आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

झाडी फाँडेर कागती खेती : दैनिक ५० किलो उत्पादन, ७५ सयसम्म आम्दानी

images
बुधबार, भदौ ६ २०८०
images
झाडी फाँडेर कागती खेती : दैनिक ५० किलो उत्पादन, ७५ सयसम्म आम्दानी

टुकाराम लामिछानेले बेगनास तालको जलाधार क्षेत्रअन्तर्गतको भिरोलो पाखोमा लगाइएका सात सय कागतीका बिरुवाले फल दिन थालेको छ। दैनिक ५० केजीसम्म कागती उत्पादन हुने गरेको छ भने त्यसबाट ७ हजार पाँच सय रूपैयाँसम्म आम्दानी हुने गरेको छ।

images
images

गण्डकी- दृढ इच्छाशक्तिका साथ लगनशील हुने हो भने पैसा कमाउन विदेशिनु पर्दैन भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन्। पोखरा महानगरपालिका-३१ स्याङखुदीस्थित खनास्वारामा झाडी फाँडेर गरिएको व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी गरेका स्थानीय किसान टुकाराम लामिछाने यतिखेर सबैका लागि प्रेरणाको स्रोत बनेका छन्।

images
images
images

नेपाल सरकारको जागिर छोडेर पाँच वर्षअघि सुरु गरिएको व्यावसायिक कागती खेतीले आम्दानी दिन थालेको उनले जानकारी दिए। 'बेगनास तालको जलाधार क्षेत्रअन्तर्गतको भिरोलो पाखोमा लगाइएका सात सय कागतीका बिरुवाले फल दिन थालेको छ', लामिछानेले भने, 'दिनमा ५० केजीसम्म कागती उत्पादन हुने गरेको छ। प्रतिकेजी एक सय ५० रूपैयाँमा बिक्री गर्दा दैनिक सात हजार पाँच सय रूपैयाँ आम्दानी हुने गरेको छ।' बाँदरलगायत वन्यजन्तुले नोक्सान नगर्ने, रोग कम लाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नुनपर्ने र बजार पनि राम्रो भएका कारण कागती खेतीमा भविष्य देखेको उनको भनाइ थियो।

images
images

धरानको पाख्रीवासबाट प्रतिगोटा दुई सयका दरले बिरुवा खरिद गरेर २०७५ साल साउनमा रोपिएका सोना जातका सबै कागतीका बिरुवाले फल दिन थालेका छन्। कागती रसिलो भएका कारण बजारको माग पनि राम्रो छ। स्याङ्जास्थित कृषि ज्ञान केन्द्रको सिफारिसमा लगाइएका उन्नत जातको लेमनका दुई सय बिरुवा लटरम्म फलेका छन्। लगभग १० क्विन्टल फल उत्पादन भएको छ। ठूलो आकारको फल भए पनि बजार भने नपाइएको लामिछानेले गुनासो गरे। कागतीको बोटले फल धान्न नसकेर हाँगा भाँचिन थालेका छन्।

images
images

'रोपेको चार वर्षमै फल दिन सुरु गरेको कागतीको एउटै बोटले १२ हजार रूपैयाँ बराबर ८० किलो फल दिएको थियो', उनले भने, 'कागतीको फल बिक्रीबाट अघिल्लो वर्ष आठ लाख रूपैयाँ कमाइएको थियो, यसवर्ष २० लाख रूपैयाँभन्दा बढी आम्दानी हुने विश्वास छ।' पछिल्लो समय चिया र खानामा कागतीको अत्याधिक प्रयोग हुने हुँदा बजारमा माग अत्याधिक रहेको छ। सम्भवत कास्कीमै पहिलो व्यावसायिक कागती खेती सुरु गरेका लामिछानेले भने, 'राज्यको तर्फबाट किसानलाई आवश्यक सहयोग हुने हो भने कागतीलगायत तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ।'

कागती खेतीभित्र अन्तरबालीका रुपमा तरुल र अकबरे खुर्सानी रोपिएकोे बताउँदै उनले थपे, 'पहिलो वर्ष तरुलबाट सात लाख र दोस्रो वर्ष अकबरे खुर्सानीबाट ६ लाख आम्दानी भएको थियो। माघे सङ्क्रान्तिका अवसरमा प्रदेश सरकारद्वारा ढुंगेसाँघुमा आयोजित कन्दमूल मेलामा तरुललाई  प्रथम पुरस्कमार दिएर आफूले १० हजार रूपैयाँ प्राप्त गर्न सफल भएको र यसबाहेक सरकारीस्तरबाट आजसम्म कुनै पनि सहयोग प्राप्त भएको छैन।'

समुद्री सतहबाट लगभग नौ सय मिटरको उचाइमा बेगनासतालसँगै रहेको उनको बगैँचामा यसैवर्ष स्याउसमेत फलेको छ। परीक्षणका लागि लगाइएको एउटा स्याउको बोटमा आठदेखि १० वटा फल फलेको किसान लामिछानेले जानकारी दिए। व्यावसायिकरुपमा कागती खेतीसहित, टिमुर, एभोकाडो, अमला, ओल, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, स्याउ, ठूलो बयर, रातो केरालगायत विभिन्न जातका फलफूलका बोटबिरुवा उनले लगाएका छन्।

उत्पादित फल बिक्री वितरणका लागि बजार जानुपर्ने, व्यापारीले समयमा पैसा नदिने हुँदा बगैँचामा दिने समय बाहिर खर्च हुने हुँदा अप्ठेरो परेको उल्लेख गर्दै उनले भने, कृषि उत्पादन बारीबाटै उठाइदिने व्यवस्था गर्ने हो भने व्यवसायमा किसानको आकर्षण बढ्ने, आयातित वस्तुलाई विस्थापन गर्ने र आत्मनिर्भर हुँदै स्वरोजगार सिर्जनामासमेत योगदान पुग्ने छ। लिप्टिङ प्रविधिबाट बेगनासतालको पानी तानेर बगैँचामा सिँचाइको व्यवस्था गरिएको बताउँदै लामिछानेले दुईसय मिटर पाइप विस्तारसहित तीन लाख रूपैयाँ खर्च भएको बताए।

प्रत्येक चार-चार मिटरको फरक एवम् एक-एक मिटर गहिराई र चौडाइका खाल्टामा बिरुवा रोपेर सुरु गरिएको कागती खेतीमा ७० लाख रूपैयाँभन्दा बढी खर्च भएको उनको भनाइ थियो। स्याङखुदीमा सुरु गरिएको खेतीले कास्कीमा सुन्तलाजात हराएको छैन भन्ने प्रमाणित गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। टिपेको दुई हप्तासम्म पनि नबिग्रने, बाँदरले नखाने बढी भएमा अमिलो बनाउन सकिने कागतीखेतीको विस्तारका लागि महानगरले वार्षिक आठदेखि १० हजार बिरुवा किसानलाई वितरण गर्दै आएको बताउँदै उनले बाँझो तथा भिरालो पाखोलाई पहेँलो सुनको रुपमा लिन र व्यावसायिक कागती खेतीले पोखरालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : बुधबार, भदौ ६ २०८०१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend