आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

६.५ प्रतिशतमा बिक्री नभएको ५ अर्ब ८४ करोड बराबरको विकास ऋणपत्र राष्ट्र बैंकले पुन: जारी गर्‍यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ३१ २०८०
६.५ प्रतिशतमा बिक्री नभएको ५ अर्ब ८४ करोड बराबरको विकास ऋणपत्र राष्ट्र बैंकले पुन: जारी गर्‍यो

काठमाडौं- साउन १८ गते जारी गरेर साउन १९ गते बाँडफाँट गर्दा बिक्री नभएको विकास ऋणपत्रको बाँकी अंश राष्ट्र बैंकले पुन: जारी गरेको छ। ६.५ प्रतिशतभन्दा बढी ब्याजदर तोक्ने आवेदनकर्तालाई राष्ट्र बैंकले ऋणपत्र बाँडफाँट गरेको थिएन। ६ वर्ष अवधि तोकिएको यस विकास ऋणपत्रको नाम विकास ऋणपत्र २०८६ 'छ' राखिएको छ।

१० अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्रमा २३ अर्ब ४० करोड रुपैयाँ बराबर आवेदन परेको थियो। तर राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४ अर्ब १६ करोड रुपैयाँ बराबरको आवेदनकर्तालाई ऋणपत्र दिएको थियो। 

विकास ऋणपत्र दीर्घकालिन प्रकृतिको आन्तरिक ऋण भएकाले ब्याजदर बढी तोक्दा सरकारलाई ब्याज बापतको आर्थिक भार बढी पर्ने भएकाले ४ अर्ब १६ करोड रुपैयाँ बराबर मात्रै राष्ट्र बैंकले ऋणपत्र बाँडफाँट गरेको थियो। १० अर्ब मध्ये बाँडफाँट गरेर बाँकी रहेको ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र पुन राष्ट्र बैंकले भदौ १ गते जारी गर्ने तयारी गरेको हो।

विकास ऋणपत्र २०८६ 'ट' नाम दिएको यस ऋणपत्रमा लगानी गर्न इच्छुक आवेदनकर्ताले साउन ३२ गतेसम्ममा आवेदन दिन सक्नेछन्। यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिनसक्ने छन्।

जसमध्ये ४ अर्ब ९६ करोड ४० लाख रुपैयाँ अर्थात ८५ प्रतिशत प्रतिसपर्धी खरिदकर्ता र ८७ करोड ६० लाख रुपैयाँ अर्थात १५ प्रतिशत अप्रतिसपर्धी लगानीकर्ताका लागि छुट्याइएको छ।

यस्तै ब्याजदरकै कारण देखाएर राष्ट्र बैंकले साउन २८ गते जारी गरेर साउन २९ गते निष्कासन गरेको ८ वर्षे विकास ऋणपत्र २०८८ 'ख' पनि ६ अर्ब ९० करोड मात्रै बाँडफाँट गरेको छ। ७ प्रतिशतभन्दा बढी ब्याजदर कामय गरेका आवेदन राष्ट्र बैंकले रद्द गरेको छ। उक्त ऋणपत्रमा लगानीका लागि १८ अर्ब रुपैयाँ बराबरको आवेदन परेको भएपनि राष्ट्र बैंकले ७ प्रतिशतभन्दा बढी ब्याजदर तोक्ने अधिकांश आवेदनमा रद्द गरेको थियो। उक्त ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको राष्ट्र बैंकले ३ अर्ब १० करोड कम उठाएको छ। बढी ब्याजदरका कारण बाँडफाँट नभएको ३ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र राष्ट्र बैंकले पुन: जारी गर्नेछ।

सरकारी स्रोतमाथि दबाब भएपछि सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासबाटै आन्तरिक ऋण उठाउन सुरु गरेको छ। हाल बैंकिङ प्रणाली तरलता सहज भएको र ब्याजदर पनि सस्तो भएकाले पहिलो त्रैमासभित्र ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। यस्तो दोस्रो त्रैमासमा थप ५५ अर्ब, तेस्रो त्रैमासमा ५३ अर्ब र चौथो त्रैमासमा ७७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। चालु आर्थिक वर्ष सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। राष्ट्र बैंकले साउन २९ गते २८ दिने, ९१ दिने र १८२ दिने अल्पकालिन प्रकृतिको २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल्स नविकरण गराएको थियो।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ट्रेजरी बिलबाट ५५ अर्ब, विकास ऋणपत्रबाट १ खर्ब ७९, नागरिक बचतपत्रबाट ५ अर्ब र वैदेशिक रोजगार बचतपत्रबाट १ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ।

चालु आवमा निष्कासन गर्ने आन्तरिक ऋणमा ट्रेजरी बिलको हिस्सा २२.९ प्रतिशत, विकास ऋणपत्रको हिस्सा ७४.६ प्रतिशत, नागरिक बचतपत्रको हिस्सा २.१ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको हिस्सा ०.४ प्रतिशत रहने राष्ट्र बैंकले निष्कासन गरेको कार्यतालिकमा उल्लेख गरेको छ।


प्रकाशित : बुधबार, साउन ३१ २०८००९:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend