आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

नेपालको सेवा आम्दानी : पर्यटनभन्दा बिजनेस सर्भिसबाट धेरै

बुधबार, भदौ ६ २०८०
नेपालको सेवा आम्दानी : पर्यटनभन्दा बिजनेस सर्भिसबाट धेरै

सेवाबाट हुने वैदेशिक मुद्राको आर्जनका स्रोतमा बिजनेस सर्भिसको उदय भएपनि यसको व्यवस्थापन र प्रबर्द्धन भने कमजोर रहेको छ। 

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा नेपालले पर्यटनभन्दा धेरै बिजनेस सर्भिसबाट विदेशी मुद्रा आर्जन गरेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार नेपालले गएको आर्थिक वर्षमा पर्यटनबाट ६१ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको छ। कोरोना महामारीको प्रभावबाट सामान्य हुँदै गरेको पर्यटन आम्दानी पछिल्लो समय सुधार हुँदै आएको छ। 

गत वर्ष नेपालले पर्यटनभन्दा बिजनेस सर्भिसबाट धेरै आम्दानी गरेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष बिजनेस सर्भिसबाट नेपालले ६६ अर्ब ६७ करोड रुपैयाँ आम्दानी गरेको छ। 

विभिन्न प्रकारका व्यापारिक सेवा दिए बापत हुने यस्तो आम्दानी पछिल्लो समय वृद्धि हुँदै आएको छ। विभिन्न आउट सोर्सिङ लगायतका सेवाबाट यस्तो आम्दानी हुन्छ। यद्यपि यसको विस्तृत विवरण भने राष्ट्र बैंकले उल्लेख गरेको छैन। 

समग्रमा सेवा खाता ऋणात्मक हुँदै आएको छ। गत वर्ष पनि नेपालको सेवा खाता ८३ अर्बले घाटामा गएको छ। पर्यटन आम्दानी संकुचित हुँदा सेवा खाता घाटाको विस्तार भएको हो। 

सेवाबाट हुने वैदेशिक मुद्राको आर्जनका स्रोतमा बिजनेस सर्भिसको उदय भएपनि यसको व्यवस्थापन र प्रबर्द्धन भने कमजोर रहेको छ। 

सेवा अन्तर्गत नै पर्ने दूरसञ्चारको आम्दानी भने घट्दै आएको छ। अन्तर्राष्ट्रिय कलबाट हुने यस्तो आम्दानी गत वर्ष १५ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ। भ्वाइस कलको ठाउँमा डेटामा आधारित कल गर्ने उपभोक्ताको बानी परेपछि यसको आम्दानी घटेको हो। 

सेवा खातामा सबैभन्दा धेरै खर्च हुने घाटा हुने शीर्षकमा शिक्षा तथा अध्ययन छ। यसमा शिक्षामा १ खर्ब ४ अर्ब बाहिरिएको छ भने यसमा जम्मा ४ अर्ब आम्दानी भएको छ। त्यस्तै यातायातमा ८१ अर्ब बाहिरिएको छ भने जम्मा २१ अर्ब भित्रिएको छ। 


प्रकाशित : बुधबार, भदौ ६ २०८००१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend