आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

साउनमा ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह, निक्षेप १ खर्बले घट्यो

सोमबार, भदौ ४ २०८०
साउनमा ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह, निक्षेप १ खर्बले घट्यो

चालु पुँजी कर्जा मार्गनिर्देशनका कारण नेपालका बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपनि कर्जा प्रवाह बढ्न सकेको छैन। 

काठमाडौं- गत आर्थिक वर्ष बैंकिङ प्रणालीबाट ३.८ प्रतिशत मात्रै कर्जा प्रवाह भएकोमा चालु आर्थिक वर्षको पहिलो महिनाबाटै कर्जा प्रवाह आक्रमक ढंगले‍ बढेको छ। असार मसान्तसम्म बैंकिङ प्रणालीबाट ४७ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भदौ ३ गतेसम्ममा कर्जा प्रवाह ४८ खर्ब ५९ अर्ब रुपैयाँ पुगको छ।

यस अवधिमा बैंकिङ प्रणालीबाट ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यस्तै यस अवधिमा बैंकिङ प्रणालीबाट निक्षेप १ खर्बले घटेको छ। स्थानीय तहको ८५ प्रतिशतसम्मको निक्षेपमा गणना भएको रकम नेपाल राष्ट्र बैंकले तानेपछि बैंकहरुको निक्षेप घटेको हो।

असार मसान्तसम्म ५७ खर्ब १० अर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाको निक्षेप ५६ खर्ब १० अर्ब कायम भएको छ। हाल बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ८३.५७ प्रतिशत रहेको छ। अर्थात हाल बैंकिङ प्रणालीमा करिब ३ खर्ब ६१ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। 

चालु पुँजी कर्जा मार्गनिर्देशनका कारण नेपालका बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपनि कर्जा प्रवाह बढ्न सकेको छैन। 

साउन महिनामा अधिकांश बैंक तथा वित्तीय संस्थाको कर्जाको व्याजदर सस्तो भएकाले कर्जा प्रवाह बढेको हो। भदौ महिनाका लागि अधिकांश बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर बढाएका छन्। साउनमा पनि ब्याजदर बढाउने नबिल, कुमारी लगायतका बैंकले भदौ महिनाका लागि पनि ब्याजदर बढाएका छन्। ४ बैंकहरुले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

एनआईसी एसिया बैंकले सामान्य अंकले ब्याजदर घटाएपनि नविल, कुमारी, ग्लोबल आईएमई, नेपाल बैंक लिमिटेडले समान १०.८९६ प्रतिशत साधारण मुद्दती ब्याजदर कामय गरेका छन्। कर्जा निक्षेप अनुपातमा दबाब रहेकाले कर्जाभन्दा पनि ती बैंकहरु निक्षेप तान्नेतर्फ आफ्नो शक्ति प्रयोग गरेका छन्। कार्टेलिङ हटेको बताए पनि ती वाणिज्य बैंकहरुले समान ब्याजदर तोकेर कार्टेलिङको झल्को दिएका छन्।

तिनै बैंकले आफ्नो मुद्दती निक्षेप तान्ने आशंकामा सरकारी तीन बैंक नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले पनि ब्याजदर बढाएका छन्। यसबाहेकका ९ बैंकहरुले पनि राष्ट्र बैंकले तोकेको १० प्रतिशतको सीमाभित्र रहेर ब्याजदर बढाएका छन्। स्टाण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र एभरेष्ट बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्।

अधिकांश बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेकाले असोजमा कर्जाको ब्याज बढ्ने देखिएको छ। राष्ट्र बैंकले गत वैशाखमा बैंक तथा वित्तीय संस्थाको आधारदर गणना विधि परिवर्तन गर्दै पछिल्लो तीन महिनाको औषत आधार दर मासिकरुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेकाे छ। निक्षेपको ब्याजदर बढ्नसाथ बैंक तथा वित्तीय संस्थाको कष्ट अफ फण्ड बढ्ने भएकाले बैंकहरुको आधार दर पनि बढ्छ। आधार दर बढ्नसाथ कर्जाको ब्याजदर बढ्ने गर्दछ। 

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत चालु आर्थिक वर्ष ११.५ प्रतिशत अर्थात करिब ५ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्ने लक्ष्य राखेको छ। यस्तै नीतिगत दर ०.५ प्रतिशतले घटाएर ६.५ प्रतिशत कायम गरेको छ। बैंकहरुसँगै अधिक तरलता रहेकाले ब्याजदर कोरिडोरको माथिल्लो सीमा अर्थात बैंक दर ७.५ प्रतिशतमै यथावत राखेकोछ। बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले निक्षेप संकलन दर ५.५ प्रतिशतबाट १ प्रतिशत बिन्दुले घटाएर ४.५ प्रतिशत कायम गरेको छ।

गत असार मसान्तमा बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाले निरन्तररुपमा अन्तर ब्याजदर घटेर न्यूनतम ०.६० प्रतिशतको न्यूनतम बिन्दुमा पुगेको थियो। अन्तर ब्याजदर घट्न थालेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट असार ५ गते १० अर्ब रुपैयाँ बराबकरको ६ वर्षे ऋणपत्र, असार २१ गते ६ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ। यस्तै असारमै विभिन्न समयमा राष्ट्र बैंकले करिब ९० अर्ब रुपैयाँ रिभर्स रिपोमार्फत तरलता प्रशोचन गरेको थियो। साउन महिना आएर राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत करिब ११ अर्ब रुपैयाँ दीर्घकालिन आन्तरिक ऋण उठाइसकेको छ।


प्रकाशित : सोमबार, भदौ ४ २०८००४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend