काठमाडौं- घरबाहिर खाना खाँदा तथा खाद्यान्न खरिद गर्दा कहिलै ख्याल गर्नुभएको छ- कि त्यो खाद्यान्न कहाँ उत्पादन भयो होला? त्यसको पोषण भ्यालु के हो? सायद यस्तो धेरैले ख्याल गर्दैनन्।
केही फलफूल तथा खाद्यान्नलाई ठाउँको नामबाट चर्चित बनाएर नेपालको काठमाडौं लगायतका सहरमा बिक्री गर्ने प्रचलन बढेपनि चासो दिनेगरी उपभोक्ता सचेतना बढेको छैन।
हामीले खाने खाना, खाजा तथा किन्ने खाद्यान्को विश्वसनीय विवरण खाने/किन्ने बेला नै थाहा पाउने वातावरण नहुँदा उपभोक्ता सचेतना नबढेको जानकारहरू बताउने गर्छन्। के यस्तो अवस्था नेपालमा होला? यस्तो भएमा उपभोक्तादेखि उत्पादकसम्मलाई के कस्तो लाभ होला?
हो नेपालमा पनि यस्तो हुने भएको छ। रेष्टुरेन्टमा खाने खाना/खाजाको आइटमदेखि स्टोरमा खरिद गरिने खाद्यान्नको विस्तृत विवरण समावेश गरिने भएको छ। विशेषगरी रेष्टुरेन्टको मेन्युको डिजाइन यसैगरी हुने भएको छ।
अनुसन्धान संस्था इन्सिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज(आईआईडीएस) ले यस्तै एउटा अवधारण ल्याएको छ। यो संस्थाले हिमालयन सुपरफुड मेन्यु डिजाइन गरेको छ।
नेपालकै हिमाली क्षेत्रमा उत्पादन हुने खाद्यान्नलाई दैनिक व्यावसायिक हिसाबले बिक्री वितरण गर्न सकिने गरी मेन्युको अवधारणा बनाइएको आईआईडीएसका कार्यकारी निर्देशक विश्वास गौचनले जानकारी दिए।
आईआईडीएस आफैले मेन्यु बनाएर बिक्री वितरण गर्ने भने होइन। यसले मेन्युको डिजाइन गर्ने अनुसन्धान साझेदारका रुपमामात्र रहेको उनको भनाइ छ।
‘हामीले यसमा आफै मेन्यु बनाएर बिक्री वितरण गर्ने होइन। होटल तथा भान्छाघरहरूले नै यसमा काम गर्ने हुन्। खाली हामीले गर्ने भनेको अनुसन्धानको पाटो हो’ गौचनले भने।
कृषि तथा खाद्यान्नसम्बन्धि पनि केही अनुसन्धान गर्दै आएको आईआईडीएसले नेपाली खाद्यन्नकै बारेमा अनुसन्धान गरी मेन्युको अवधारणाको बारेमा काम गरिरहेको हो। यो काम लगभग आईआईडीएसले सम्पन्न गरिसकेको छ।
अनुसन्धाका रुपमा आईआईडीएसले सबैभन्दा पहिला खाद्यान्न पहिचान गर्ने छ। त्यस्ता खाद्यान्नको उत्पादन ठाउँ, पोषण भ्यालुको पहिचान गर्ने छ। यसरी पहिचान गरेर एउटा निश्चित मेन्यु बनाउने छ।
‘यो सबै काम गरेपछि हामी मेन्यु बनाउने छौँ। त्यसपछि मेन्युलाई कार्यान्वयनमा लिनका लागि रेष्टुरेन्टहरूसँग हामी सहकार्य गरिदिन्छौँ। उहाँहरूले त्यही मेन्यु अनुसारको खाना बिक्री गर्ने हो। हामीले त्यसलाई प्रबर्द्धनको काम पनि गर्छौं तर कार्यान्वयन गर्ने व्यवसायीहरूले नै हो’ गौचनले भने।
आईआईडीएसले स्थानीयस्तरमा मात्र होइन। अन्तर्राष्ट्रिय बजारमा पनि प्रबर्द्धन गर्नसक्ने छ। अनुसन्धान तथा शैक्षिक काममा विश्वव्यापी सञ्जालसँग जोडिने संस्थाले मेन्युको प्रबर्द्धन गर्नसक्ने छ। पहिला स्थानीयस्तरमै गरेपछि बाहिर स्वभाविक रुपमा जाने गौचनको भनाइ छ।
हिमालय सुपरफुड कल्चरल फुड हो। हिमाली क्षेत्रमा उत्पादन हुने खाद्यान्न यो मेन्युमा पर्छन्।
फापर, आलु, कोदो, सिमी, उवा, कागुनो जस्ता बालीहरू यो मेन्युमा पर्छन्।
‘हिमालय सुपरफुडको अवधारणा थकालीको संस्कार र खानाे बानीबाट उत्प्रेरित छ। यो हाम्रो परम्पारगन जुन खाने बालीहरू छन्। त्यसलाई ब्रान्डिङ गरेर राम्रो प्याकिङ गर्न सक्यौं र यो उचाइमा फलेको सिमी भनेर स्थापित गर्यौं भने बजारमा स्थापित हुनसक्छ भनेर हामीले प्रयास गरेका हौँ’ गौचनले भने।
हिमाली क्षेत्रमा उत्पादन हुने यी बालीहरूसँगै मार्सी चामल,पोखराको जेठो चामल, जुमल्लाको धानको चामल पनि यसमा समावेस हुने छ।
पहिलैदेखि हिमाली क्षेत्रमा उत्पादन तथा खपत हुने बाली जस्ताको तस्तै सहरी क्षेत्रमा भने आउने छैनन्। आईआईडीएसले डिजाइन गरेको मेन्युमा केही फेरिने छ। परिकारमा नयाँपनको खोजी गरेर उपभोक्तालाई आकर्षित गरिने गौचनले जानकारी दिए।
‘परिकारमा केही त नयाँपन चाहियो। पोषकीय तत्वको क्षति नहुनेगरी डिजाइन गर्नुपर्यो। हामीले व्यवसायीहरूलाई त्यही भनिरहेका छौं’ उनले भने।
आईआईडीएसले डिजाइन गरेको मेन्यु विशेषगरी थकाली भान्छाघरहरूमा रहने छ। यसका लागि आईआईडीएसले भान्छाघर सञ्चालकहरूसँग सहकार्य गरिरहेको छ।
यो प्रयास सफल भएमा तीनवटा लाभ हुने गौचनको विश्वास छ।
‘पहिलो लाभ भनेको हिमाली क्षेत्रका किसानहरूको उत्पादकत्व बढ्ने छ। दोस्रो कुरा त्यहाँको उत्पादनले सहरी क्षेत्रमा बजार पाउने छ। तेस्रो कुरा भनेको नेपालले आफ्नो सफ्ट खाद्य शक्ति विकास गर्नसक्ने छ’ गौचनले भने।
हिमाली क्षेत्रमा उत्पादन हुने बाली जस्तोसुकै मौसममा पनि फस्टाउने भएकाले बढ्दो जलवायु परिवर्तनको असर पनि न्यून हुने छ। दीगो कृषि विकासका लागि पनि यो अभियान सहयोगी हुने छ।
हिमाली बालीको मेन्यु सहरमा ल्याउने भनिएपनि नेपाली समाजमा विश्वासको खडेरी छ। जसले जहाँबाट ल्याएर पनि चर्चित ठाउँको उत्पादन भनेर बिक्री गर्ने चलन व्याप्त छ। यसले गर्दा स्थानीय उत्पादनको खराब ब्रान्डीङ भइरहेको छ।
यो विश्वासको खडेरी तोड्नका लागि आईआईडीएसले योजना बनाएको छ। निश्चित संयन्त्र बनाएर त्यसबाट छुट्टै आपूर्ति श्रृखला बनाउन सकिने गौचनको भनाइ छ।
‘यसैपनि हाम्रोमा बिचौलिया धेरै हाबी हुँदा किसानहरूले लाभ लिन पाएका छैनन्। अर्को कुरा विश्वासनीयता पनि छ। यो समस्या समाधान गर्नका लागि विशिष्ट आपूर्ति श्रृखला बनाउनुपर्छ’ उनले भने।