आइतबार, मंसिर ९ गते २०८१    
images
images

अर्थमन्त्री, बैंकर्स र व्यवसायीको छलफल औपचारिकतामै सीमित, चालु पुँजी कर्जा मार्गदर्शन संशोधनमा व्यवसायीको चासो

images
आइतबार, साउन २८ २०८०
images
images
अर्थमन्त्री, बैंकर्स र व्यवसायीको छलफल औपचारिकतामै सीमित, चालु पुँजी कर्जा मार्गदर्शन संशोधनमा व्यवसायीको चासो
images
images

काठमाठौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार साँझ ५ बजे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघ, निजी क्षेत्रका तीन वटै छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुलाई अर्थमन्त्रालयमा अर्थतन्त्रको पछिल्लो अवस्थाबारे छलफल गरेका हुन्। सरकारका तर्फबाट अर्थतन्त्र सुधारका लागि अधिकतम लचकता अपनाए पनि अर्थतन्त्र चलायमान नभएको प्रति अर्थमन्त्रीले चिन्ता व्यक्त गरेका थिए। 

images
images
images

सरकारले निजी क्षेत्रको माग सम्बोधन गरेर बजेट र राष्ट्र बैंकले अधिकतम लचकता अपनाएर मौद्रिक नीति ल्याएपनि यसको सकारात्मक प्रभावमा अर्थतन्त्र नदेखिनुको कारण बारे अर्थमन्त्रीले बैंकर्स र उद्योगी व्यवसायीसँग चासो राखेका थिए। 

images

अर्थतन्त्रको बाह्य क्षेत्रमा कुनै पनि समस्या नभएको, विप्रेषण आप्रवाहको अवस्था राम्रो रहेको, विदेशी मुद्राको सञ्चितिमा खासै ठूलो दबाब नभएको, ब्याजदर घट्ने क्रममा रहेको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएपनि अर्थतन्त्रले अझै पनि गति लिन नसक्नुको कारण बारे बैंकर्स तथा व्यवसायीसँग जिज्ञासा राखेका थिए। अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकका तर्फबाट कुनै समस्या भए समाधानका लागि आफूहरु तयार रहेको अर्थमन्त्रीले बताएका थिए।

images

जवाफमा उद्योगी व्यवसायीहरुले चालु कर्जा मार्गदर्शन तत्कालै संशोधन हुनुपर्ने बताएका थिए। मौद्रिक नीतिले बैंकर्ससँग छलफल गरेर मार्गदर्शन संशोधन गर्ने भनेपनि यसका केही प्रवधान संशोधनका सम्बन्धमा व्यवसायीसँग पनि छलफल आवश्यक रहेको उनीहरुले बताएका थिए।

व्यवसायको प्रकृतिअनुसार चालु पुँजी कर्जा मार्गदर्शनलाई चलिलो बनाइनुपर्नेमा उनीहरुको जोड थियो। 

बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि यसै मार्गदर्शनका कारण कर्जा प्रवाह नभएको गुनासो व्यवसायीले गरेका थिए। 

जवाफमा अर्थमन्त्री महतले चालु आर्थिक वर्षको मौद्रिक नीतिले मार्गदर्शन संशोधन गर्ने विषय उठान गरिसकेको र उद्योगी व्यवसायीको सुझावलाई मध्यनजर गर्दै अधिकतम लचिलो भइदिन गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेका थिए।

राष्ट्र बैंकका गभर्नर, बैंकर्स र निजी क्षेत्रका प्रतिनिधिसँग छलफल लगत्तै अर्थमन्त्री डा. महतले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छुट्टै छलफल गरेका थिए। 

सुरुमा बैंकका सीईओहरुसँगको छलफल बारे अर्थमन्त्रीले जानकारी दिएका थिएनन्। पहिलो चरणको छलफल सकिए लगत्तै अर्थमन्त्रालयका अधिकारीहरुलाई बैंकका सीईओहरुसँग छुट्टै छलफल रहेकाले छलफलमा सहभागी हुन अर्थमन्त्री महतले निर्देशन दिएका थिए। 

बैंकका सीईओहरुसँग अर्थमन्त्री डा. महतले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेपनि कर्जा प्रवाह हुन नसक्नुका बारे प्रश्न गरेका थिए। 

बैंकका प्रमुख कार्यकारी अधिकृतहरु अहिले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग नै नरहेको जवाफ दिएका थिए। उपभोगमा कमी आएका कारण कर्जाको माग नबढेको उनीहरुको भनाइ थियो।

पछिल्लो समय बैंकको ब्याजदर करिब १५ प्रतिशतबाट घटेर १२ प्रतिशतको हाराहारीमा आएको तथा ब्याजदर अझै घट्नेक्रममा रहेको उनीहरुले बताएका थिए। 

अर्थतन्त्रमा आएको मन्दीको असर गत आर्थिक वर्षको बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणले पनि देखाएको भन्दै वास्तविक अर्थतन्त्रमा रहेको समस्या समाधानको उपाय खोजी गर्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए। 

अर्थतन्त्रमा माग सृजना गर्ने र जनताको आत्माविश्वास बढाउने गरी सरकार प्रस्तुत हुनुपर्ने उनीहरुले सुझाव दिएका थिए। 

अर्थतन्त्रमा पछिल्लो समय देखिएको आर्थिक मन्दीले गर्दा अपेक्षाकृतरुपमा आर्थिक गतिविधि बढ्न नसकेको बारे आफूहरुले धारणा राखेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए। 

'पछिल्लो आर्थिक मन्दीले गर्दा अपेक्षानुसारको आर्थिक गतिविधिहरु हुनसकेको छैन। बैंकिङ क्षेत्रमा तरलता हुँदा पनि कर्जाको माग बढ्न सकेको छैन। निजी क्षेत्रको आत्माविश्वास अझै पनि बढ्न सकेको छैन, जसले लगानीको वातावरण बन्न सकेको छैन। प्रत्यक्ष वैदेशिक लगानी पनि राम्रोसँग आउन सकेको छैन। यस्तो अवस्थमा अर्थतन्त्र कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा अर्थमन्त्रीज्युसँग छलफल भएको हो', केसीले भने।

यद्यपि अर्थमन्त्रीले निजी क्षेत्र र बैंकर्ससँग गरेको छलफल औचारिकतामा मात्रै सीमित भएको बताइएको छ। उनीहरुसँग अर्थमन्त्रीले राय सुझाव मागे पनि कुनै निर्देशन वा निर्णय भने नगरिएको छलफलमा सहभागी अर्थमन्त्रालयका एक अधिकारीले बताए। 

'आजको छलफल औपचारिक छलफल थिएन, अनौपचारिक थियो। पछिल्लो समय अर्थतन्त्रका सबै सूचकहरु, नीतिगत व्यवस्था, रेमिट्यान्स, तरलतामा सुधार भएपनि अर्थतन्त्रले गति लिन नसकेको बारे अर्थमन्त्रीज्युले चासो व्यक्त गर्नु भएको थियो। आजको छलफलबाट कुनै पनि निर्णय वा निर्देशन दिने काम भएन। तर व्यवसायीहरुले भने चालु पुँजी कर्जा मार्गदर्शनमा केही असन्तुष्टि भने व्यक्त गरेका थिए', ती अधिकारीले भने।


प्रकाशित : आइतबार, साउन २८ २०८०१७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend