शुक्रबार, असोज ४ गते २०८१    
images
images

आईपीओ नै 'अन्डर सब्स्क्रिप्सन' भएको नबिल बैंकका लगानीकर्ता लाभांशबाटै करोडपति

images
मंगलबार, भदौ ५ २०८०
images
images
आईपीओ नै 'अन्डर सब्स्क्रिप्सन' भएको नबिल बैंकका लगानीकर्ता लाभांशबाटै करोडपति

लामो समयदेखि सर्वाधिक नाफा कमाउने बैंकहरूको सूचीमा नबिल अग्रस्थानमा छ। नाफामा मात्रै होइन लगानीकर्तालाई सर्वाधिक प्रतिफल वितरण गर्न पनि नबिल सफल हुँदै आएको छ।

images
images

काठमाडौं- नबिल बैंक आर्थिक उदारीकरणपश्चात विदेशी लगानीमा खुलेको नेपालको पहिलो निजी क्षेत्रको बैंक हो। २०४१ असार २९ गते स्थापना भएको नबिल बैंक ३९ वर्ष पूरा भएको छ। सुरुवातमा 'नेपाल अरब बैंक लिमिटेड'को रुपमा स्थापना भएको यसको नाम परिवर्तन भएर नबिल बैंक बनेको हो। 

images
images
images

नबिल बैंक स्थापना हुँदा सरकारी स्वामित्वका नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल औद्योगिक विकास निगम मात्रै सञ्चालनमा थिए। नबिल बैंक स्थापना भएपछि नेपालमा अरु पनि निजी बैंकहरू स्थापना हुन थालेका हुन्। 

लामो समयदेखि सर्वाधिक नाफा कमाउने बैंकहरूको सूचीमा नबिल अग्रस्थानमा छ। नाफामा मात्रै होइन लगानीकर्तालाई सर्वाधिक प्रतिफल वितरण गर्न पनि नबिल सफल हुँदै आएको छ।

नेपालको बैंकिङ इतिहासमा सर्वाधिक सफल बनेको नबिलको स्थापनाकाल भने खासै सुखद थिएन। सुरुवातमा बैंकलाई जनताले शंकाको दृष्टिकोणबाट हेर्ने गरेका थिए। ‘कतै यस बैंकले पैसा खाएर त भाग्ने होइन’, भन्ने डर सर्वसाधारणमा थियो।

images

लामो समय नबिल बैंकमा काम गरेर दुई कार्याकाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका भुवन दाहाल सुरुवातमा नबिल बैंकलाई जनताले भरोसा नगरेको सम्झिन्छन्। दाहाल भन्छन्, ‘नेपालको लार्जेस्ट प्रोफिट मेकिङ बैंक नबिलमा सुरुवातमा सर्वसाधारणले निक्षेप राख्न डराएका थिए। पहिलो पटक निजी क्षेत्रको लगानीमा स्थापना भएकाले पैसा खाएर भाग्छ भन्ने त्रास सर्वसाधरणमा थियो।’

नबिललाई जनताले विश्वास नगरेकै कारण यसले प्राथमिक सेयर ६० रुपैयाँमा निष्कासन गर्दासमेत सबै बिक्री भएको थिएन। नबिल बैंक स्थापना भएको ३ वर्षपछि सन् १९८७ मा ९० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गरेपनि सेयर 'अन्डर सब्स्क्रिप्सन' भएको थियो। सबै सेयर बिक्री नभएपछि नबिल बैंकले प्रिमियम थप गरी आफ्ना कर्मचारीहरूलाई सेयर बिक्री गरेको दाहाल बताउँछन्। 

‘सुरुमा ५ करोड अधिकृत पुँजीको ६० प्रतिशत अर्थात ३ करोड रुपैयाँ यस बैंकको चुक्ता पुँजी रहेको थियो। जसमध्ये १.५ करोड रुपैयाँ इमिरेट बैंकको र ६० लाख विभिन्न संघ संस्थाको लगानी रहेको थियो। बाँकी रहेको ३० प्रतिशत अर्थात ९० लाख रुपैयाँ सर्वसाधारणका लागि सेयर निष्सकान गरिएको थियो। सर्वसाधारणका लागि जारी भएको धेरै सेयर बिक्री भएन। बिक्री नभएको सेयर पछि बैंकका कर्मचारीलाई प्रिमियममा बेचियो’, उनले भने। 

नबिल बैंक २० प्रतिशत सेयर लगानी गर्ने संस्थाहरूमध्ये नेपाल औद्योगिक विकास निगमको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ९.९७ प्रतिशत र ०.०३ प्रतिशत तत्कालिन नेपाल सेक्युरिटी सेन्टर (हालको नेपाल स्टक एक्सेन्ज) सँग रहेको दाहाल बताउँछन्। 

उक्त ३ करोडभन्दा बढी नबिल बैंकका लगानीकर्ताले थप लगानी गरेका छैनन्। नाफाबाट वितरण गरेको लाभांशकै कारण बैंकको चुक्ता पुँजी बढ्दै गएको छ। २०७८ असार २९ गते नेपाल बंगलादेश बैंकसँग एक्विजिसन गरेपछि नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड  पुगेको छ।

सुरुमा ग्राहकहरूले नरुचाएपनि नबिल बैंकले गुणस्तरीय सेवा प्रदान गर्न थाल्यो। अन्य सरकारी बैंकहरू निरन्तर घटामा जान थाले तर नबिल बैंकले ‘सुपर नर्मल’ नाफा कमाइरह्यो।

त्यसबेला नबिल बैंकमा नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका प्रतिनिधि सञ्चालक समिति सदस्य रहने व्यवस्था थियो। नबिल बैंक स्थापना भएपछि सुरु गरिएको उक्त नीतिले २०६० सालसम्म निरन्तरता पाएको थियो।

तत्कालीन वाणिज्य बैंक ऐनमा निजी क्षेत्रबाट खुलेका बैंकहरूमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका एक/एक जना प्रतिनिधि सञ्चालक समिति सदस्य रहने व्यवस्था थियो।

नबिल बैंकको इतिहाससँग जोडिएको अर्को पनि रोचक प्रसंग छ- नबिल बैंकपछि नेपाल भित्रिएका स्टाण्डर्ड चार्टर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकलगायत बैंकहरूमा युरोपियन बैंकिङ टर्मिनोलोजी प्रयोग हुन्छ। तर नबिल बैंकमा भने अमेरिकी टर्मिनोलोजी प्रयोग हुने गरेको छ। जसको पछाडिको कारण ५० प्रतिशत लगानी रहेको इमिरेट्स बैंकले अमेरिकी चेस मेनहाटन बैंकसँग व्यवस्थापन करार गरेको थियो। चेस मेनहाटन बैंक अमेरिकाकै अर्को बैंक जेपी मोर्गेन बैंकसँग मर्ज भई त्यहाँकै ठूलो बैंक जेबी मोर्गेन चेस कर्पोरेट भएको छ।

तत्कालीन चेस मेनहाटन बैंकसँग व्यवस्थापन करार गरेकाले नबिल बैंकमा प्रयोग हुने कतिपय बैंकिङ शब्दावली अन्य बैंकको तुलनामा फरक छ। अहिले पनि नबिल बैंकमा चेस बैंकले बनाएका म्यानुअलहरूका बारे कर्मचारीलाई प्रशिक्षण दिइन्छ। उदाहरणका लागि मुद्दती निक्षेपलाई अन्य बैंकहरूमा ‘फिक्स्ड डिपोजिट’ भन्ने गर्छन्। तर अमेरिकामा मुद्दती निक्षेपलाई ‘टाइम डिपोजिट’ भन्ने गरिन्छ। 

नबिल बैंकका कर्मचारीहरूले पनि मुद्दती निक्षेपलाई ‘टामइ डिपोजिट’ भन्ने गरेका छन्। यस्तै भाका नाघेको कर्जालाई अन्य बैंकहरूमा ‘ओभरड्यू’ शब्दावली प्रयोग हुने गरेकोमा नबिल बैंकमा ‘पोस्टड्यू’ भन्ने गरिएको छ।

यस्तै अन्य बैंकहरूले चेकको स्पेलिङ अंग्रेजी अक्षरहरू सी, एच, ई, क्यू, यू, ई (Cheque) लेख्छन् भने नबिल बैंकमा अमेरिकी बैंकिङ प्रणालिअनुसार सिधै सी, एच, ई, सी, के (Check) लेख्ने गरेका छन्। युरोपियन तथा बेलायती बैंकिङ प्रणालीअनुसार नेपालका प्राय सबै बैंकहरूले कर्जालाई ‘लोन एण्ड एडभान्सेस’ शब्दावली प्रयोग गर्छन् तर नबिल बैंकमा कर्जालाई ‘लोन डिस्काउन्ट एण्ड ओभरड्राफ्ट’ भन्ने गरिएको छ। 

अमेरिकन बैंकसँग व्यवस्थापन करार गरेकाले नबिल बैंकमा त्यसको छाप परेको दाहाल बताउँछन्। ‘अमेरिकी बैंकसँग व्यवस्थापन करार गरेकाले नबिल बैंकमा त्यसको ठ्याक्कै प्रभाव परेको देखिन्छ। अमेरिकाले भाषालाई पनि सरलिकृत गरेको छ। स्टाण्डर्ड चार्टर्ड र नेपाल इन्भेष्टमेन्ट बैंक युरोपियन मोडलमा स्थापना भएकाले नबिल बैंकले प्रयोग गर्ने शब्दावली उनीहरूको भन्दा फरक छ’, उनले भने। 

यस्तै नबिल बैंक स्थापना हुनुभन्दा अगाडि नेपालका अधिकांश सरकारी बैंकिङ सेवा गुणस्तरीय थिएन। सरकारी बैंकहरूका केही शाखाले गुणस्तरीय सेवा प्रदान गरेपनि बैंकिङ सेवा भरपर्दो थिएन। तर नबिल बैंक स्थापना गरेपछि सेवाग्राहीको घरमै गएरै बैंकिङ सेवा प्रदान गर्न थाल्यो। ठूला ग्राहकहरूलाई बैंकसम्म आउनु पर्ने झन्झटको अन्त्य गर्दै उनीहरूकै घर वा व्यवसाय भएको ठाउँमा गएर नबिल बैंकले सेवा दिन थाल्यो। ग्राहकलाई सम्मान गर्ने प्रचलनको सुरुवात नेपालमा नबिल बैंकबाटै सुरु भएको मानिन्छ।

नबिल बैंक स्थापनासँगै बैंकिङ प्रणाली नै आधुनिकीकरणतर्फ अगाडि बढेको थियो। सरकारी बैंकहरू 'म्यानुअल स्टिम'बाट चलिरहेको समयमा नबिल बैंकले 'अटोमेसन'को सुरुवात गर्‍यो। यस बैंकले ‘वान टेलर’ अगाडि बढाएर बैंकिङ सेवालाई छिटो छरितो बनाएको थियो। 

त्यसबेलाका सरकारी बैंकहरूमा चेक लिएर जम्मा गर्न वा रकम झिक्न ४/५ जना बढी कर्मचारीको आवश्यकता पर्थ्यो। चेकको हस्ताक्षर हेर्नका लागि छुट्टै कर्मचारी, खातामा रहेको रकम हेर्न अर्को कर्मचारी, खातामा रकम भए नभएको चेक गर्न छुट्टै कर्मचारी, हस्ताक्षर रुजु गरेर रकम दिने र खाताबाट ब्यालेन्स घटाउनका लागि छुट्टै कर्मचारी आवश्यक पर्थ्यो। तर नबिल बैंकमा वान टेलरको अवधारणामार्फत क्यास काउन्टरको झन्झटलाई हटाउँदै एकैजनाबाट भुक्तानी गर्न मिल्ने प्रविधि नेपालमा भित्रियो। 

यस्तै एकभन्दा बढी बैंकहरू मिलेर कर्जा दिने 'कन्सोर्टियम बैंकिङ'को सुरुवात पनि नबिल बैंकले नै गरेको थियो।

पछिल्लो समय पनि नबिल बैंक 'फिनटेक'मा निकै अगाडि छ। दिगो र डिजिटलाइज्ड बैंकिङ सेवालाई बैंकले प्राथमिकतामा राख्दै आएको छ। नबिल बैंकले नेपालमा पहिलो पटक 'कम्प्युटराइज्ड' बैंकिङ सुरु गरेको थियो।

नबिलले सन् १९९४ मा पहिलो पटक एटीएम सेवा सञ्चालनमा ल्याएको थियो। यस्तै सन् २०१२ मा नबिल बैंकले पहिलो पटक मोबाइल बैंकिङ गरी मोबाइलबाट बैंकिङ सेवा दिएको थियो।

नबिल बैंकले नै सन् २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरेको थियो। सन् २०१६ मा नबिल बैंकले नेपालमा पहिलो पटक 'कन्ट्याकलेस पेमेन्ट कार्ड' प्रयोगमा ल्याएको थियो। सन् २०२२ यस बैंकले पहिलो पटक नियो मोबाइल बैंकिङ प्रविधिको सुरुवात गरेको थियो।

नबिल बैंकबाटै आफ्नो बैंकिङ करियर सुरु गरेका अनिल ज्ञवाली, शोभनदेव पन्त, शशिन जोशी, अशोक राणा, सुरेन्द्र भण्डारी, अमृतचरण श्रेष्ठ, जनक पौडयाल, शम्भु गौतम, सुन्दर कँडेल, श्रवण मास्के, निश्चल पाण्डे र भुवन दाहाल विभिन्न वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्। 

यस्तो छ नबिल बैंकको वित्तीय सूचक

आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरू मध्ये नबिल बैंक सबैभन्दा धेरै खुद नाफा गर्न सफल भएको छ। गत आर्थिक वर्ष यस बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा करिब ७६.७० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

४६ अर्ब ३८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले २८ अर्ब ३९ करोड रुपैयाँ ब्याज खर्च गरी १७ अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। २०७८/७९ मा बैंकको इम्प्रियरमेन्ट चार्च १ अर्ब ११ करोड रहेकोमा गत आर्थिक वर्ष बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। ११ अर्ब १ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले ३ अर्ब २५ करोड रुपैयाँ सरकारलाई कर तिरेको छ।

यस्तै तेस्रो क्वाटरको तुलनामा बैंकको खराब कर्जा उल्लेख्यरुपमा घटेपनि अघिल्लो वर्षको तुलनामा झन्डै शतप्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष ०.६४ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यसम्ममा १.२३ प्रतिशत कायम भएको छ।

यस्तै बैंकको कष्ट अफ फण्ड ७.८१ प्रतिशत, आधार दर ९.५२ प्रतिशत र कर्जा निक्षेप अनुपात ८७.६८ प्रतिशत कायम गरेको छ। राष्ट्र बैंकले स्प्रेड दरको सीमा ४ प्रतिशत तोकेपनि मर्ज तथा प्राप्ति सुविधाको उपयोग गर्दै स्प्रेड दर उच्च राखेको छ।

यस्तै बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड रहेको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब ८९ करोड रहेको वितरणयोग्य नाफा गत वर्ष  करिब १ अर्ब ६ करोड रुपैयाँले बढेको छ।

यस्तै बैंकको प्रतिसेयर आम्दानी २७.८२ रुपैयाँ कायम भएको छ भने बैंकको तरलता अनुपात २७.८६ प्रतिशत रहेको छ। २० लाखभन्दा बढी सेवाग्राही रहेको नबिल बैंकले ३ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ४१ अर्ब कर्जा प्रवाह गरेको छ। २ सय ६४ शाखा रहेको नबिल बैंकले २ सय ९८ एटीएम मेसिनबाट सेवाग्राहीलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।

nbch.jpg

लाभांश वितरणमा पनि अब्बल

स्थापनाकालदेखि नै नबिल बैंकले निकै उच्चदरमा लाभांश वितरण गर्दै आएको छ। विगत १०/१२ वर्षको इतिहास हेर्ने हो भने नबिल बैंकले ३० देखि ६५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ।

नबिल बैंकले आर्थिक वर्ष २०६८/६९ मा ६० प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा यस बैंकले ६५ प्रतिशत लाभांश वितरण गरेको थियो।

यस्तै आर्थिक वर्ष २०७१/७२ मा ३७ प्रतिशत लाभांश वितरण गरेको यस बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४५ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा ४८ प्रतिशत लाभांश वितरण गरेको थियो।

यस्तै आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा यस बैंकले ३४ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७६/७७ मा ३५.२६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा ३८ प्रतिशत र गत आर्थिक वर्ष ३० प्रतिशत लाभांश वितरण गरेको थियो।


प्रकाशित : मंगलबार, भदौ ५ २०८००५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend