुल निर्माण कार्य प्रभावित भएको बताए।

images

'कोरोना र खरिद ऐनको संशोधनका कारण थपिएको सबै आयोजना आगामी चैत महिनामा सकिँदैछ', उनले भने, 'अधुरो आयोजनालाई पूर्णता दिन ताकेता र समन्वय गरिरहेका छौँ।' पूर्वाधार विकास कार्यालयअन्तर्गत बेनी-दरबाङ सडकको दुई वटा प्याकेज, रत्नेचौर-बेनी सडकको दुई वटा प्याकेज, गलेश्वर-भगवती र दरबाङ धारापानी सडक आयोजनाको भौतिक प्रगति अपेक्षाकृत छैन।
 
गत असारमै सकिनुपर्ने भारबाङस्थित म्याग्दी खोला र अर्गलाको मराङखोलाको पुलको दुईतर्फ पिल्लर ठडाएका छन्। छ्यारछ्यारेको म्याग्दी खोलाको पुलको जग मात्र खनिएको छ। दुई वर्षअघि सम्झौता भएको दाङखोलाको पुल निर्माण अझै सुरु भएको छैन। दुई वर्षअघि नै बनेको स्वाँतखोलाको मोटरेबल पुलसम्म पुग्ने पहुँचमार्ग निर्माण नहुँदा प्रयोगमा आउन सकेको छैन। 

दुई वर्षअघि नै सकिनुपर्ने २०७३ मा सुरु भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाको गलेश्व--नारच्याङ पुल खण्डको ६० प्रतिशत, नारच्याङ पुल-घाँसा खण्डको ६० प्रतिशत र गलेश्वर-राहुघाट खण्डको भौतिक प्रगति ७० प्रतिशत छ। आयोजना प्रमुख जगत प्रजापतिले गलेश्वरस्थित राहुघाट नदीमा निर्माणाधीन ४० मिटर लामो मोटरेबल पुल अन्तिम चरणमा पुगेको बताए। 

६६ प्रतिशत भौतिक प्रगति भएको रुप्सेखोलामा निर्माणाधीन ४० मिटर लम्बाइको मोटरेबल पुल बाढीपहिराले क्षतिविक्षत भएपछि पुनःठेक्का आह्वानको तयारी भएको छ। 

पोखरेबगर र महभिरस्थित कालीगण्डकी नदीमा हालै पक्की पुल निर्माण गरेको सडक विभागअन्तर्गत पुल महाशाखाले बेगखोलामा पनि पक्की पुल बनाउन ठेक्का प्रक्रिया सुरु गरेको छ। सडक र पुल निर्माणमा भएको ढिलासुस्तीले स्थानीयवासीलाई आवतजावतमा सास्ती, दुर्घटनाको जोखिम, आयोजनाको लागत र ढुवानी खर्च बढेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए।  

निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले नीतिगत समस्या, नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन र समयमा भुक्तानी नहुनु, विद्युत्का पोल र तार तथा खानेपानीको पाइप ब्यवस्थापनमा समन्वयको कमी र सामाजिक समस्याका कारण निर्माणमा असर परेको बताए।  

जिल्ला प्रशासन कार्यालयले सोमबार बेनीमा आयोजना गरेको सम्बद्ध आयोजना, निर्माण ब्यवसायी, जनप्रतिनिधिको संयुक्त बैठकमा निर्माण व्यवसायीले पूर्वनिर्धारित समय, लागत र गुणस्तरमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले सडक र मोटरेबल पुलमा देखिएको समस्या पहिचान गरी निर्माणमा तीव्रता दिने प्रतिबद्धतापत्र जारी भएको जानकारी दिए। रासस 


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend