आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

विदेशिने मोह त्यागेर १८ वर्षदेखि कृषिमा जमेका धनकुमार

images
बुधबार, साउन ३१ २०८०
images
विदेशिने मोह त्यागेर १८ वर्षदेखि कृषिमा जमेका धनकुमार

धनकुमारले वार्षिकरुपमा नौ लाख रूपैयाँसम्मको तरकारी बेच्ने गरेका छन्। उनले गाउँका ५/६ जनालाई रोजगारी समेत दिएका छन्।

images
images

भोजपुर- भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको संख्या बढ्दै गएको छ। उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन्। कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ।

images
images
images

आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका छन्। उनी करिब १८ वर्षदेखि उक्त कर्ममा लागेका हुन्। राईले तीन वर्ष अघि सदरमुकाम नजिकै टक्सारमा साढे छ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। तरकारी व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि यसलाई थप विस्तार गरेको उनको भनाइ छ।

images
images

'विदेश जानुभन्दा स्वदेशमै व्यावसायिक भएर काम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ', राईले भने, 'वार्षिक रुपमा नौ लाख रूपैयाँसम्मको तरकारी बिक्री गर्छु। त्यसमा कामदार, बीउबिजनलगायत खर्च कटाउँदा वार्षिक तीनदेखि चार लाख रूपैयाँसम्म आम्दानी हुन्छ।'

images
images

कृषक राईले आफ्नो तरकारी फर्ममा गोलभेँडा, कुरिलो, सिमी, बन्दाकोभी, काउली तथा विभिन्न बेमौसमी तरकारबाली लगाएको बताए। कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको कृषक राईले बताए। अहिले महिनामा पाँच/छ जनालाई रोजगारीसमेत दिएको उनको भनाइ छ।

'आफ्नै ठाउँमा कृषि कर्म गर्न पाउँदा खुसी लाग्छ', उनले भने, 'विदेश जाने मोह त्यागेर लामो समयबाट यही पेसामा लागेको छु। यहाँबाट आएको आम्दानीबाट सन्तुष्ट  छु। केही मानिसहरुलाई रोजगारी पनि दिएको छु।'

उत्पादित कृषि उपजको बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने कृषक राईको भनाइ छ। बजारीकरणको समस्याका कारण कुनै समयमा तरकारी बारीमा कुहिएर जाने अवस्था आउने गरेको उनले बताए। 'कृषि व्यवसायको मुख्य समस्या बजारीकरणको छ', उनले भने, 'बजारको राम्रो व्यवस्था नहुँदा कुनै समयमा बारीमा तरकारी कुहिएर गएको अवस्था पनि छ।'

नमूना कृषि फर्मका रुपमा विस्तार गर्न कृषि ज्ञान केन्द्रबाट आर्थिक वर्ष २०७९/८० मा दुई लाख ८९ हजार रूपैयाँ अनुदान सहयोग पाएको राईले बताए। आफूले गरेको कृषि कर्मलाई राम्रो देखेर राज्यको आँखा परेकामा खुसी लागेको उनको भनाइ छ। 'लामो समयबाट कृषिमा लागेको थिएँ', उनले भने, 'तर मैले राज्यका तर्फबाट खास सहयोग पाएको थिइनँ। यो पटक भने राज्यले सहयोग गरेको छ। यसले मलाई थप हौसला मिलेको छ।'

युवा लक्षित, महिला लक्षित, राजमार्ग लक्षित तरकारी खेती कार्यक्रम, नमूना कृषि कार्यक्रमलगायत योजनाहरु सञ्चालन गरेर कृषकलाई आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताए। राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि कृषिमा लाग्नेको संख्या बढेको उनको भनाइ छ।

'व्यावसायिक रुपमा कृषिमा लागेका कृषकलाई हामीले आवश्यक सहयोग गर्दै आएका छौँ', उनले भने, 'राज्यबाट यस्ता खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि कृषिमा लाग्नेको संख्या यो जिल्लामा बढेको अवस्था छ। यसलाई अझ व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हामी लागिपरेका छौँ।' रासस


प्रकाशित : बुधबार, साउन ३१ २०८००५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend