शनिबार, मंसिर ८ गते २०८१    
images
images

के हो इनरुट मौसम? उडानपूर्व एयरलाइन्स कम्पनीले कसरी पाउँछन् सूचना?

images
सोमबार, भदौ ११ २०८०
images
images
के हो इनरुट मौसम? उडानपूर्व एयरलाइन्स कम्पनीले कसरी पाउँछन् सूचना?
images
images

काठमाडौं- सुरक्षित मानिने हवाई यात्राका सन्दर्भमा नेपालमा यात्रुहरूका थुप्रै गुनासा छन्। समयमै उडान नहुने, भइहाले पनि गन्तव्य नपुग्दै जहाज फर्किने जस्ता भइपरिआउने विषयले यात्रुहरू मानसिक तनावमा हुन्छन्। त्यही तनावका कारण यात्रुहरूले समग्र सेवा तथा प्रणालीप्रति असन्तुष्टि पोख्छन्।

images
images
images

यात्रुको असन्तुष्टि जायज रहे पनि मौसमका कारण विमान कम्पनीहरूको सञ्चालन खर्च निकै बढ्न जान्छ। केही मिनेटको उडान घण्टौँ लाग्दा तथा गन्तव्यमा अवतरण नहुँदा जहाजको उडान-अवतरण साइकल पनि उत्तिकै खेर जान्छ। यसले विमान कम्पनीहरूले ठूलो घाटा व्यहोर्नु परेको छ।

images

हवाई सेवा सञ्चालन गर्ने कम्पनीको व्यवस्थापन, विमानस्थलको सेवा तथा मानवीय व्यवाहर लक्षित यात्रुको गुनासो भएपनि उडानलाई प्रभावित पार्ने पक्षहरू थुप्रै हुन्छन्। ती सबै व्यवस्थापन भएपनि उडानलाई प्रभावित पार्ने अरु विभिन्न बाधा अड्चन हुन्छन्। हिउँदमा हुस्सु र वर्षामा झरीले गर्दा उडान सेवा प्रभावित हुन्छ। तुलनात्मक रुपमा वर्षाको समयमा उडान धेरै र छिन छिनमा प्रभावित हुने गरेको छ।

images

नेपालको भौगोलिक अवस्था, मौसमी घटना आदिका कारणले गर्दा उडान सेवा प्रभावित हुँदै आएको छ। उडान सेवा नै अवरुद्ध हुनेगरि मौसमी घटनाको पूर्वानुमान, सम्प्रेषण, संकलनको विधि र पद्धति कस्तो छ? उडानका लागि अनुकुल मौसम नभएपछि अर्कै विमानस्थलमा जहाज पुग्छन्। यस्तो मौसमको अनुमान र त्यस्तो सूचनाको सम्प्रेषण कसरी हुन्छ त? 

मौसमी अवस्थाको पहिचान र त्यसको सम्प्रेषणको काम 'जल तथा मौसम विज्ञान विभाग'ले गर्छ। विभागले उडानको प्रकृतिअनुसार फरक फरक मौसमी बुलेटिन उपलब्ध गराउँदै आएको छ। 

अन्तर्राष्ट्रिय उडानका लागि इनरुट मौसमको जानकारी भने सहज हुन्छ। अन्तर्राष्ट्रिय उडानहरू ३४ हजार फिटको उचाइमा हुन्छन् त्यो उचाइमा हुँदासम्म सामान्य मौसमी घटनाले प्रभावित पार्दैनन्। 

अन्तर्राष्ट्रिय उडानका लागि उड्ने र अवतरण गर्ने विमानस्थलको सूचना जारी गरिन्छ। त्यसबाहेक आपतकालीन विमानस्थलको सूचना पनि उपलब्ध हुन्छ। तर आन्तरिक उडानका हकमा भने मौसमी अनुमान र सूचनाको सम्प्रेषण जटिल हुन्छ। विभागसँग उडान गन्तव्यको रोष्टर पहिलेदेखि नै हुन्छ। सोही गन्तव्यअनुसारको मौसमी अवस्था, त्यसपछि हुन सक्ने गतिविधिको अनुमानसहितको सूचना सम्प्रेषण गर्छन्। 

आन्तरिक उडानका लागि मौसमी अनुमान जटिल भएपनि त्यहीअनुसारको प्रविधि भित्र्याउने काम भएको छैन। इन्टरनेटको पहुँच अहिले सबै जिल्लामा व्यापक छन्। स-साना क्यामेरा जडान गरेर पनि सूचनाहरू संकलन गर्न सकिन्छ।

मौसम विभागले ‘सिग्निफिकेन्ट वेदर चार्ट’ बनाएको छ। यस्तो चार्टमा कुन उचाइमा उडान गर्ने जहाज र कुन गन्तव्य हो त्यही लक्षित सूचना संकलन तथा सम्प्रेषण हुन्छ। हावाको गति तथा तापक्रममा पनि सोहीअनुसार काम हुन्छ। अन्तर्राष्ट्रिय उडानको हकमा यसरी नै मौसमको जनाकारी गराउने प्रणाली रहेको विभागका प्रवक्ता सुमन कुमार रेग्मीले जानकारी दिए। तर आन्तरिक उडानका हकमा भने विभागको सूचना प्रणाली जटिल र विस्तृत हुन्छ। उडानको प्रकृति, जटिलताका आधारमा सूचनाको प्रकृति फरक हुन्छ।

‘आन्तरिक उडानको समय छोटो हुन्छ। पहाडतिरको उडान २०-३० मिनेटको उडान हुन्छ। आन्तरिक उडानका लागि तत्कालको मौसम विवरण चाहिन्छ। उनीहरूलाई १ घण्टाभित्र नै के हुन्छ भनेर जानकारी दिनु पर्छ। उदाहरणका लागि काठमाडौंबाट लुक्ला जाने उडान २० देखि २५ मिनेटको हुन्छ’ रेग्मीले भने।

आन्तरिक उडानका लागि मौसमी जानकारी दिने प्रक्रिया विस्तृत हुन्छ। जस्तो काठमाडौंबाट लुक्ला उडानका बारेमा जानकारी दिनुपर्दा विभागले काठमाडौं र लुक्ला विमानस्थलको मात्र होइन त्यहाँसम्म पुग्ने रुटको मौसमी अवस्थाका बारेमा पनि सूचना संकलन गर्छ। स्याटेलाइट इमेज हेरेर अवस्थाको जानकारी विमानस्थल तथा एयरलाइन्सका सम्बन्धित अफिसियललाई दिइन्छ।

आन्तरिक उडानका लागि इनरुट (उडान सुरू हुने विमानस्थलदेखि अवतरण हुने विमानस्थल) मौसमी अवस्थाको जानकारी दिनुपर्छ। तर अन्तर्राष्ट्रिय उडानका लागि यस्तो हुँदैन। किनभने आन्तरिक उडान ८ हजार फिटसम्मको उचाइमा हुन्छ। जुन उचाइमा आन्तरिक उडानका जहाज उड्छन् त्यहाँ मौसम परिवर्तन तीव्र हुन्छ त्यसैले गर्दा रूटकै मौसमी अवस्थाका बारेमा जानकारी दिनुपर्छ। 

विभागले प्रविधिको प्रयोगबाट उन्नत मौसमी अनुमान प्रणालीको विकास गरेको छ। प्रक्षेपण मोड्युलिङबाट मौसमी अवस्थाको प्रक्षेपण गर्छ। ‘४ घण्टामा वा ६ घण्टामा मौसम परिवर्तन हुँदैछ वा अबको १ र २ घण्टामा त्यहाँको मौसम यस्तो हुनसक्छ भनेर पूर्वअनुमान गरेर यो समयसम्म गइसक्नु पर्छ, यो रुटमा चाहिँ चट्याङसहितको बादल छ वा बाक्लो बादल छ अहिले जान सक्नुहुन्न, २ र ३ घण्टा पछि बल्ल खुल्छ वा बिहानमा समस्या छ भने दिउँसोतिर मात्रै खुल्छ भनेर जानकारी दिइन्छ। यसैगरी स्याटलाइट तस्बिर हेरेर विश्लेषण गरेर पनि सूचना दिने गरिन्छ’ रेग्मीले भने। 

यद्यपि विभागले आन्तरिक उडानका लागि आवश्यक विस्तृत र अनुमानयोग्य तथ्यांक भने अझै उपलब्ध गराउन सकेको छैन। आवश्यक प्रविधि र जनशक्ति नहुँदा विभाग यस्तो मौसमी अनुमानको विवरण दिन सक्षम छैन। १० हजारदेखि २५ हजार फिटसम्मको इनरुट मौसमको जानकारी भने गराइरहेको छ। स्याटेलाइट तस्बिर तथा क्यामेराका आधारमा ३, ४, ६ घण्टापछिको मौसम कस्तो हुन्छ र तत्काल कस्तो छ भन्ने सम्मको जानकारी विभागले दिँदै आएको छ। तर यो सुविधा निकै कम र सीमिति रहेको छ।

भौगोलिक कारणले पनि आन्तरिक उडान जटिल छ। पहाडका खोच भएर जानुपर्ने इनरुट रहेको छ। यस्तो अवस्थामा मौसमी अवस्था छिनछिनमा बदली भइरहेको हुन्छ। पोखराबाट जोमसोमका लागि जहाज उड्दा इनरुट ठीक भएपनि पुग्नेबेला खराब भइसकेको हुन्छ। त्यस्तो ठाउँमा आकस्मिक मौसमी बदलीले जटिलता ल्याउने गरेको छ। त्यसैले यसका लागि सुक्ष्म मौसमी प्रक्षेपण गर्नुपर्ने हुन्छ।

विभागले अहिले १०/१० मिनेटमा अपडेट हुने स्याटेलाइट तस्बिर हेर्ने गरेको छ। यही आधारमा सूचना संकलन गरेर सम्प्रेषण गरिन्छ।   अहिलेका सन्दर्भमा यही पनि प्रभावकारी भएको रेग्मीको भनाइ छ।

विभागले सबै सूचना एयरलाइन्स कम्पनी र विमानस्थलहरूलाई दिइरहेको हुन्छ। त्यही आधारमा विमानस्थल र एयरलाइन्सले उडानको योजना बनाउँछन्। 

यद्यपि विभागकै सीमित क्षमताका कारणले गर्दा मौसमी सूचना प्रणाली प्रभावकारी हुन सकेको छैन। तराईका विमानस्थलमा उपकरणलगायत कर्मचारी भएपनि पहाडी तथा दुर्गम क्षेत्रका विमानस्थलमा त्यो सुविधा पुगेको छैन। जोमसममा भने 'अब्जरभेसन' केन्द्र रहेको छ।

मौसमको सहि जानकारी नहुँदा विमान कम्पनीहरूले निकै घाटा व्यहोरिरहेका छन्। पर्वतीय उडानमा हिमाल देखिनुपर्ने हुन्छ। यसको पूर्वजानकारी मौसम विभागले नदिँदा हरेक दिन उडान भरेरै हिमाल देखिएको छ छैन जानकारी लिइ उडानलाई निरन्तरता दिनुपर्छ। नदेखिएको खण्डमा जहाज पुनः काठमाडौंमा नै अवतरण हुन्छ।

आन्तरिक उडानमा बुद्ध एयरले मौसमसम्बन्धी थप जानकारीका लागि जापानको मौसमसम्बन्धी कम्पनीसँग सहकार्य गरेको छ। उसले हरेक उडानपूर्व विमानस्थलको मौसम तथा भिजिविलिटी लाइभ क्यामेराबाट लिन्छन्। त्यसैगरी इनरुट तथा बादलको प्रभाव के कति छ, त्यो जानकारी पनि 'वेदरन्युज'सँग लिने गरेको छ।


प्रकाशित : सोमबार, भदौ ११ २०८००८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend