आइतबार, पुस ७ गते २०८१    
images
images

व्यावसायिक ड्रागन खेतीबाट मनग्य आम्दानी गर्दै सिन्धुलीका काफ्ले परिवार

images
बुधबार, भदौ ६ २०८०
images
images
व्यावसायिक ड्रागन खेतीबाट मनग्य आम्दानी गर्दै सिन्धुलीका काफ्ले परिवार

ड्रागन फ्रुटको व्यावसायिक खेतीबाट सिन्धुलीका भरत काफ्लेले दुई वर्षमा १३ लाख रूपैयाँ आम्दानी गरेका छन्। परिवारै स्वरोजगार बनेको छ।

images
images

सिन्धुली- बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ। टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश-विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका-६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ।

images
images
images

उनले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्छन्। यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ। व्यावसायिक कृषि कर्मले एउटा परिवारलाई स्वरोजगार मात्रै होइन, देश नै समृद्ध बन्ने बुझाइ भएका काफ्ले परिवारले आकर्षक आम्दानी पनि गरिरहेका छन्।

images

'यस वर्ष थोक मूल्यमा प्रतिकिलो पाँच सयका दरले ६ चरणमा २० क्विन्टल फल बेच्दा १० लाख रूपैयाँ र बिरुवा बेचेर तीन लाख रूपैयाँ आम्दानी भइसकेको छ। चार हजार बिरुवा ग्राहक पर्खिएर नर्सरीमा बसिरहेका छन्,' युवा किसान काफ्लेले भने।

images

बितेको दुई वर्षमा आठ कट्ठाबाट उत्पादन भएको फल बेचेर १३ लाख रूपैयाँ आम्दानी भएको उनले बताए। काफ्ले परिवारको १८ कट्ठामा ड्रागन फ्रुटको खेती छ। नौ सय ३० वटा पोलमा तीन हजार पाँच सय बिरुवा रोपिएका छन्। अहिले नौ सय बोटले फल दिइरहेको छ। बिरुवा रोपेको पछिल्लो वर्षदेखि प्रतिबोटले वार्षिक १७ पटकसम्म उत्पादन दिने गरेको छ। उनले भने, 'जेठदेखि कात्तिकसम्म महिनाको तीन पटकसम्म टिप्न सकिन्छ। रोपेको पहिलो वर्ष प्रतिबोट आठ किलोसम्म उत्पादन भएकोबाट बिरुवा रोपेको तेस्रो वर्षबाट प्रतिबोट ४५ किलोसम्म उत्पादन भइराखेको छ।'

युवा किसान काफ्लेले प्रतिबिरुवा चार सय ५० रूपैयाँमा किनेर रोपेको भए पनि उनले अहिले प्रतिबिरुवा दुई सय रूपैयाँमा बिक्री गर्दै आएका छन्। तीन वर्षअघि आफ्नो ठाउँको वातावरणमा सुहाउँदो जातको तीन सयवटा बिरुवा रोपेका थिए। बिरुवा रोपेको पछिल्लो वर्षदेखि ड्रागन फल फल्न थाल्यो। दुई वर्षमा १३ लाख रूपैयाँ आम्दानी भएपछि काठमाडौंमा खाद्यान्न पसल गरिरहेका काफ्लेलाई गाउँमै फर्किएर खेती विस्तार गर्न प्रेरित गर्‍यो। 

पसल सुरु गरेको दुई महिना बित्न नपाउँदै कोरोना कहरले कारोबार ठप्प भएपछि छोडेर गाउँ फर्किएका काफ्लेलाई फेरि काठमाडौं फर्किन मन लागेन। दुई वर्षदेखि उनी व्यावसायिक ड्रागन फल खेतीमा रमाइरहेका छन्। सुरुमा खेती लगाउन अलि खर्चिलो भए पनि बर्सेनि आम्दानी बढ्दै जाने भएकाले यो व्यवसायमा निराश हुनु नपर्ने उनको भनाइ छ।

कृषि ज्ञान केन्द्र सिन्धुलीबाट दुई लाख रूपैयाँको अनुदान लिएर दुई सय पोल थपेका उनले यसै वर्ष डेढ बिगाहमा खेती विस्तार गर्न लागेको बताए। उनका अनुसार एक पटक रोपेको बिरुवाको आयु २५ वर्षभन्दा धेरै हुन्छ। ड्रागन फलको एक सय ५३ प्रजातिको हुन्छन्। उनले रेड सायन जातको ड्रागन खेती विस्तार गरिरहेका छन्।

व्यावसायिक ड्रागन फल खेती विस्तारदेखि बजारमा पुर्‍याउनेसम्मका धेरैजसो काम पाँच जनाको परिवारले धानेको छ। ड्रागन फलको बिरुवा उत्पादन, माटो तयार, रोप्ने तरिकादेखि उत्पादित फल र बिरुवाको बजारीकरणका सम्बन्धमा बुझ्न तथा अवलोकनका लागि कतिपय ठाउँबाट उनको मेहनती बहुउद्देश्यीय कृषि फर्म पुग्ने गर्दछन्।

युट्युब र गुगलमा अध्ययन गरेकै भरमा पहिलोपटक दुधौलीमा ड्रागनको खेती सुरु गरेका युवा किसान काफ्ले यस खेतीका सम्बन्धमा तालिम नै दिन सक्ने भएका छन्।

ड्रागन खेती सुरु गर्दाको पहिलो संघर्ष सुनाउँदै उनले भने, 'आफूहरुले गोरु नपालेको र ट्र्याक्टरले जोतेर खेती गर्न बाटो नभएकाले छ कट्ठा खेत बाँझै बस्थ्यो। जोत्न नपर्ने र एक पटक रोपेपछि २५ वर्षभन्दा बढी ढुक्क हुने ड्रागन खेतीका बारेमा युट्युब र गुगलमा सर्च गरेर अध्ययन गरी काभ्रेको पात्ले खेतमा भेषमान श्रेष्ठले लगाएको खेती हेरेँ र आफूले पनि सुरु गरेँ।' त्यसपछि अनलाइन फारम भरेर हैदरवादसम्म पुगेर दुईमहिने तालिम लिएपछि व्यावसायिक रुपमा खेती सुरु गरेको उनको भनाइ छ।

वातावरणमा अनुकूलताका आधारमा ड्रागनको जात पहिचान नगरी खेती गर्नाले कतिपय किसानको व्यवसाय घाटामा गएकाले गुणस्तरीय जातको बिरुवा ठाउँको हावापानी र माटोअनुसार मिल्दो पहिचान गर्न उनको सुझाव छ। उनका अनुसार आफूले बेच्ने गरेको ड्रागनले बिरुवा रोपेको १३ महिनामा फल दिन सुरु गर्छ। उनले वार्षिक ६ लाख रूपैयाँको बिरुवा बिक्री गर्दै आएका छन्।

उनको फर्ममा उत्पादन भएका फल र बिरुवा जिल्लाको स्थानीय तथा बाहिरी जिल्ला काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौंका बजारहरुमा बिक्री हुँदै आएको छ। समयको मागअनुसार आधुनिक प्रविधिलाई पछ्याउँदै व्यावसायिक कृषि गरेर बजारको अभाव पूर्ति गर्न सके आफ्नो ठाउँको माटोमै मनग्य आम्दानी र कैयौँ अवसरहरु रहेका किसान युवा काफ्लेको बुझाइ छ।

सरकारी, गैरसरकारी निकाय तथा सामाजिक रुपमा पनि किसान र कृषि पेसालाई हेपाइको दृष्टिले हेरिने भएकाले युवा पुस्तामा खेती, किसानी कर्ममा आकर्षण नभएको उनले बताए। व्यावसायिक कृषिले मात्र समृद्ध नेपाल बन्ने भएकाले सरकारले देशका बेरोजगार युवालाई कृषिमा आकर्षित गर्ने तथा दिगो रुपमा व्यावसायिक खेती गर्न सहयोग गर्ने खालका कार्यक्रममा जोड दिनुपर्ने उनको सुझाव छ।

पछिल्लो समय ड्रागन फल उत्पादनमा विशेषगरी जिल्लाका पढेलेखेका युवाहरु पनि आकर्षित भएका छन्। कृषि ज्ञान केन्द्र सिन्धुलीका सूचना अधिकृत श्रीकृष्ण अधिकारीले स्वादिष्टसँगै स्वास्थ्यवर्द्धक र बहुपयोगी फल ड्रागन जिल्लाका सबै स्थानीय तहहरुमा बिस्तारै फस्टाउँदै गएको र आवश्यक प्राविधि सहयोग प्रदान गरिँदै आएको बताए। रासस


प्रकाशित : बुधबार, भदौ ६ २०८००६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend