बुधबार, वैशाख २६ गते २०८१    
images
images

मलेसिया जाने सोच त्यागेर १९ वर्षीय मिलनले थाले सूर्यमुखीको व्यावसायिक खेती

images
images
images
मलेसिया जाने सोच त्यागेर १९ वर्षीय मिलनले थाले सूर्यमुखीको व्यावसायिक खेती

फल लाग्दै गरेको सूर्यमुखी फूल पाक्नेबित्तिकै सोही जग्गामा तोरी खेती गर्ने उनको योजना छ। आम्दानीको स्रोत वृद्धि गर्न गाउँमै तेलहनजन्य खेतीलाई व्यावसायिक बनाउने योजना रहेको उनले बताए।

images
images

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन्।

images
images
images

खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाएनन्।

images

गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विदेश जाने नै रह्यो। मलेसिया जानका लागि आवश्यक कागजात बोकेर काठमाडौं पुगेका उनले मेनपावर कम्पनीमा राहदानीसमेत बुझाए। वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएका खोटाङकै केपिसालगढी गाउँपालिकाका कृष्ण राईलाई राहदानी बुझाएका मिलनलाई मेनपावर कम्पनीले तीन लाख ५० हजार रूपैयाँ धरौटी रकम लाग्ने सुनायो। 

images

नेपाल सरकारसँगको सम्झौताअनुसार ज्यामी काममा मलेसिया जानका लागि फ्रि भिजा, फ्रि टिकेट भनिए पनि मेनपावर कम्पनीले त्यतिका पैसा लाग्ने सुनाएपछि मिलनको सोच एकाएक बदलियो। अहिले भर्खर १९ वर्ष लागेका मिलनले मेनपावर कम्पनीको कुरा सुन्नासाथ गाउँ फर्किएर आफ्नै ठाउँमा केही गर्ने सपना बुन्न थाले।

images
images

आफ्नै गाउँमा केही गर्न सकिन्छ कि भन्नेबारे युट्युबतिर खोतल्न थाले। परम्परागत खेती प्रणाली अपनाएर जीवन निर्वाह गर्दै आइएको खार्मीमा उनले व्यावसायिकरुपमा सूर्यमुखी फूलको खेती गर्ने निधो गरे। मकै, कोदो र आलु खेती हुँदै आएको चार रोपनी जग्गामा सोलुखुम्बुबाट खरिद गरेर ल्याएको ६ किलो सूर्यमुखी फूलको दल राखेर व्यावसायिक खेती सुरु गरे।

सँधियारले आसपासको जग्गामा लगाएको मकै र कोदो फलिरहँदा मिलनको जग्गामा पँहेपुर भएर ढकमक्क सूर्यमुखी फुलेको छ। युट्युबमा हेरेर बिना परीक्षण व्यावसायिकरुपमा सुरु गरिएको सूर्यमुखी फूलको खेती राम्ररी सप्रिएकाले आगामी वर्ष थप वृद्धि गर्ने तयारी गरिएको मिलनले बताए। 'विदेश जाने सोच बनाएको थिएँ। फ्रि भिजा, फ्रि टिकेट भनिएको ठाउँमा पनि दलालहरुले ठग्दा रहेछन्', उनले भने, 'त्यतिका पैसा खर्च गरेर अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा केही गरौँ भन्ने सोच आयो। परीक्षणकालमै राम्रो उत्पादन हुने देखिएको छ। आगामी दिनमा थप विस्तार गर्ने तयारीमा छु।'

फल लाग्दै गरेको सूर्यमुखी फूल पाक्नेबित्तिकै सोही जग्गामा तोरी खेती गर्ने तयारी गरिएको मिलनले जानकारी दिए। 'परम्परागत खेतीले जीवन निर्वाहबाहेक केही गर्न सकिँदैन। गाउँमा आम्दानीको अन्य स्रोत पनि छैन। आम्दानीको स्रोत वृद्धि गर्न गाउँमै तेलहनजन्य खेतीलाई व्यावसायिक बनाउने सोचमा छु', उनले भने, 'आफ्नो गाउँमा खपत हुने खानेतेल आफ्नै गाउँमा उत्पादन गर्ने गरी योजना बनाएको छु। उत्पादित कच्चा पदार्थलाई आफै प्रशोधन गर्ने गरी मिलसमेत खरिद गर्ने तयारीमा छु।'

नगरपालिकाको कृषि शाखामा आधिकारिकरुपमा सूर्यमुखी कृषि फार्म दर्ता गरेर सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गरेका मिलनलाई आमा र बुबाले समेत साथ दिँदै आएका छन्। परम्परागत कृषि प्रणाली अपनाउँदै आएका छिमेकीसमेत मिलनको सूर्यमुखी फूलको व्यावसायिक खेती देखेर सिको गर्ने तयारीमा छन्।

खार्मीका मिलनले लगाएको सूर्यमुखी फूलको उत्पादनलाई हेरेर आगामी दिनमा त्यहाँका कृषकलाई अनुदानको व्यवस्था गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले बताए। 'खार्मी, पाथेका र जालपालाई तेलहनजन्य कृषि उत्पादनको पकेट क्षेत्र बनाउने तयारी गरिएको छ। मिलन भाइले सूर्यमुखी फूलको खेती सुरु गर्नुभएको रहेछ', उनले भने, 'व्यावसायिकरुपमा कृषि पेसा अपनाउने व्यक्तिलाई प्रोत्साहन गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको छ। उहाँले लगाउनुभएको सूर्यमुखी फूलको खेती सफल भएको खण्डमा उहाँलाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ।'

किशोरावस्था ननाघेका मिलनले आफ्नै लगानीमा व्यावसायिकरुपमा सूर्यमुखी फूलको खेती सुरु गरेपछि नगर उपप्रमुख राई कृषि शाखा प्रमुख तेजप्रकाश जैसीसहितका टोली लिएर अवलोकनमा खार्मी पुगेका थिए।

१५ वडा रहेको यस नगरपालिकाको नवौँ नगरसभाले खार्मी, पाथेका र जालपालाई तेलहनजन्य खेतीका लागि पकेट क्षेत्र बनाउने घोषणा गरेको अवस्थामा मिलनले सुरु गरेको सूर्यमुखी फूलको खेती सप्रिएको खबर पाएपछि उपप्रमुख राईको टोली अवलोकनमा खार्मी गएको हो। रासस

images

प्रकाशित : सोमबार, भदौ ४ २०८००५:३५

प्रतिक्रिया दिनुहोस