आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कोभिड र मूल्यवृद्धिले बढाउँदैछ जीवनयापनको संकट, चरम गरिबीको विस्तार

शुक्रबार, भदौ ८ २०८०
कोभिड र मूल्यवृद्धिले बढाउँदैछ जीवनयापनको संकट, चरम गरिबीको विस्तार

यी सबै जोखिमका बीच पनि एसिया प्रशान्त क्षेत्रका देशहरूले गरिबविरुद्धको अभियानलाई जारी राख्ने एडीबीले विश्वास लिएको छ। यद्यपि सन् २०३० सम्म पनि यो क्षेत्रका ३० प्रतिशत अर्थात १ अर्ब २६ करोड मान्छे आर्थिक रुपमा कमजोर अवस्थामै रहने एडीबीको प्रक्षेपन छ। 

काठमाडौं- पछिल्ला चार वर्षदेखिका विभिन्न घटनाका कारण विथोलिएको आर्थिक अवस्थाले जीवनयापानको संकट विस्तारित भइरहेको छ। कोरोना महामारीको प्रभाव घटेसँगै बढेको मूल्यवृद्धिको उभारले गर्दा एसियाली क्षेत्रमा गरिबको सख्या बढेको एसियाली विकास बैंकको नयाँ प्रतिवेदनले देखाएको छ। 

कोरोनाअघिको तुलनामा पछिल्लो समय ६ करोड ७८ लाख गरिब एसिया प्रशान्त क्षेत्रमा थपिएको उक्त प्रतिवेदनले देखाएको छ। पछिल्लो तथ्यांक अनुसार एसिया प्रशान्त क्षेत्रमा १५ करोड ५२ लाख मान्छे चरम गरिबीमा रहेका छन्। यो भनेको कूल जनसंख्याको ३.९ प्रतिशत हो। दैनिक गुजाराका लागि २.१५ अमेरिकी डलरभन्दा न्यून आम्दानी गर्ने(सन् २०१७ को मूल्यमा) गर्नेलाई चरम गरिबीको सूचीमा राखिन्छ। 

पछिल्लो समयको विश्वव्यापी आर्थिक मन्दीको असर बढ्दै गएको उक्त प्रतिवेदनले देखाएको छ। बहुआयामिक प्रभाव र असरका कारणले मान्छेहरूको दैनिकी संकटोन्मुख भएको उल्लेख गरिएको छ। जीवनयापानमा कठिनाइ हुने मान्छेहरूको संख्या उल्लेख्य बढेको प्रतिवेदनले औँल्याएको छ। 

खाद्यान्न र इन्धन जस्ता अत्यावश्यक वस्तुको उच्च मूल्य तिर्न नसक्ने भएकाले जीवनयापनको बढ्दो सङ्कटबाट गरिब मानिसहरू सबैभन्दा बढी मारमा परेका छन्। आधारभूत वस्तु र सेवाको मूल्यमा भएको वृद्धिले धेरै गरिबहरूलाई पैसा बचत गर्न, स्वास्थ्य हेरचाहको लागि भुक्तानी गर्न वा शिक्षा र अन्य अवसरहरूमा लगानी गर्न असमर्थ बनाउँदै गएको छ।

अहिलेको यो अवस्थाले तत्कालमात्र होइन भविष्यलाई समेत प्रभावित पार्ने जोखिम रहेको छ। अहिले शिक्षा र स्वास्थ्यमा लगानी गर्न असमर्थको संख्या थपिँदै जाँदा भविष्यमा समस्या आउने देखिन्छ। 

कोरोना महामारीभन्दाअघि गरिबी घटाउने प्राय सबै अभियानको केन्द्रमा थियो। गरिबी घटाउने अभियानमा सरकारहरू, बहुपक्षीय वित्तीय संस्थाहरू सबैको ध्यान रहेको थियो। तर कोरोना महामारीले त्यसलाई प्रभावित बनायो जब महामारी मत्थर हुँदैगर्दा जीवनयापनमा आएको संकटले गरिबी घटाउने अभियानमा चुनौति थपिएको एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले बताएका छन्। 

‘कोरोना महामारीको असर मत्थर हुँदै गएको छ तर पछिल्लो जीवनयापनको संकट र बढ्दो लागतले गरिबी घटाउने अभियानलाई कमजोर बनाएको छ’ उनले भनेका छन्, ‘गरिबहरूका लागि सामाजिक सुरक्षा नेटलाई बलियो बनाएर र विकास र रोजगारीका अवसरहरू सिर्जना गर्ने लगानी र  अन्वेषणलाई बढावा दिएर, यस क्षेत्रका सरकारहरू ट्रयाकमा फर्कन सक्छन्।’

बढ्दो मूल्य,  सुस्त उत्पादन र घट्दो अवसरले गर्दा गरिबलाई अझ गरिब बनाउने र मध्यमवर्गलाई गरिब बनाउने जोखिम रहन्छ पछिल्लो समय यही भइरहेको छ। गरिबहरूले न्यून आम्दानीमात्र नभएर उनीहरूले धेरै अत्यावश्यक वस्तुहरू र सेवाका लागि अतिरिक्म मूल्य पनि तिर्नुपरेको छ। यसले गर्दा भविष्यलाई पनि महंगो बनाउँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यी सबै जोखिमका बीच पनि एसिया प्रशान्त क्षेत्रका देशहरूले गरिबविरुद्धको अभियानलाई जारी राख्ने एडीबीले विश्वास लिएको छ। यद्यपि सन् २०३० सम्म पनि यो क्षेत्रका ३० प्रतिशत अर्थात १ अर्ब २६ करोड मान्छे आर्थिक रुपमा कमजोर अवस्थामै रहने एडीबीको प्रक्षेपन छ। 

जीवनयापनको बढ्दो संकटलाई सम्बोधन गर्न एसिया र प्रशान्त क्षेत्रका सरकारहरूले सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ गर्न, कृषि विकासको लागि आफ्नो समर्थन बढाउन, वित्तीय सेवाहरूमा जनताको पहुँच सुधार गर्न, पूर्वाधार लगानीलाई प्राथमिकता दिन र प्राविधिक आविष्कार र मानव पुँजी विकासलाई प्रवर्द्धन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। 

चरम गरिबी उन्मूलनका लागि एडीबीले प्रयासलाई निरन्तरता दिँदै थप प्राथमिकता दिने प्रतिबद्धता गरेको छ।


प्रकाशित : शुक्रबार, भदौ ८ २०८०००:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend