काठमाडौं- आर्टिफिसियल ईन्टेलिजेन्स(एआई), रोबोटिक्स तथा समग्र प्रविधिको क्षेत्रमा चीनको रफ्तारलाई न्यूनीकरण गर्नका लागि पछिल्लो चार वर्षदेखि सयुक्त राज्य अमेरिकाले प्रयोग गर्दै आएका अस्त्र सफल हुन सकेका छैनन्।
पछिल्लो समय अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी लगानीकर्तालाई चीनमा संवेदनशील प्रविधिको क्षेत्रमा लगानी गर्न रोक लगाउने नीति ल्याएका थिए। चिनियाँ रफ्तारलाई मत्थर पार्ने यो पछिल्लो अमेरिकी प्रयास हो।
खुला तथा उदार अर्थतन्त्रको उदाहरण दिने अमेरिका आफै पछिल्लो समय आफ्ना लगानीकर्तालाई विदेशको कुनै निश्चित देशमा प्रतिबन्ध लगाउने अवस्थामा पुगेको छ। यो प्रतिबन्ध चानचुने कदम भने होइन।
विश्वकै शक्तिशाली राष्ट्र अमेरिका प्राय सबै क्षेत्रमा लिडर हो। पुँजी, प्रविधि, व्यापारमा एकछत्र अग्रता कायम गरेको छ। अझ भनौँ विश्व आर्थिक व्यवस्थाको नियन्त्रण उसैले लिएको थियो। यो अमेरिकी अग्रसरता र नेतृत्वले गर्दा उपभोक्ताले लाभ पनि पाए। लगानी र प्रविधिको विकासले संसारले सस्तोमा वस्तु तथा उन्नत सेवाको भोग गर्न पाए।
अमेरिकाले आफ्नै देशमा लगानी गरेर यो सब प्राप्त गरेको थिएन। उसले जहाँ गएर किफायति उत्पादन सम्भव हुन्छ त्यहीँ जाने नीति लियो। यो नीतिअनुसार अमेरिकी लगानीकर्ताहरू संसारका सस्तो श्रम र झन्झटरहित उत्पादन प्रक्रिया भएको ठाउँमा पुगे। यही क्रममा धेरै लगानीकर्ता चीन पुगे। जब अमेरिकी लगानीकर्तासँगै प्रविधि पनि चीनमा गयो तब चीनले आफ्नै प्राविधिक क्षमतामा विकास गर्यो। त्यसपछि चीन आफैले स्पेस प्रविधिमा समेत अघि बढ्यो र प्राय सबै क्षेत्रमा टक्कर दिने अवस्थाम पुग्यो। त्यसपछि अमेरिका झस्कियो र चिनियाँ रफ्तारलाई नियन्त्रण गर्न विभिन्न बन्देज लगाउन सुरू गर्यो।
चिनियाँ टेक जायन्ट हुवावेमाथिको निरन्तरको प्रतिबन्धबाट चुलीमा पुगेको अमेरिका-चीन व्यापार युद्ध अहिले ध्रुवीय बनिसकेको छ। तत्काली अमेरिकी राष्ट्रपतिले सुरू गरेको व्यापार, लगानी र प्रविधिको निर्यातमा लगाइएको नियन्त्रण बाइडेनको पालामा झनै फैलिएको छ।
अमेरिकाले चिनिया रफ्तारमा ब्रेक लगाउनका लागि क्षेत्रीय गठनबन्धनदेखि सबै सम्भव उपकरण परिचालन गरेको छ। यही कारणले गर्दा पछिल्लो समय चीनमा लगानी गरेकै अमेरिकीहरू पनि बाहिर जाने प्रक्रियामा छन्। अमेरिकी प्रहारले चीनको केही क्षमतामा असर त गरेकै छ। विशेषगरी केही कम्पनीको व्यापारमा ह्रास आएको छ। तर समग्रमा अमेरिकले सोचेजस्तो परिणाम देखिएको छैन।
परिणाम अझ उल्टो देखिएको छ। जहाँ चीनबाट अमेरिकी लगानी निकालेर जहाँ बाहिर गएको थियो ती देशले आफैमा चीनबाट धेरै आयात गरिरहेका छन्। अर्थात् अमेरिकी प्रतिनबन्ध भएपनि त्यसको असर चीन र अमेरिकाबीचको व्यापारमा देखिए पनि चीनको समग्र व्यापारमा असर देखिएको छैन।
जस्तो चीनबाट लगानीकर्ताहरू भारत तथा भियतानाम जस्ता देशमा सिफ्ट भए। बाहिरबाट हेर्दा अमेरिकी लगानी सिफ्ट भएको जस्तो देखिए पनि जहाँ अमेरिकी लगानी गयो त्यहाँ धेरै सामान चीनबाटै आयात हुन्छ। अझ पछिल्लो समयको बढ्दो लगानीले चीनको व्यापार ती देशमा बढेको छ जहाँ चीनबाट लगानी निस्केर पुगेको छ।
अमेरिकाले जति पनि चीनसँगको व्यापारमा अवरोध खडा गरेको छ, यसले परिणाम त अमेरिकाले पाएको छैन अझ उल्टो नकारात्मक परिणामहरू देखिएका छन्। विश्वव्यापी आपूर्ति श्रृंखलामा समस्या एकातिर छ भने अर्कोतिर आर्थिक नीतिमा अेरिकाको अनुदार व्यवहार देखिएको छ।