आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

स्वदेशमा कोरियाको सीप र लगानी, गर्छन् मनग्य आम्दानी

images
सोमबार, साउन २९ २०८०
images
स्वदेशमा कोरियाको सीप र लगानी, गर्छन् मनग्य आम्दानी

व्यवसायी गमबहादुर कुँवरले १५ देखि २० हजार रूपैयाँका दरले मासिक तलब दिएर स्थानीय १० युवालाई रोजगारी समेत दिएका छन्।

images
images

गलकोट- रोजगारीका लागि कोरिया गएका गमबहादुर कुँवरले त्यहाँको बाख्रापालन देखेर आफ्नो गाउँठाउँ सम्झिए। उनले मनमनै स्वदेश फर्किएपछि त्यस्तै व्यवसाय सञ्चालन गर्ने सोच बनाए।

images
images
images

पाँच वर्ष कोरियामा काम गरेर फर्किएपछि उनले आफ्नै गाउँमा बाख्रापालन व्यवसाय थाले। बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीको ज्यामिरे गाउँका कुँवरले नमूना बाख्रा फार्म सञ्चालन गरेर मनग्य आम्दानी मात्रै गरेका छैनन्, अध्ययन अवलोकनका लागि विभिन्न मानिससमेत भित्र्याइरहेका छन्।

images
images

'ज्यमिरे गाउँमा ८० घर छन् तर ४० घरमा मानिस बस्दैनन् धेरैले गाउँ छोडेर खेतबारी बाँझै छोडेर गए, मलाई त्यही बाँझो बारीले बाख्रापालन गर्न सघाएको छ', उनले भने, 'चार सय रोपनी जग्गा आफ्नै छ, गाउँलेको खेतबारी र वनको एक हजार दुई सय रोपनी जग्गाको घाँस काट्छु, घाँसमा आधारित भएर बाख्रापालन गर्दा आधा नाफा हुँदो रहेछ, गत वर्ष ९० लाख रूपैयाँको बोका, बाख्रा र पाठापाठी बिक्री गरे, ४५ लाख रूपैयाँ नाफै भयो, बसाइँसराइले उजाडिएको ज्यामिरे गाउँ हरियाली भएको छ, चार/पाँच  घर त मैले फार्मकै लागि प्रयोग गर्दै आएको छु।'

images
images

विसं २०७४ मा १० बाख्राबाट उनले सुरु गरेको बाख्रापालन अहिले पहाडी जिल्लामै नमूना बाख्रा फार्मको रुपमा लिइएको छ। उनको साहारा बाख्रा फार्ममा अहिले चार सय बोका, बाख्रा र पाठापाठी रहेका छन्। आठ ब्लकमा छुट्टाछुट्टै आधुनिक बाख्राको खोर रहेको जनाउँदै व्यवसायी कुँवरले अहिले एकसय ६० माउ मात्रै ब्याउने रहेको जानकारी दिए।

दुई आधुनिक खोरमा ब्याउने बाख्रा, केही खोरमा पाठापाठीसहितका बाख्रा, तीन  खोरमा पाठापाठी र तीन  खोरमा बिक्रीका लागि तयारी बोका राखिएका छन्। अहिले ५० बोका बिक्रीका लागि तयारी हुन लागेको उनको भनाइ छ। 

कुँवरकै नेतृत्वमा गलकोट नगरपालिकाका ११ वडा समेटिएको बाख्रा पकेट क्षेत्रसमेत घोषणा गरिएको छ। गत वर्षनै ३१  बाख्रा फार्मका लागि खोर सुधार योजनाअन्तर्गत एक/एक लाख रूपैयाँका दरले अनुदान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत वितरण गरिएको छ।

यस वर्ष भने बोका बिक्री थोरै हुने जनाउँदै उनले ६० बाख्राको एकैसाथ गर्भ तुहिएकाले समस्या भएको सुनाए। 'यस वर्ष जम्मा सात लाख रूपैयाँको बोका बाख्रा बिक्री गरेँ, यस वर्ष समग्रमा ४० लाख रूपैयाँको कारोबार गर्न मुस्किल छ, किसानलाई यस्तो समयमा फार्म धान्नै समस्या हुन्छ, ६०  बाख्राको गर्भ नतुइएको भए अहिले पाँच सय बढी बाख्रा-पाठा हुन्थे', उनले भने, 'अहिले निकै अनुभव भइसक्यो, हटियाको मासु पसल बन्द गरेर अहिले घरमै मासु पसल सञ्चालनमा ल्याएको छु, १० केजीभन्दा माथि खसी तथा बोकाको मासु अर्डर भएमा घरमै पुर्‍याइदिन्छु, दाना खरिद गर्न, बोकाको बजारीकरण गर्न र घाँस बोक्नको लागि आफ्नै पिकअप जीपसँगै १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छु।'

उनले बाख्रापालन व्यवसायसँगै कामदार परिचालन गरेर एक हजार कागतीका बिरुवा, दुई सय ६१ ओखर र ४० सुन्तलाका बिरुवा यस वर्ष नै रोपेको बताए। कुँवरले ४० रोपनी जग्गामा मात्रै खुर्सानी खेती गर्दै आएको सुनाए। दश जना कामदारले घाँस काट्नेदेखि मासुको बजारीकरण गर्दै आएको र बचत भएको समयमा कागती, सुन्तला बगैँचा र खुर्सानी खेतीको काम गर्दै आएका छन्। 

व्यवसायी कुँवरले १५ देखि २० हजार रूपैयाँका दरले मासिक तलब दिएर स्थानीय १० युवालाई बाख्रा फार्ममा प्रत्यक्ष रोजगारी दिँदै आएका छन्। उनले यो फार्म विस्तार भएर अहिलेको अवस्थामा आउनुमा नेपाल सरकारको ब्याजमा अनुदानसहितको ऋणको ठूलो भूमिका रहेको बताए। 'एक करोड रूपैयाँ जम्मा तीन प्रतिशत ब्याजमा ऋण लिएको थिएँ, अहिले मासिक एक लाख ५३ हजार किस्ता तिर्छु', उनले भने, 'फार्म विस्तारको आधार यही ब्याज अनुदानको ऋण बन्यो, अहिले ऋणसमेत आधा घटाइसकेको छु।'

कुँवरका भाइ विष्णु समेत कोरियाबाट फर्केर बाख्रापालनमा सघाए पनि अहिले लोकसेवा तयारीको लागि काठमाडौंमा छन्। उनले आफ्नो फार्मलाई ‘फार्मस्टे’को रुपमा विस्तार गर्ने लक्ष्य लिएका छन्। पर्यटकलाई आफ्नै फार्मको तयारी खसी तथा बोकाको मासु खुवाइँदै त्यही बास बसाउने गरी फार्मस्टे बनाउने तयारीमा आफू रहेको बताए। बसाइँसराइले उजाडिएको गाउँमा कुँवरले भने पर्यटक ल्याएर गुल्जार बनाउने लक्ष्य लिएका छन्।

कुनै रोगव्याधी नभए आफ्नो फार्मबाट वार्षिक एक करोड रूपैयाँको कारोबार हुने कुँवरको लक्ष्यअनुसार फार्म सञ्चालित भइरहेको छ। उक्त बाख्रा फार्म पहाडी जिल्लाको ठूलो र नमूना बाख्रा फार्ममध्येमा पर्ने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए।

बोयर तथा खरी प्रजातिको क्रस गरिएका बोकाको मासु राम्रो भएकाले उक्त प्रजातिका बोकाको मासुको माग उच्च हुने र अहिलेसम्म बजारको कुनै चिन्ता नरहेको बताए। फार्ममा हालसम्म पाँच करोड रूपैयाँ लगानी भइसकेको छ। फार्मको खोर मात्रै छ रोपनी जग्गामा फैलिएको छ। पाँच सयभन्दा बढी बाख्रा पाल्न खोर तथा घाँसको समस्या नहुँने गरी फार्मको संरचना र घाँसको व्यवस्थापन भएको व्यवसायी कुँवरको भनाइ छ। रासस


प्रकाशित : सोमबार, साउन २९ २०८००६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend